आचार्य गोपालबाट निर्देशित बाल मनोविज्ञानमा आधारित सर्ट फिल्म ‘किबोर्ड’को विशेष प्रदर्शनी भएको छ। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्म प्रज्ञा प्रतिष्ठानमा आयोजित बाल पुस्तक प्रदर्शनीका क्रममा प्रदर्शन गरिएको हो।

फिल्ममा अभिभावकको डिभोर्स हुँदा बालबालिकाको मनोविज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। चलचित्रका प्रमुख पात्र जियान संगीतमा रुचि राख्छन्। उनी विद्यलयमा हुने गायन प्रतिस्पर्धामा भाग लिन्छन्। निरन्तर संगीत सिक्छन्। किबोर्डसँगै रमाउँछन्।
तर, घरमा हुने बाबा-आमाको बेमेलले उनी विचलित हुन्छन्। अभिभावकको खटपटले संगीतमा विलक्षण प्रतिभा भएका जियानको मस्तिष्कमा नकरात्मक प्रभाव पार्न थाल्छ। त्यसपछि उनको सांगितिक जीवन कसरी अगाडि बढ्छ ? निर्देशक आचार्य गोपालले फिल्ममा प्रस्तुत गरेका छन्। यस फिल्मलाई अब अन्तर्राष्ट्रिय फिल्म महोत्सव र स्कुलहरुमा पनि प्रदर्शन गरिने निर्देशक आचार्यले बताए।

प्रदर्शनीमा सहभागी अधिकांश दर्शकले बालबालिकाको मनोविज्ञानलाई फिल्मले मनछुने ढंगबाट प्रस्तुत गरेको र यस्तो फिल्मको पहिलोपटक अनुभव गर्न पाएको प्रतिक्रिया दिए।
निर्देशक आचार्यले भने, ‘मेरा फिल्ममा सामाजिक जीवनका ससाना आयाम समेटिन्छन्। समाजिक परिघटनाले कथा लेख्न र फिल्ममार्फत भन्नलाई प्रेरित गर्छन्।’
आफू समाजिक कथालाई अरु मेकरले भन्दा भिन्न तरिकाले भन्न रुचाउने उनी बताउँछन्। किबोर्ड पनि जियानको मनोविज्ञानलाई दर्शकले अनुभूति गर्न सक्ने गरी निर्माण गरेको गोपालले उल्लेख गरे।
बाबा-आमाबीच हुने डिभोर्सले बालबालिकामा पार्ने प्रभावलाई बालकथाका माध्यमबाट उजागर गरिएको चलचित्रका लेखक विजयराज आचार्यले बताए।
फिल्म सन्देश आचार्य र कौशल कुमार भट्राइले निर्माण गरेका हुन्। आफू एक शैक्षिक अभियन्ता भएकाले पनि कथाबाट प्रभावित भएर फिल्म निर्माण गरेको सन्देश आचार्यले बताए। उनले यस्ता चेतनामूलक चलचित्र अझै धेरै बन्नुपर्ने उल्लेख गरे।
फिल्ममा आलोक चौरेली, कृष्ण भक्त महर्जन र रश्मि भट्टको मुख्य अभिनय छ।
फिल्ममा सुजय गौतमको छायांकन, दिवस धितालको सम्पादन, टेकेन्द्र नेपालीको संगीत, भरत कँडेलको साउन्ड डिजाइन, भीष्म जोशीको कास्टिङ, आशुका अर्यालको सहनिर्देशन, धिरज अधिकारीको लोकेसन साउन्ड र सरोज खडका प्रडक्सन म्यानेजर छन्।
चलचित्र हेरेपछि बाल साहित्यकार तथा गीतकार रामबाबु सुवेदीले सिनेमाका माध्यमबाट बाल कथालाई बाहिर ल्याउनु नेपाली बाल साहित्यमा ठूलो योगदान पुग्ने बताए।
Shares

प्रतिक्रिया