पोखरा नेपाली सिनेमा छायाँङ्कनको रोज्जा ठाउँमात्र हैन, मुख्य बजारको रुपमा पनि परिचित छ। आफ्नो क्षेत्रमा छायांकन भएका सिनेमाप्रति आममान्छेको चासो हुन्छ नै!
आफ्नै क्षेत्रका कलाकार, आफ्नै लवजका संवाद र गीतहरुका कारण पनि सायद पोखराले सिनेमा हेरिदिन्छ।
पछिल्लो समय संचालित क्यूएफएक्स हलले मध्यम र उच्चवर्गीय दर्शकलाई डोहोर्याउँदाको फाइदा पनि सिनेमाले पाइरहेका छन्।
त्यसैले, प्रदर्शनपूर्व प्रचारका लागि निर्माता र कलाकार पोखरा आइपुग्छन्। यो उपक्रम पोखरेली नायक भएको ‘हल्कारा’ले छुटाउने कुरै भएन! बिहीबार चलचित्रका मुख्यपात्र महेश त्रिपाठीसहित यसका निर्देशक विक्रम सापकोटाले पत्रकारसामु चलचित्र अब्बल बनेको जिकिर गरे।
बृहत नेपाली शब्दकोषले ‘हलकारो’लाई चिठीपत्र बाँड्दै घरघर हिँड्ने हुलाक अड्डाको कर्मचारी वा हुलाकी भनेर अथ्र्याएको छ। अहिले गाउँघरमा चिठी हैन,मोवाइलमा लाइभ भिडियो कल गर्ने प्रचलन बढेको छ।
आजकल हलकारोहरू मुस्किलले घरघर पुग्छन्। तर, एक दशक अगाडिसम्म अवस्था त्यस्तो थिएन। हिजो खुसी र शोकको सन्देश पु¥याउने कामको जिम्मेवारी हलकारोकै थियो।
कतिसम्म भने चिठी वाचन गर्ने र प्रतिउत्तर लेख्ने जिम्मेवारी पनि हलकारोकै हुन्थ्यो। कहिलेकाहीँ पल्टनबाट आएका रातो धागोले बाँधेको चिठी पढ्न चाहिँ मुस्किल हुन्थ्यो। किनकि, रातो धागोले बाँधेको चिठीको अर्थ घरमुली ईश्वरको प्यारो बने भन्ने हुन्थ्यो।
चिठीको चलन हराउँदै गए पनि चिठी लेखेको र पढेको पुस्ता हराएको छैन। हिजो पल्टने वा चौकीदार बन्न अभिषप्त नेपालीको भाग्य बदलिएको छैन। हिजोको जस्तो लाहुर जाने संख्यामा कमी आएको छ तर खाडीदेखि संसारका विभिन्न मुलुकमा पसिना बगाउनेहरू बढेका छन्।
निर्देशक विक्रमले पनि यो सिनेमालाई हरेक घरको, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथाको रुपमा व्याख्या गरे।
वैशाख २९ गते शुक्रबारदेखि नेपालभर प्रदर्शन हुने हल्कारामा बदलिँदो नेपाली समाजको प्रतिबिम्ब बनेको पनि उनको जिकिर थियो।
‘हल्कारा नेपाली समाजको हिजो र आजको कथा हो, चिठी पढने र त्यसको जवाफसमेत फर्काउने युगको व्यथा हो,’ लेखकसमेत रहेका उनले भने।
उनले धैर्यता र आशालाई समेत कथामार्फत दर्शाउन खोजिएको जिकिर गरे। ‘देशको अवस्थाले विदेशिनु पर्ने नेपाली समाजको बाध्यतालाई चलचित्रमा प्रस्तुत गर्न खोजेका हौं। टेक्नोलोजीको विकाससँगै सूचना आदानप्रदानमा आएको परिवर्तनको पाटोलाई समेत उल्लेख गरिएको छ,’ उनले थपे।
चलचित्रका मुख्य पात्र नायक महेश त्रिपाठीले हल्कारा आफ्ना लागि महत्वपूर्ण चलचित्र भएको उल्लेख गरे। हुलाकी भूमिकामा अभिनय गरेका त्रिपाठीले यसै चलचित्रबाट गत वर्ष ५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए।
अफिसियली आफूले लिड क्यारेक्टर गरेको पहिलो चलचित्र भएको उनले बताए। चलचित्रमा अहिलेसम्म नउठाइएका विषयलाई उठाउन खोजिएको दाबी उनले गरेका छन्।
चलचित्र पत्रकार संघ नेपालका निवर्तमान उपाध्यक्ष एवम् चलचित्र विकास बोर्डका मिडिया कोर्डिनेटर पत्रकार जीवन पराजुलीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए। चलचित्रको छायाँकन, सम्पादन र सिनेमेटोग्राफीलाई दर्शकले मन पराउने उनले बताए।
५५औं वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्र र उत्कृष्ट सिनेमेटोग्राफीको समेत अवार्ड हात पारेको थियो। चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आफ्नो भनाई राख्दै उनले, हल्काराले समस्याको समाधान पनि खोजको जिकिर पनि गरे।
चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ। नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा बेस्ट लङ्ग न्यारेटिभ फिल्म बनेको थियो। फ्लिकर रोड आइल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनलसम्म पुगेको थियो। त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो।
कालिपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगर,शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी र दीपक क्षेत्रीलगायतको अभिनय रहेको छ र चलचित्रलाई कास्कीका केही ठाउँ, तनहुँको बन्दिपुर र काठमाडौंमा छायाँकन गरिएको हो।
Shares

प्रतिक्रिया