तपाईंले ९० को दशकमा टीभीमा आउने विज्ञापन हेर्नुभएको छ? छ भने पक्कै पनि फेबिकलको विज्ञापन याद होला।
जसमा दुईतर्फबाट काठको सहाराले एउटा डोरीलाई मानिसहरू तानातान गरिरहेका हुन्छन्। त्यसपछि एक व्यक्ति बीचमा गएर हिन्दीमा भन्छन्, ‘ये फेबिकलका मजबुत जोड है, टुटेगा नहीँ’ (यो फेबिकलले बलियोसँग जोडेको छ, चुँडिँदैन)।
उक्त विज्ञापनमा काम गर्ने अभिनेता हुन्– राजकुमार हिरानी। तिनै राजकुमारले अहिले अभिनेता शाहरुख खानसँग मिलेर फिल्म ‘डंकी’ बनाएका छन्। जुन फिल्म यही डिसेम्बर २१ देखि प्रदर्शनरत छ।
हिरानी त्यस्ता निर्देशक हुन्, जो फिल्ममा अनौठा किस्सा बुन्न खप्पिस छन्। उनी आफ्ना फिल्ममा बिरामीलाई शारीरिक तथा मानसिक रूपमा निको पार्न ‘जादुमय’ चुम्बन दिन्छन्। कहिलेकाहीँ लेख र पुस्तकका उद्धरण झिकेर गान्धीलाई ‘गान्धीधारी’का पोसाक पहिर्याउँछन्। गान्धीलाई ‘केटामा हिम्मत छ’ भन्ने साहस राख्छन्।
कहिलेकाहीँ ‘थ्री इडियट्स’मा डिग्री होइन, सपनाको पछि दौडने चाहना जगाइदिन्छन्। ‘पीके’ फिल्ममा त उनले एलियनमार्फत पृथ्वीवासीलाई धर्मको पाठ सिकाउँछन्।
राजकुमार हिरानी यस्ता निर्देशक हुन्, जसले बनाएका फिल्म सबै हिट छन्। भारतका वरिष्ठ चलचित्र पत्रकार रामचन्द्रन श्रीनिवासन २० वर्षमा पाँचवटै फिल्म सुपरहिट बनाउने हिरानी एक मात्र निर्देशक भएको बताउँछन्।
के हो हिरानीको हिट फर्मुला?

आखिर हिरानी कसरी सबै फिल्मलाई सफल बनाउँछन् त?
हिरानीका फिल्ममा कमेडीका साथै सामाजिक मुद्दा हुनाले उनका फिल्म हिट हुने वरिष्ठ फिल्म समीक्षक गिरिश वानखेडे बताउँछन्।
उनी भन्छन्, ‘राजकुमार हिरानीजस्ता फिल्म सम्पादकबाट निर्देशक बन्ने मानिसको फिल्ममा केही फरक हुन्छ। यस्ता व्यक्तिको फिल्ममा एक विशेष प्रकारको सहजता हुन्छ, स्क्रिप्टमा उनीहरुको कमाण्ड हुन्छ। हिरानीको लेखनमा समाजका गम्भीर विषयलाई हास्यव्यंग्यका साथ उठाउने कला छ। कथा यति सरल छ कि तपाईं त्यसमा हराउनुहुन्छ।’
समीक्षक वानखेडे उदाहरण दिँदै थप्छन्, ‘पीके निकै गम्भीर फिल्म थियो। तर, हिरानीले आफ्नो पटकथाले मनोरञ्जनात्मक बनाएका छन्। त्यस्तै, ‘मुन्नाभाई एमबीबीएस’ पनि एक साधारण कथा थियो। तर, तपाईंलाई अझै पनि यसका क्यारेक्टर याद छन्। हिरानी दर्शकले के मन पराउँछन् भन्ने बुझ्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उनी जोखिम लिन डराउँदैनन्।’
एउटा अचम्मको संयोग के छ भने २० वर्षअघि डिसेम्बरमा हिरानीको पहिलो फिल्म ‘मुन्नाभाई एमबीबीएस’ रिलिज भएको थियो। त्यसका लागि राजकुमार (राजु) हिरानीले शाहरुख खानसँग कुरा गरेका थिए।
त्यतिबेला शाहरुख ‘देवदास’ को सुटिङमा व्यस्त थिए। तर उपचाररत रहेका कारण शाहरुखले ‘मुन्नाभाई’ गर्न सकेनन्। तर, दुवै फिल्मका कथाबारे उनी धेरै कुरा गर्थे। त्यसैले त उनले ‘मुन्नाभाई’को अन्तिम क्रेडिटमा शाहरुखको नाम पनि राखेका छन्।
‘मुन्नाभाई एमबीबीएस’सहित ‘लगे रहो मुन्नाभाई’, ‘थ्री इडियट्स’, ‘पीके’ र ‘सञ्जु’ यी सबै फरक किसिमका फिल्म थिए। सर्किट, भाइरस सहस्रबुद्धे, फुन्सुख वाङडुजस्ता फिल्मका पात्र पनि बेजोड थिए, संवाद पनि चुस्त थिए।
शाहरुखजस्ता अभिनेता र हिरानीजस्ता निर्देशक ‘डंकी’मा एकसाथ आउनु विशेष रहेको बताउँछन्, वरिष्ठ फिल्म पत्रकार रामचन्द्रन श्रीनिवासन।
सुरुमा फिल्मको प्रोमो सम्पादन गर्थे हिरानी

भारत-पाकिस्तान विभाजनपछि हिरानीको परिवार पाकिस्तानबाट आगरा पुग्यो। र, नागपुरमा बसोबास गर्यो। जहाँ हिरानीका बुबाले टाइपराइटिङ सिकाउन थाले।
स्कुल सकिएपछि राजकुमारल इन्जिनियरिङमा भर्ना मिलेन। त्यसैले उनले कमर्स र सीए पढ्न थाले।तर, अंकगणित बुझ्न सकेनन्। त्यसपछि उनले आफ्ना बुवालाई आफू सीए पढ्न नसक्ने कुरा बताए। बुवाले भनिदिए, ‘त्यसो भए नपढ।’
त्यसपछि बुबाको सल्लाहमा हिरानी पुणेको फिल्म इन्स्टिच्युट गए। पहिलो वर्ष भर्ना नभए पनि दोस्रो वर्ष एफटीटीआईमा सम्पादन विषयमा भर्ना भए। बिस्तारै उनले इडिटिङको काम पनि गर्न थाले।
सम्पादन कलाले हिरानीको फिल्मी करियरको जग बसाल्यो। जहाँ उनले सर्ट फिल्म सम्पादन गर्न थाले। र, त्यसपछि विज्ञापन बनाए।
जब विधु विनोद चोपडाले ‘१९४२ अ लभ स्टोरी’ बनाइरहेका थिए, हिरानीले त्यो फिल्मको प्रोमो बनाउने मौका पाए। त्यसपछि ‘करिब’को प्रोमो बनाउने जिम्मा पनि पाए।
सन् २००० मा हिरानीले ‘मिसन कश्मीर’ सम्पादन गर्ने अवसर पाए। त्यहीँबाट हिरानीले आफैँ फिल्म बनाउने निर्णय गरे। झन्डै एक वर्षसम्म हिरानीले कुनै काम गरेनन्।
मेडिकल कलेजमा पढेका आफ्ना वास्तविक साथीहरूको वरपर आधारित कथामा काम गरिरहे। र, हिरानीले सञ्जय दत्तका साथ पहिलो फिल्म ‘मुन्नाभाई एमबीबीएस’ बनाए।

‘सञ्जु’का कारण आलोचना
सबै फिल्म हिट भए पनि हिरानी आलोचानामुक्त भने छैनन्। सञ्जय दत्तको जीवनीमा आधारित फिल्म ‘सञ्जु’ रिलिज हुँदा रणवीर कपुरको निकै प्रशंसा भएको थियो। समीक्षकले यसलाई मनोरञ्जनात्मक फिल्म भनेका थिए। तर, हिरानीका धेरै फ्यानले यसलाई प्रोपोगान्डासमेत भन्न भ्याए।
फिल्म समीक्षक अन्ना भेट्टिकाडले २०१८ मा फर्स्टपोस्टका लागि लेखिएको फिल्म समीक्षामा भनेकी छिन्, ‘रणवीर कपुरले अचम्मको काम गरेका छन्। तर, यो एक बेइमान सञ्जय दत्तको बायोपिक हो। राजकुमार हिरानी र अभिजात जोशीले सञ्जय दत्तको जीवनबाट छानिएका तथ्य लिएका छन्। ती तथ्यलाई आफ्नो प्रेमले लुकाएर नायकलाई मात्र पर्दामा ल्याएका छन्।’
अन्नाका अनुसार सञ्जय दत्तका यस्ता कमजोरी छन्, जुन पहिले नै परिचित छन्। जसलाई फिल्ममा हल्का कमेडी शैलीमा प्रस्तुत गरिएको छ। तर, हिरानीजस्ता धेरैवटा उत्कृष्ट फिल्म दिने निर्देशकले यो फिल्म बनाउनु नै दुर्भाग्यपुर्ण हो।
यसबारेमा गिरिश वानखेडे भन्छन्, ‘कतिपयले सञ्जुको आलोचना गरेका थिए- एक विवादित र जीवित स्टारमा कसरी फिल्म बन्न सकिन्छ भनेर। जेल गएको व्यक्तिको कथामा हिरोजम् थपेर प्रचार गरियो भनेर उनको आलोचनासमेत गरियो। तर, हिरानीले चुनौती स्वीकार गरेर फिल्मलाई सफल बनाएरै छाडे।’ बीबीसी हिन्दीबाट भावानुवाद
Shares

प्रतिक्रिया