ad ad

कला


कमेडियन सुमन कार्की भन्छन् : एक नम्बर हुने रहर छैन, टिकिरहन चाहन्छु

कमेडियन सुमन कार्की भन्छन् : एक नम्बर हुने रहर छैन, टिकिरहन चाहन्छु

तस्बिर : सरोज नेपाल/नेपालखबर


राधिका अधिकारी
फागुन १, २०७९ सोमबार १९:५, काठमाडौँ

कृषक परिवारमा जन्मिएका सुमन कार्कीलाई लाग्दैनथ्यो, सरकारी जागिरबाहेक अर्को ठाउँमा पनि मानिसहरुको भविष्य छ। ओखलढुंगामा जन्मिएका सुमनका हजुरबुबा सैनिक थिए। उनका काका, ठूलोबुबाहरुले पनि सेनामै पेन्सन पकाए। थाहा छैन, उनका बुबाको बाटो केले रोक्यो। उनले आफ्नो जिन्दगी कृषिकर्ममै बिताए। खेतबारीको काम गरेर सक्षम बनाए ३ छोराछोरी। 

गाउँमा सरकारी जागिरको लहर थियो। धेरै शिक्षक बन्ने सपना देख्थे, केही निजामती सेवा प्रवेशका लागि पढ्ने गर्थे, कति भर्ती हुन आफ्नो ज्यान बनाउँथे। तर, त्यही बेला सुमन भने अनुहार बिगार्थे र आफ्नै वरपरका मानिसका क्यारिकेचर गर्थे। ओखलढुंगामा रहँदासम्म उनले टेलिभिजन देखेकै थिएनन्। 

खेतीपातीको आयस्ताले मात्रै छोराछोरीलाई राम्रो शिक्षा दिन सकिँदैन भन्ने लागेपछि उनका बुबा–आमा मोरङ झरे। त्यसबेला सुमन ५ कक्षामा पढ्दै थिए। पुराना दिन सम्झँदै उनी भन्छन्, ‘हाम्रो बाल्यकाल खास सुखद रहेनछ। बुबा–आमाले सुखद बनाउन हरेक कोसिस गर्नु भयो। बा–आमाको त्यो कोसिसले छोपिएको अभाव हामीले देख्न पाएनौँ। अहिले महसुस हुन्छ।’

सुमनको पढाइ पनि बुबाको आर्थिक अवस्था जस्तै ठिकठाको थियो। उत्कृष्ट १० विद्यार्थीमा पर्ने सुमन कक्षामा तेस्रोसम्म भए, पहिलो कहिल्यै भएनन्। उनले हाँस्दै सुनाए, ‘म केहीमा पनि पहिलो कहिल्यै भएको छैन। कमेडी च्याम्पियनमा पनि भइनँ। उत्कृष्ट ५ बाट फालिएँ। म फर्स्ट हुन नजानेको मान्छे।’ 

ओखलढुंगा हुँदासम्म उनलाई भविष्यबारे कुनै चासो थिएन। मोरङ झरेपछि भने उनलाई लाग्थ्यो ‘म आर्मी बन्छु होला।’ उनको घरको वातावरण पनि त्यस्तै थियो। उनका दाजु पनि सेनामै भर्ती भए। भन्छन्, ‘जिन्दगीका कतिपय सपना नै अरुको देखेर सुरु हुने रहेछ।’ उनका बुबा पनि सरकारी जागिरे बन्नु पर्छ भनिरहन्थे। तर तिमीले यही बन्नु पर्छ भन्ने दबाब कहिल्यै दिएनन्। 

मोरङ झरेपछि सुमनले टेलिभिजन देखे। सिनेमा हल देखे। सिनेमा हेरे। फिल्म हेरेर फर्किंदा निखिल उप्रेतीको एक्सन गर्दै फर्किन्थे। साथीहरुलाई फिलमका डाइलग दुरुस्तै नक्कल गरेर सुनाउँथे। साथीहरुले उनले गरेको फिल्मको नक्कल चाख मानेर सुन्थे। साथीले दिने प्रतिक्रिया सुमनलाई सुन्दर लाग्थे। उनलाई कहिले नयाँ फिल्म लाग्ला र अर्को स्टोरी साथीलाई सुनाउन पाउनु भन्ने हतारो हुन्थ्यो। 

सुमनलाई त्यो समय फिल्म हेर्न जान त्यति सहज भने थिएन। एक त घरभन्दा १० किलोमिटर टाढा थियो सिनेमा घर। घर रतुवामाइमा, सिनेमा घर उर्लाबारीमा थियो। हरेक हप्ता यति लामो बाटो छोरालाई फिल्म हेर्न पठाउन उनका बुबा–आमा तयार थिएनन्। तरसजिलो चाहिँ उनको मामाघर उर्लाबारीमै थियो। उनी हरेक हप्ता मामाघर जाने बहाना खोज्थे। अहिले जस्तो हातमा पैसा हुँदैनथ्यो। एउटा टिकटको मूल्य ८ रुपैयाँ पथ्र्यो। भन्छन्, ‘त्यतिबेला मेरो उदेश्य भनेकै हप्ताभरिमा ८ रुपैयाँ कसरी जम्मा पार्ने भन्ने हुन्थ्यो।’

त्यतिबेला उनलाई घरमा पाहुना आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। पाहुना आए पैसा दिन्थे भन्ने आश हुन्थ्यो। बाटोमा हिँड्दा भूइँतिर हेर्दै हिँड्थे र सोच्थे, बाटोमा पैसा भेटियोस्। पैसा भेटिने आशमा उनले पुतली समातेर त्यसको टीका निधारमा पनि लाउँथे। यसरी त्यो समय चलेका अधिकांश फिल्म उनले नछुटाइ हेरे। बिस्तारै उनको सपनानै कलाकार नै बन्यो। 

त्यतिबेला सुमन ११ कक्षामा पढ्थे। उनले कलेजको औपचारिक कार्यक्रममा क्यारिकेचर गर्ने अवसर पाए। त्यो कार्यक्रमपछि उनको दायरा फराकिलो बन्यो। उनलाई चिन्ने मान्छे बढे। कमेडीमा सुमनको पनि लगाव बढ्दै गयो। यतिबेलासम्म उनलाई लाग्न थालेको थियो, ‘म सिनेमामा देखिन्छु।’ त्यहीबेला रेडियो सुनाखरी खुल्यो। उनले तालिम लिए। तत्काल रेडियोमा काम गर्ने उनको सपनामा ब्रेक लाग्यो। उनी कार्यक्रम प्रस्तोताका रुपमा चयन हुन सकेनन्। तर त्यसको केही समयपछि उनले रेडियो प्रवेश गरे। रेडियोमा उनले कमेडी कार्यक्रम चलाए। रेडियो कार्यक्रमले उनको सपनालाई बलियो बनाउने काम गर्यो।

त्यसपछि सुमनले स्थानीय स्तरका कार्यक्रममा भाग लिन थाले। स्थानीय कलाकारका रुपमा पहिचान बनाए। त्यहीबेला उनले राष्ट्रिय स्तरका कलाकारलाई नजिकबाट भेट्ने अवसर पाए। राष्ट्रिय कलाकारको क्रेज र सम्मान देखेपछि उनले पनि राष्ट्रियस्तरको कलाकार बन्ने सपना देख्न थाले। उनलाई लागेको थियो, ‘काठमाडौं गएपछि राष्ट्रिय कलाकार बनिन्छ।’ त्यसपछि उनी काठमाडौं आए। 

काठमाडौंमा पनि उनले रेडियो अडियोबाट करिअर सुरु गरे। रेडियो अडियोमा हास्य कलाकारकै राम्रै जमघट हुन्थ्यो। उनले त्यहीँ भेटे, उनका आदर्श कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई। उनीहरुकै कार्यक्रममा सहभागी हुने अवसर पाए। त्यहाँ उनले ऋषि धमलाको क्यारिकेचर गरे। लोकप्रिय भयो। महजोडीकै प्रदेश–प्रदेशमा गाईजात्रा कार्यक्रममा सहभागी भए। 

त्यहीबेला कमेडी च्याम्पियनको टिजर, ट्रेलर बज्न थाल्यो। यतिबेलासम्म सुमन एक सर्कलमा चिनिएका कलाकार भैसकेका थिए। उनलाई कमेडी च्याम्पियनमा भाग लिने कि नलिने भन्ने दोधार थियो। कोही भन्थे, तिम्रो नाम बनिसक्यो, प्रतियोगितामा भिड्न जानु हुँदैन। अर्काथरी भन्थे, भाग लिनु पर्छ। उनलाई पनि लाग्यो, ‘कमेडी सिक्ने ठाउँ नभएको देशमा प्रतियोगिता मेरा लागि सिक्ने ठाउँ बन्न सक्छ।’ पोखराबाट उनले अडिसनमा भाग लिए। उनको यात्रा कमेडी च्याम्पियनको उत्कृष्ट पाँचसम्म पुग्यो। 

यो यात्राले उनलाई झन धेरै ठूलो मासमा पुर्यायो। उत्कृष्ट ५ मा पुगेर बाहिर निस्कनु पर्दा तत्काल उनलाई खुब पीडा भएको थियो। भन्छन्, ‘सगरमाथाको नजिक नजिक पुगेको बेला, अब हिमालमा गएर झण्डा गाड्छु भन्ने लागेको बेला हिम पहिरो गएको जस्तो भयो।’ 

सुमन आउट भएको कार्यक्रम प्रसारण हुनै बाँकी थियो। सुमन तनाव छल्न चन्द्रागिरि गए। त्यहाँ भेटिएका उनका प्रशंसकले भने, ‘तपाईको प्रस्तुति बबाल छ है, आउने हप्ता झन् बबाल गर्नू।’

त्यसबेला सुमलाई हाइ भोल्टेजको करेन्टले हानेको जस्तो भयो। उनको मन अमिलो भयो। नक्कली हाँसो फिस्स फालेर काठमाडौं फर्किए। तर आउट भएपछि उनको झन् धेरै खोजी भयो। मिडियादेखि कार्यक्रम अर्गनाइजरले खोज्न थालेपछि सुमनले त्यो पीडा बिर्संदै गए। 

सुमन अहिले लोकप्रिय कमेडियनभित्र पर्छन्। कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीकै कमेडी क्लबमा काम गरिरहेका छन् उनी। हरेक हप्ता प्रस्तुति दिनुका सुख–दुःख आफ्नै छन्। बेलाबेला उनलाई लाग्छ, ‘अब त पर्फम गर्ने कन्टेन्ट सकियो।’ ‘शो’ छायांकन हुने अघिल्लो रात उनीसँगै टिमको निद्रा हराउँछ। रातभरि प्राक्टिस गर्छन्। कतिपय अवस्थामा पीडा पनि हुन्छ। तर जब ‘शो’ प्रसारण भएर कमेन्ट आउन सुरु हुन्छ, उनी सबै पीडा बिर्सन्छन्। हिजोआज सुमन खुसी छन्। 

सुमनको खुसीमा उनका परिवार पनि खुसी छन्। करिअरमा दाजुले दिएको ढाडस र टिक्नका लागि गरेको सहयोग सुमनको सबैभन्दा ठूलो शक्ति हो। उनको कमेडी गर्ने शैली, देशविदेशको यात्राले उनका बुबा–आमा मक्ख छन्। तर बेलाबेलामा भनिरहन्छन्, ‘बाबु यो कहिलेसम्म चल्छ थाहा छैन। तिमीले गरिरहेको काम ठिक हो। तर नियमित आम्दानी हुने केही काम गर्नु पर्छ।’ सुमनलाई पनि बा–आमाका कुरा हो जस्तो लाग्छ। 

उनले देखेको कला यात्राको रहर यहीँसम्मको भने होइन। उनलाई सिनेमाहरुमा काम गर्ने मन छ। सिनेमाका लागि अफर पनि आइरहेका छन्। तर उनलाई काम गर्नकै लागि मात्रै काम गर्नु छैन। भन्छन्, ‘मलाई एक नम्बर हुने रहर छैन। तर यही अवस्था र स्थानमा टिकिरहन मन छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .