ad ad

कला


कारखानामा काम गर्ने नवाज अभिनेता कसरी बने ?

कारखानामा काम गर्ने नवाज अभिनेता कसरी बने ?

नेपालखबर
जेठ २२, २०८० सोमबार ७:३४, काठमाडौँ

नवाजुद्दीन सिद्दीकीलाई कलाकार होइन, 'आर्टिस्ट' भनेको मन पर्छ। उनको चाहना यत्ति नै हो कि उनी 'आर्टिस्ट' भनेर चिनिन चाहन्छन्।

उत्तर प्रदेशको एउटा सानो गाउँबाट आएका नवाजुद्दीनका लागि बलिउडमा पहिचान बनाउन त्यति सजिलो थिएन।

तर उनको जीवनमा चुनौती त मुम्बई आउनुअघि सुरु भइसकेको थियो, आमाबाहेक उनको घरमा कसैलाई विश्वास थिएन कि उनी अभिनेता बन्न सक्छन्। 

उसो त धेरै अन्य कलाकारहरू भन्दा फरक, नवाजुद्दीनको सिनेमा जगतमा प्रवेश गर्ने कुनै सपना पनि थिएन। धेरै ग्रामीण, साधारण परिवारबाट आएका नवाजले सधैँ पढाइपछि ठीकठाक जागिरको सपना मात्रै देखे।

कारखानाबाट थिएटर, थिएटरमा पनि चिया खुवाउने र सरसफाई गर्ने काम

आफ्नो कलेज दिनको बारेमा कुरा गर्दै नवाज भन्छन्, 'विज्ञानमा स्नातक गरेपछि, लामो समय घुमफिर गरेँ, कारखानामा काम गरें र त्यो समयमा कसैले मलाई थिएटरको बारेमा भन्यो र त्यही क्रममा मैले कलाकार र दर्शकको केमेस्ट्री महसुस गरें। गजब छ। यो भन्दा सुन्दर क्षेत्र अरु हुनै सक्दैन, मैले सोचेँ।'

थिएटरको शुरुवाती दिन सम्झिन्छन् उनी, सुरुमा उनले थिएटरमा सरसफाईको काम पनि गरेका थिए। मानिसहरूलाई चिया खुवाए र लगभग सबै प्रकारका काम गरे।

नवाज भन्छन्, 'ब्याकस्टेजमा काम गर्दा, मानिसहरूलाई चिया खुवाउँदै गर्दा, एक दिन मैले एउटा सानो भूमिका पाएँ। पहिलो भूमिका मात्र एक लाइनको थियो। त्यसपछि मैले दुई लाइनको भूमिका पाएँ। यो सबै काम वडोदरामा चलिरहेको थियो। त्यसपछि त्यहाँबाट एनएसडी गए।' एनएसडीमा गएर अभिनय भनेको के हो भन्ने थाहा पाएको बताउँछन् उनी।

'राम्रो देखिन्नँ, तर नराम्रै अनुहारसाथ अभिनेता बन्छु'

एकपटक उनले आमालाई अभिनेता बन्न चाहेको बताए। त्यतिबेला उनका आफन्त पनि थिए। आफन्तले भने, 'हेर्नुस् तपाईंको छोरा कस्तो वाइयात कुरा बोल्दैछ, हो आफ्नो छोरा सबै आमालाई राम्रो लाग्छ। तर यसको अनुहार त हेर्नुस्! कसैले सम्झाओ यसलाई।' उनले यो सब कुरा झ्यालपछाडिबाट सुनिरहेका थिए।

'मलाई असाध्यै अनौठो लाग्यो, मेरो अनुहारमा के समस्या छ भनेर सोच्न थालें। मैले म राम्रो देखिँदैन भन्ने कुरा स्वीकार गरेँ तर साथसाथै मैले यो पनि निर्णय गरें कि म राम्रो देखिन्नँ। यसका बावजुद म अभिनेता रहिरहनेछ,' उनले भने।

एनएसडीपछि नवाजको अर्को गन्तव्य मुम्बई थियो।

'रिजेक्सन'को हाटबजार

नवाज भन्छन्, 'मुम्बईमा बच्न र बाँच्न सबैभन्दा गाह्रो थियो।' उनी भन्छन्, 'त्यो समय यति अप्ठ्यारो थियो कि त्यो समयको बारेमा सोच्न पनि मन लाग्दैन, त्यो समय बितिसक्यो राम्रो भयो भन्ने मनमा आउँछ। समय बित्दै गयो। बेलुकाको खाना खाएपछि अब बिहानको खाना कसरी खाने भन्ने सोच्न थाल्थ्यौँ। यस्ता घटना भइरहेका थिए। अवस्था यस्तो थियो कि गोरेगाँवबाट बान्द्रा जानुपर्दा अटो चढ्ने पनि पैसा थिएन। हामी पैदल हिँड्थ्यौं। त्यो समयमा हामी धेरै हिँडयौँ।'

नवाजको जिन्दगीमा संघर्ष चलिरहेको थियो। तर एकदिन यस्तो भयो कि उनको आत्मविश्वास नै टुट्यो। 'मसँग १०-१२ दिनसम्म एक पैसा थिएन। म मेरा एकजना सिनियरकहाँ गएँ र उनीसँग पचास रुपैयाँ मागेँ। उनले आफूसँग १ सय रुपैयाँ मात्र भएको बताए, तर खुल्ला गरेर पचास रुपैयाँ मलाई दिए। हामीले केही क्षण एकअर्कालाई हेर्‍यौँ, म घोप्टो परेँ, रोएँ, धेरैबेर रोइरहेँ।'

समय यस्तो पनि आयो, उनले मुम्बई छोड्ने योजना पनि बनाए। तर उनलाई अभिनयबाहेक केही थाहा थिएन। अब कहाँ जाने भन्ने बाटो पनि उनलाई थाहा थिएन।

नवाज भन्छन्, ‘सुरुका दिनमा जब उनी अडिसनका लागि जान्थेँ, कास्टिङ डाइरेक्टरले हेर्थे, तँ एक्टर-मटेरियल होइनस् भनेर रिजेक्ट गरिदिन्थे। लामो समय यसरी बितिरह्यो। जताततैबाट म रिजेक्ट भएँ।'

...अनि पर्दामा

नवाजले आफ्नो करियर निकै सानो भूमिकाबाट सुरु गरेका थिए। कुनै फिल्ममा सानो एक दृष्य, कुनैमा सानो आवाज।

आफ्नो प्रारम्भिक भूमिकाबारे नवाज भन्छन्, ‘मैले सरफरोश, शूल, एक चालिस की लास्ट लोकल, मुन्ना भाइ एमबीबीएस, देव डी गरें। यी सबै फिल्ममा मेरो भूमिका एउटा मात्रै दृश्य थियो, तर त्यो बेला त्यही काम थियो। कतिपय चलचित्रका लागि पैसा पनि प्राप्त भयो, कतिले दिएनन्।'

केही समयपछि नवाजले एउटै सीनका लागि फिल्म गर्न अस्वीकार गरे। उनले अब ती फिल्ममा मात्र काम गर्ने निर्णय गरे, जसमा उनले दुईवटा दृष्यको भूमिका पाउनेछन्। तर, त्यसपछि पनि उनले भूमिका पाएनन्।

तर त्यो समय सुरु भइसकेको थियो, बलिउडमा चरित्र केन्द्रीत राम्रा चलचित्र बन्न थालिसकेका थिए।

नवाज भन्छन्, 'त्यतिबेलासम्म पिपली लाइभ, पतंग जस्ता फिल्महरू बन्न थालेका थिए र त्यसमा मैले राम्रा र ठूला भूमिका पाउन थालेँ। यी फिल्म फेस्टिवलमा जान थाले र त्यहाँबाट मानिसहरूले चिन्न थाले। त्यसपछि काम पाउन सुरु भयो।'

श्रीमतीसँगको लफडा

हालै नवाज र उनकी श्रीमतीबीचको विवादले निकै चर्चा पायो।

यो विवाद र आफ्नो मौनतालाई लिएर नवाज भन्छन्, 'म मौन थिएँ र मलाई यसमा कुनै गुनासो छैन। त्यतिबेला पनि मेरो चाहना थियो कि मेरा छोराछोरी स्कुल जाऊन्, पढून्। आज जब उनीहरू जाँदैछन्, म धेरै खुसी छु।'

विवादबारे बोलेर फेरि उक्त घटना उधिन्न नचाहने उनले बताए। उनले भने, 'मैले सधैँ मेरो व्यक्तिगत जीवनले मेरो पेशामा असर नपरोस् भन्ने प्रयास गरेको छु, र मैले त्यसै गरें।'

'पैसाका लागि काम गर्दिनँ'

बलिउडमा सफल उनी पैसाका लागि काम नगर्ने बताउँछन्। उनी भन्छन्, 'ठूलो घर र कारलाई सफलता मान्दिनँ।' आफूले चाहेको काम गर्न पाएकोमा मात्रै खुसी हुने उनी बताउँछन्। 

उनी भन्छन्, 'मैले चाहेको काम गर्न पाएकोमा म कृतज्ञ छु। म कोही दोस्रो मान्छेले चाहनेअनुसारको काम गर्दिनँ, मलाई त्यो दौडमा दौडिनु पनि छैन। म आफ्नो मनपर्ने काम पाइरहेको छु। र म यो गर्न सक्षम छु। म भविष्यमा पनि यस्तै काम गरिरहन चाहन्छु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .