ad ad

कला


दुईपटक प्रेम, तीनचोटि बिहे, पतिबाटै बलात्कार : बलिउड अभिनेत्री अमानको पीडादायी जीवन कहानी

दुईपटक प्रेम, तीनचोटि बिहे, पतिबाटै बलात्कार : बलिउड अभिनेत्री अमानको पीडादायी जीवन कहानी

नेपालखबर
माघ १६, २०७९ सोमबार १३:४०, काठमाडौँ

बलिउडकी दिग्गज अभिनेत्री हुन् - जिनत अमान। उनलाई आफ्नो समयकी सबैभन्दा बोल्ड अभिनेत्री मानिन्छ। अमानले आफ्नो अभिनय कौशल र सुन्दरताले सबैको मन जितेकी थिइन्। पर्दाकी निकै सफल अभिनेत्री अमानलाई माया गर्ने फ्यानको संख्या ठूलो थियो। तर उनी व्यक्तिगत जीवनमा कहिल्यै खुसी हुन सकिनन्। 

उनले उत्कृष्ट अभिनेत्रीका साथै विवादास्पद अभिनेत्रीको छवि पनि एकसाथ लिएर बाँचिन्। अमानले पहिलो विवाह अभिनेता सञ्जय खानसँग गरेकी थिइन्। तर उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेन। विवाहको छोटो समयमै सञ्जय र अमानको सम्बन्धविच्छेद भयो। 

अमान–सञ्जयले सन् १९७५ मा विवाह गरेका थिए। यो समय अमान सफलताको शिखरमा थिइन्। सञ्जय भने अमानसँग विवाह गर्नुअघि नै ३ सन्तानका पिता भइसकेका थिए। अमानले त्यतिबेला आफ्नो सुन्दरता र अभिनयले बलिउड हल्लाएकी थिइन्। सञ्जयको उनी ठूलो फ्यान थिइन्। उनीहरु प्रेममा परे र विवाह गरे। उनीहरुको प्रेमलाई बलिउडकै कुरुप प्रेमका रुपमा चित्रित गरिन्छ। भनिन्छ, सञ्जयले अमानलाई पटकपटक कुट्ने गरेका थिए। बलिउडमा आफ्नो स्टारडम बनाएकी अमानलाई उनी शंका गर्थे।

सञ्जयले जिनतविरुद्ध निर्देशकसँग अफेयरको आरोपसमेत लगाएको बताइन्छ। त्यतिबेला जितन लोनावालामा सुटिङ गरिरहेकी थिइन्। सञ्जयको आरोप थाहा पाएपछि उनी सुटिङ छोडेर मुम्बई फर्किइन्। उनी मुम्बई पुग्दा सञ्जय आफ्नी पहिलो पत्नी र साथीहरुसँग ताज होटलमा पार्टी गर्दै थिए। त्यहाँ उनीहरुबिच चर्काचर्की भयो। सञ्जयले त्यसबेला जिनतलाई निर्ममतापूर्वक पिटेका थिए। होटलका कर्मचारीले रगतले लतपतिएको जिनतलाई अस्पताल लगेर उपचार गराए। सञ्जयसँग सम्बन्धविच्छेदपछि अमान निकै मर्माहत भएकी थिइन्। यो घटनाले अमानको करिअरमै धक्का लागेको थियो। सञ्जयसँग अमानको वैवाहिक सम्बन्ध १ वर्षमा टुटेको थियो। 

सञ्जयसँग सम्बन्ध तोडेपछि जितनले अभिनेता तथा निर्माता मजहर खानसँग विवाह गरिन्। मजहर–जितनका जहान खान र अजान खान नामका दुई छोरा भए। मजहरसँग जितनको सम्बन्ध ठीकठाकै थियो। विवाहको १२ वर्षपछि मजहरको मृत्यु भयो। मजहरको मृत्युका कारण जितन पुनः विक्षिप्त बनिन्। मजहरको मृत्युपछि जिनतले सरफराज जफर अहसानसँग तेस्रो विवाह गरिन्। 

घरजग्गा व्यवसायी सरफराजसँग उनले सन् २०१२ मा विवाह गरेकी थिइन्। उनको यो विवाहको पनि बलिउडमा निकै चर्चा पाएको थियो। त्यतिबेला जिनत ५९ वर्ष र सरफराज ३३ वर्षका थिए।  तर, यो विवाह पनि लामो समय टिक्न सकेन। यो विवाह तोड्ने क्रममा जिनतले सरफराजविरुद्ध बलात्कार र ठगीको आरोप लगाएकी थिइन्। जिनतको एफआईआरपछि सर्फराजलाई पनि मुम्बई प्रहरीले गिरफ्तार गरेको थियो । उनी धेरै दिन जेलसमेत परेका थिए। 

जतिबेला जितन सफलताको शिखरमा थिइन्, त्यतिबेला उनको नाम अभिनेता देव आनन्दसँग पनि जोडिएको थियो। तर, उनी पहिल्यै विवाहित र दुई सन्तानका पिता भएकाले यो सम्बन्धलाई उनीहरुले खुलेर स्वीकार गरेनन्। यसपछि जिनतको नाम पाकिस्तानी क्रिकेटर इमरान खानसँग पनि जोडिएको थियो। 

अमानको वास्तविक नाम बावुस्का हो। उनी स्वर्गीय अमानुल्लाह खानकी छोरी हुन्। उनका पिताले फिल्म ‘मुगल–ए, आजम’ र ‘पाकीजाह’को पटकथा लेखेका थिए। उनी १३ वर्षकी हुँदा उनका पिताको निधन भयो। उनी आफ्ना पिताबाट निकै प्रभावित थिइन्। त्यसैले पिताको मृत्युपछि उनले आफ्नो नाम नै परिवर्तन गरिन्। उनका पिताको मृत्युपछि उनकी आमा स्किन्डा हेन्ज उर्फ वर्धिनीले हेन्जसँग दोस्रो विवाह गरिन्। उनी आमासँगै सौतेनी बुबासँग बसिन्। 

जितनले थुप्रै प्रतियोगितामा भाग लिएकी छन्। उनले सन् १९७०मा मिस इन्डिया सौन्दर्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी थिइन्। उनले त्यही वर्ष ‘मिस प्यासिफिक एसिया’को उपाधि जितेकी थिइन्। उनी यो उपाधि हासिल गर्ने पहिलो भारतीय महिला हुन्। 

बलिउडमा उनको पहिलो फिल्म ‘हरे राम हरे कृष्ण’ थियो भनेर चर्चा हुने गर्छ। तर उनको पहिलो फिल्म ‘हलचल’ हो। जुन फिल्म सन् १९७१ मा निर्माण भएको थियो। त्यही वर्ष उनको अर्को फिल्म ‘हंगामा’ पनि रिलिज भएको थियो। 

उनका फिल्मी करिअरका सुरुवाती दुई फिल्म नै असफल भए। यो असफलताबाट उनी निकै निराश भएकी थिइन्। यही असफलताबाट आत्तिएकी जितनले त्यो समय अभिनय सँगै फिल्मी करिअर छाडेर आफ्ना सौतेनी बुबा र आमासँग देश छाड्ने निर्णय गरेकी थिइन्। त्यही बेला देव आनन्दले उनको ‘हरे राम हरे कृष्ण’ रिलिज नभएसम्म बस्न भनेका थिए।

अन्ततः फिल्म व्यवसायीक रुपमा बलिउडको हिट फिल्म बन्यो। ज्सले जितनलाई करियरमा अगाडी बढ्ने बाटो खोलिदियो। यो अभिनय र प्रदर्शनका हिसाबले उनको तेस्रो फिल्म हो। तर यही फिल्म हिट भएपछि उनी उद्योगमा स्थापित भएकाले धेरैले उनको पहिलो फिल्म नै यही हो भनेर व्याख्या गर्ने गरिन्छ। यो फिल्मपछि बलिउडमा उदाएकी अमान त्यसबेला हेमा मालिनीको बराबरी पारिश्रमिक लिने अभिनेत्री भनेर चर्चा हुन्थ्यो। त्यसताका हेमा मालिनीले बलिउडमा एकछत्र राज गरेकी थिइन्। 

सन् १९७२ मा फिल्म ‘हरे राम हरे कृष्ण’का लागि उनलाई उत्कृष्ट सहअभिनेत्रीको अवार्ड समेत दिइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .