कुनै समय ५०/६० लाखमै राम्रै फिल्म निर्माण हुन्थे। तर, अहिले अवस्था फेरिएको छ। फिल्ममा समावेश गीतका भिडिओ बनाउन मात्र ६० लाख रुपैयाँसम्म खर्च लागेको निर्देशक ज्ञानेन्द्र देउजा बताउँछन्।
आफू निर्देशित ‘उपहार’को पहिलो गीत सार्वजनिक कार्यक्रममा बोल्दै देउजाले फिल्मका तीन गीत बनाउन ६० लाख खर्च भएको बताएका हुन्।
कार्यक्रममा पत्रकारले देउजासँग पहिलेजस्तो मेहनेत गरिएका गीत आउने क्रम घट्दै गएको हो भनी सोधेका थिए।
जवाफमा उनले भने, ‘धेरैजसो मेरो फिल्मका गीतहरु हिट छन्। हामीले सिनेमा बनाउँदा मनोरञ्जन दिन खोज्छौँ। फिल्मको सन्देश र कथा आफ्नो ठाउँमा छ। तर, मुख्य उद्देश्य मनोरञ्जन नै हो। यसपालि हाम्रा गीत राम्रा छन्। हामीले नयाँ र पुराना अवस्थालाई पनि ल्याएका छौँ। हामीले फिल्मका तीनवटा गीतमा लगभग ६० लाख खर्च गरेका छौँ।’
आफूहरुले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी नराखेको दाबी गर्दै उनले ‘उपहार’मा समावेश गीत पुरानाजस्तै गरी चल्ने बताए।
देउजा निर्देशित फिल्ममा समावेश दिल यो मेरो दिल, हजारौँ फूलबाट ए मन, बास्ना मीठो कस्तुरीको, आगोबिना बिडी जल्दैन लगायत गीत चर्चित छन्।
तर, अभिनेत्री रेखा थापाले पुरानोजस्तो नयाँ गीतमा भाव नभेटिने बताइन्।
‘दसैँ-तिहारमा अहिले पनि पुरानै गीत बजिरहेको हुन्छन्। पहिलेका गीत-संगीतमा एक किसिमको आत्मा हुन्थ्यो। पछिल्लो समय त्योचाहिँ खड्किएको हो। गीत सुन्दा नाचौँ नाचौँ लाग्ने गीत बनेको लाग्दैन। हुन त अहिलेको गीतको आफ्नै प्याटन हुन्छ, मिठास हुन्छ। पुराना गीत मिस भएकै कारण यो गीत ल्याएका हौँ’, उनले भनिन।
Shares

प्रतिक्रिया