तपाईंले ‘भ्यालेन्टाइन्स डे’मा रोमान्टिक बलिउड फिल्महरू हेर्नु भएको होला। तर, आज हामी बलिउड फिल्मको होइन, केही वास्तविक प्रेम कथाबारे चर्चा गर्दैछौँ। यी प्रेम कथाहरू यस्ता छन्, जसले तपाईंलाई प्रेमको गहिराइको अनुभूति गराउनेछन्। यी कथाहरुमा मिलन, बिछोड, अधुरो कहानी र एकतर्फी आकर्षण सबै समेटिएका छन्।
शोभना र मोतीलालको प्रेम जीवन
मोतीलालले सन् १९४० देखि शोभना समर्थको घरको छतमा ढुंगा हानेका थिए। त्यतिबेला शोभना समर्थ (अभिनेत्री नुतन र तनुजाकी आमा, काजोलकी हजुरआमा) शीर्ष नायिकाभित्र पर्थिन्। नायक मोतीलाल हिन्दी सिनेमाका पहिलो स्टार थिए। यी दुई फिल्मको सेटमा भेटिएका थिए र साथी बनेका थिए। मोतीलाल आफूले चाहेको कुरा हासिल गरेरै छाड्ने प्रकृतिका मानिस थिएन। उनी तीव्र गतिमा कार चलाउन, घोडा चढ्न र हवाईजहाजमा उड्न मन पराउँथे।
मोतीलाल र शोभना समर्थ दुवै लामो समयसम्म सम्बन्धमा रहे। शोभना त्यतिबेला ४ सन्तानकी आमा थिइन् र आफ्नो श्रीमानबाट अलग भएकी थिइन्। यी दुवैले आ–आफ्नो सर्तमा जीवन बिताए। उनीहरुले सम्बन्धमा रहेका बेला खुलेर जीवन बाँचे। एक–अर्काको परिवारलाई चिनाए। समाजका अगाडि सम्बन्धलाई खुलेर स्वीकार गरे।
शोभना समर्थ र मोतीलालको प्रेम कथा एकदमै अनौठो छ। शोभना पहिले नै विवाहित र ४ सन्तानकी आमा थिइन्। उनको र मोतीलालको मित्रता सागर मुभी प्रोडक्सन हाउसबाट सुरु भएको थियो। केही समयपछि उनीहरु प्रोडक्सन हाउससँग अलग्गिए तर दुवै साथी नै रहे। केही समयपछि शोभना समर्थ पतिसँग अलग भइन्। श्रीमानसँग सम्बन्ध सकिएपछि टुटेकी शोभाना भावनात्मक रुपमा मोतीलालसँग नजिक भइन्। मोतीलालले उनलाई प्रेम प्रस्ताव राखे। शोभना उनको प्रेम अस्वीकार गरेर मुम्बई छाडी खण्डाला सरिन्। त्यसपछि उनले आफ्नो प्रेम व्यक्त गर्ने अनौठो तरिका अपनाए।
मोतीलालले हेलिकोप्टर भाडामा लिए र पहिले शोभनाको घरको छतमा धेरै चक्कर लगाए। यसपछि उनले प्रेमपत्रलाई ढुंगामा बेरेर फाले। त्यसपछि उनले शोभनाको कोठाको सिसा तोडेर म तिमीलाई माया गर्छु भने। मोतीलालको यो अवस्था देखेपछि शोभानाले उनको प्रेम प्रस्ताव स्वीकार गरिन्। उनीहरु लामो समय सम्बन्धमा रहे। तर, उनीहरुले विवाह गरेनन्।
शोभनाकी छोरी नुतनले फिल्म ‘हमारी बेटी’ मार्फत अभिनयमा डेब्यु गरिन्। यो फिल्ममा मोतीलालले उनलाई अन–स्क्रिन बुबाको रूपमा साथ दिए। नुतन र तनुजाको कन्यादान मोतीलालले नै गरिदिएका थिए।
एकतर्फी प्रेमले डिप्रेसनको सिकार भइन् सुलक्षणा
अब दोस्रो कथा एकतर्फी प्रेमको। यो दर्दनाक प्रेमकथा १९७५ को फिल्म ‘उलझन’बाट सुरु भएको थियो। यो फिल्ममा काम गर्ने क्रममा अभिनेता सञ्जीव कुमार र अभिनेत्री सुलक्षणा पण्डितको भेट भयो। सञ्जीवले यसअघि नै केही फिल्ममा काम गरिसेकका थिए। सुलक्षणाको भने यो पहिलो फिल्म थियो।
स्थापित अभिनेता सञ्जीवलाई डेब्यु अभिनेत्री सुलक्षणाले पहिलो फिल्मको सुटिङबाटै मन पराइन्। उनले आफ्नो प्रेम व्यक्त गरिन्। सञ्जीवले सुलक्षणाको प्रेम स्वीकार गरेनन्। सञ्जीवले सुलक्षणालाई साथी मात्रै बन्न सक्ने बताए। सञ्जीवले त्यतिबेला सुलक्षणालाई करिअरमा ध्यान दिन सुझाए।
सुलक्षणा भने सञ्जीवलाई झन गहिरोसँग प्रेम गर्न थालिन्। पटकपटक प्रेम प्रस्ताव राखिन्। सञ्जीवले हरेक पटक अस्वीकार गरे। त्यसपछि एकदिन सुलक्षणाले उनलाई बिहेको प्रस्ताव गरिन्। सञ्जीवले प्रस्ताव अस्विकार मात्रै गरेनन्, उनीबाट टाढा भए। त्यसपछि सुलक्षणा डिप्रेसनमा परिन्।
सन् १९८५ नोभेम्बर ६ मा हृदयघातका कारण ४७ वर्षको उमेरमा सञ्जीव कुमारको निधन भयो। उनको मृत्युले सुलक्षणालाई झन् धेरै आघात पुग्यो। उनले आफ्नो मानसिक सन्तुलन गुमाइन्। यसपछि सुलक्षणाकी बहिनी विजया पण्डितले भनेकी थिइन्, ‘दिदी पागल भएकी थिइनन्, सञ्जीव कुमारले उनीसँग विवाह गर्न अस्वीकार गरेपछि उनी डिप्रेसनमा थिइन्। सञ्जीव कुमार दिदीलाई मुटुको रोगका कारण बिहे गर्न चाहँदैनथे। उसलाई थाहा थियो कि उनको मृत्यु कुनै पनि समयमा हुन सक्छ। यस्तो अवस्थामा उनले दिदीको जीवन बर्बाद गर्न चाहेनन्। दुवैले एक–अर्कालाई धेरै माया गर्थे।’
सञ्जीव कुमारको मृत्युपछि सुलक्षणा पूर्णरुपमा टुटिन्। उनको मानसिक सन्तुलन नराम्रोसँग बिग्रियो। परिस्थिति यस्तो थियो कि उनीसँग काम थिएन र पैसाको अभाव थियो जसका कारण उनले आफ्नो घर बेच्न बाध्य भइन्।
मीना कुमारीलाई रगत बान्ता हुन्थ्यो, सावन कुमारले हातमा थाप्ने गर्थे
हिन्दी सिनेमाकी ट्रेजेडी क्विन मीना कुमारी र फिल्म निर्देशक–निर्माता तथा लेखक सावन कुमार टाकको प्रेमकथा निकै प्रसिद्ध छ। सन् १९६६–६७ मा सावन कुमार फिल्म ‘गोमती किनारे’का लागि नायिकाको खोजीमा थिए। त्यहिबेला उनका साथी बी.एन. शर्माले फिल्मको मूख्य भूमिकाका लागि मीनाकुमारी राम्रो अभिनेत्री हुन सक्ने सुझाव दिए।
त्यतिबेला मीना कुमारी शीर्ष अभिनेत्रीको सूचीमा पर्थिन्। सावन आफूलाई स्थापित गर्न संघर्षरत थिए। जसका कारण सावन कुमार उनको नजिक जान हिचकिचाउँथे। उनले हिम्मत जुटाएर मीना कुमारीलाई फोन गरे। फोन मीनाकी बहिनीले उठाइन् र घरमा भेट्न बोलाइन्। घर पुगेपछि सावनकुमारले उनलाई कथा सुनाउन थाले। एउटा सानो केटाले उनलाई कथा सुनाउँदै गरेको देखेर उनी छक्क परिन्। मीनाले फिल्ममा साइन गरिन्।
मीना कुमारी बिरामी परिरहन्थिन्। उनी बिरामी परेपछि फिल्मको छायांकन बीचमै रोक्नु पथ्र्यो। फिल्मको छायांकन सन् १९६८ मा सुरु भएको थियो तर मीना कुमारी बिरामी भएपछि १९७२ मा मात्रै रिलिजका लागि तयार भयो। यही समय मीना कुमारी र सावन कुमार निकै नजिक भए।
यी दुईबीच यति गहिरो सम्बन्ध थियो, सावन कुमारले फिल्म बनाउन पैसा सकिएपछि मीना कुमारीले आफ्नो बंगला पनि बेचिन्। उनी यति बिरामी थिइन् कि एक दृश्यको सट दिँदा ढलेकी थिइन्, तर त्यसको बाबजुद उनले फिल्म पूरा गरिन्। श्रीमान् कमल अमरोहीसँग छुट्टिएपछि मीना निकै एक्लो भइन्। त्यसपछि उनी रक्सीको लतमा परेकी थिइन्।
सन् १९७२ मा मीना कुमारी खराब स्वास्थ्यका कारण मुम्बईको सेन्ट एलिजाबेथ नर्सिङ होममा भर्ना भइन्। त्यसबेला सावन कुमारले उनको हेरचाह गरे। सावन कुमारले एक अन्तर्वार्तामा भनेका थिए– ‘जब मीना कुमारीलाई बान्ता हुन्थ्यो, रगत निस्किन्थ्यो। मैले हातमा थाप्थेँ। उनको अनुहार सफा गरिदिन्थे र सुताउँथे।’
एकपटक मीना कुमारीले उनलाई भनिन्, ‘तिमी पहिलो व्यक्ति हौ जसमा मैले भगवानलाई देखेको छु। तिमी रगतको बान्ता सोहोर्छौ। म तिम्रो हातमा बान्ता गर्छु। तिमी एक पटक पनि आफूलाई मनमा लागेको कुरा भन्दैनौ। आजसम्म न मेरा दिदीबहिनीले न त कुनै आफन्तले मलाई यसरी साथ दिए।’
बिरामी हुँदा मीना कुमारीले सावन कुमारलाई विवाहको प्रस्ताव पनि गरेकी थिइन्। तर कलेजोको गम्भीर रोगबाट पीडित मीना लामो समय बाँच्न सकिनन्। उनको मृत्युपछि सावन कुमार उनको चिहान नजिकै बसेर घण्टौंसम्म रोएका थिए। भनिन्छ, सावन कुमार मीना कुमारीको जीवनको अन्तिम व्यक्ति थिए। उमेरमा ठूलो भिन्नता भए पनि दुवै प्रेममा परे र विवाह गर्न चाहन्थे तर दुवैको यो चाहना अधुरै रह्यो।
मधुबाला र प्रेमनाथको कथा
सुन्दरताकी देवी मधुबाला र अभिनेता प्रेमनाथको चर्चा पनि निरन्तर भइरहन्छ। उनीहरुको प्रेम कहानी सन् १९५१ मा सुरु भएको थियो। दुवै पहिलो पटक फिल्म ‘बादल’मा सँगै देखिए। यही फिल्म सुटिङका क्रममा मधुबाला र प्रेमनाथ नजिक भए। गहिरो प्रेममा परे। त्यतिबेला प्रेमनाथ कुनै फिल्मबाट आएको अफर मधुबालालाई सोधेर मात्रै स्वीकार गर्थे।
प्रेमनाथले मधुबालासँग ३ चलचित्र बादल, आराम र साकीमा काम गरेका थिए। दुवै एक–अर्कालाई असाध्यै माया गर्थे। उनीहरु विवाह गर्न चाहन्थे। तर फरक धर्मका कारण उनीहरुको सम्बन्ध विवाहमा परिणत हुन सकेन। मधुबालाले प्रेमनाथलाई धर्म परिवर्तन गरेर विवाह गर्ने प्रस्ताव पनि राखेकी थिइन् तर प्रेमनाथले मानेनन्। पछि प्रेमनाथले त्यस समयकी चर्चित अभिनेत्री बिना राईसँग विवाह गरे।
यो खबरले मधुबाला गहिरो पीडामा परिन्। उनले प्रेमनाथलाई भनिन्, ‘तिमीले मेरो मायालाई इन्कार गरेका छौ, तिमी पनि मायाको लागि लालायित भएर जीवन काट्नु पर्नेछ।’ अन्ततः त्यही भयो। प्रेमनाथ र बिनाको वैवाहिक जीवन लामो समय टिकेन। पछि प्रेमनाथ रक्सी पिउन थाले। मधुबालाले यो कुरा थाहा पाएपछि प्रेमनाथलाई रक्सी नपिउने कसम खुवाइन्। त्यसबेला मधुबालाले भनेकी थिइन्, ‘रक्सी पिउनु भनेको मेरो रगत पिए बराबर हुने छ।’ त्यसपछि प्रेमनाथले १४ वर्ष रक्सी छुन पनि सकेनन्।
मधुबालासँग छुट्टिए पनि प्रेमनाथले बिर्सन सकेनन्। मधुबालाको मृत्युपछि उनको बुबालाई पैसाको खाँचो परेको थाहा पाएर प्रेमनाथ उनलाई भेट्न गए र एक लाख रुपैयाँको चेक उनको सिरानीमुनि छोडेर आएका थिए। कसैले उनलाई किन यस्तो गरेको भनेर सोध्दा प्रेमनाथ जवाफ दिन्थे, ‘मैले मधुबालासँग बिहे गरेको भए ज्वाइँ हुने थिएँ, त्यसैले ज्वाइँको हैसियतमा आफ्नो कर्तव्य पूरा गरेको हुँ।’
Shares
प्रतिक्रिया