बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भोलि शुक्रबारबाट नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ। सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित यो नाटक शुक्रबारदेखि माघ २९ सम्म मञ्चन हुनेछ।
गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको यो नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो।
सहिद गंगालाललाई नाटकमा क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए।
विक्रम संवत १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गंगालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उनको भनाइ छ।
नाटक गंगालालमा सहिद धर्मभक्त, सहिद शुक्रराज र सहिद दशरथका साथै टंकप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन्।
यस नाटक स्कुलका विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारहरुले गंगालाललाई फरक पाटोबाट चिन्न हेर्नु पर्नेछ। सहिद दिवसको सन्दर्भ पारेर प्रदर्शन गर्न लागिएको यस नाटकलाई माघ १६ गते नाचघरमा सहिद दिवस मनाउँदै प्रथम मञ्चन गरिएको थियो।
नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, दीपक छल्दंग्या, सन्दिप डंगोल, प्रदिप कुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्दको अभिनय रहेको छ।
नाटकको अतिरिक्त मन्चन शनिबार १ बजे पनि हुनेछ। यो शैक्षिक बिषयसँग जोडिएको नाटक भएकाले स्कुलका बालबालिका र शैक्षिक संस्थाले अनुरोध गरेमा भिन्न भिन्न समयमा पनि मन्चन गरिने बताइएको छ।
Shares

प्रतिक्रिया