कला


सुनिताको ‘पियारी’ मा यसरी नाचिन् दीपाश्री

सुनिताको ‘पियारी’ मा यसरी नाचिन् दीपाश्री

नेपालखबर
साउन २३, २०८० मंगलबार १७:५९, काठमाडौँ

त्यसो त तीज आउन अझै डेढ महिना बाँकी छ। तर जमलस्थित विश्वज्योति हल सोमबार दिनभर तिजमय बन्यो।

‘तीज क्वीन’ को रूपमा परिचित गायिका सुनिता दुलालको ‘पियारी’ ले यस्तो माहौंल बनाएको हो। तीजको छेको पारेर हरेक वर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आएकी उनले यस वर्ष पनि तिज गीत सार्वजनिक गरेकी हुन्।

सार्वजनिकरण समारोहमा अग्रज कलाकार निर शाह, लक्ष्मी गिरी, प्रेम राजा महत, तारा थापा, देविका बन्दना, माण्डवी त्रिपाठी, भगवान भण्डारी देखि रचना रिमालजस्ता उदयमान कलाकारहरू समेत उपस्थिती थियो। लाग्थ्यो यसै दिन माइती पक्षले छोरीहरूलाई दर खान बोलाएका छन्।
 
‘तीजलाई अभिव्यक्त गर्ने एउटा सुन्दरतम तरिका अपनाइएको यस गीतले समग्रमा नेपाली आत्मा बोकेको छ’ कलाकार निर शाहले गीतबारे यसो भन्दा भरिभराउ हलमा तालिको पर्रा छुटे। नाम चलेको गीतकार दीपक शर्मा, निर्देशक गम्भीर बिस्ट र गायिका सुनिता दुलालले गाउनु पर्ने गीत यस्तै हुनुपर्ने उनको भनाई थियो।

गायिका दुलालको सभ्यता र शिष्टताबाट प्रभावित भएर एक कल फोनको भरमा नै उक्त गीतमा अभिनय गर्न मन्जुर भएको कलाकार लक्ष्मी गिरीले बताइन्। ‘यो गीत मात्र नभएर दिदी बहिनी र परिवार समाजमा कसरी मिलेर बस्नुपर्छ भन्ने सन्देश दिएको छ’, उनले थपिन्।  

सोही समारोहमा गायिका दुलालले विभिन्न विधाका ९ नारी लक्ष्मी गिरी, पल्पसा डंगोल, राष्ट्रिय लोकदोहोरी गीत प्रतिस्ठानकी अध्यक्ष रीता थापा मगर, गायिकाहरू तारा थापा, देवीका वन्दना, मान्डवी त्रिपाठी, रचना रिमाल, पूर्व मिस नेपाल उषा खड्गी, मिसेस् नेपाल–बेस्ट पर्सनालिटी लक्ष्मी जोशीलाई तीजको शुभकामनासहित विशेष सम्मान गरिन्।

संचारकर्मी नरेश भट्टराईद्वारा संचालित कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल तामाङ, डब्लुडब्लुएफका नेपाल प्रमुख घनश्याम गुरुङ, एआईजी टेक बहादुर तामाङ, राईज मिडिया नेटवर्कका कार्यकारी निर्देशक निर्मल श्रेष्ष्ठ, पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठ लगायतको उपस्थिती थियो। 

निर शाह र लक्ष्मी गिरीको विशेष भूमिका रहेको पियारीमा गायिका दुलालसँगै अभिनेत्री दीपाश्री निरौला, मोडल लक्ष्मी जोशी लगायतको अभिनय रहेको छ। दीपक शर्माको शब्द तथा संगीत रहेको गीत श्यामश्वेत रसाइलीले मिक्सिङ–मास्टरिङको काम गरेका हुन्। भिडिओलाई गम्भीर विष्टले निर्देशन गरेका हुन्। गीत सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad