अभिनेत्री मनीषा कोइरालाले फिल्म 'सौदागर' बाट बलिउडमा प्रवेश गरिन्। पहिलो फिल्म नै हिट भएपछि मनीषा एकाएक चर्चित पनि भइन्। यो ३३ वर्षअघिको कुरा हो।
सौदागरपछि उनी खाली बस्नुपरेन। लगातार फिल्ममा अनुबन्धित भइन्।
तर, ‘१९४२: अ लभस्टोरी’ मा काम गरेपछि मात्र आफूले वास्तविक अभिनयबारे थाहा पाएको बताएकी छन्।
हालै पूर्वयुवराज्ञी हिमानी शाहसँगको कुराकानीमा त्यस फिल्मबाट वास्तविक अभिनय र मेहनत के हो भन्ने सिकेको सुनाइन्।
विनयी हिमानीबाट अभिव्यक्त राजनीतिक भाषा
त्यसपछि मनीषा अभिनीत फिल्म 'बम्बे' पनि सफल भयो।
‘१९४२: अ लभस्टोरी’ को मुख्य अभिनेत्रीको लागि अडिसन खुलेको थियो। जुन चरित्रका लागि मनीषासहित माधुरी दीक्षित र करिष्मा कपुरले आवेदन दिएका थिए। यस फिल्मको निर्देशक थिए विधु विनोद चोपडा।
मनीषाले चोपडासामु गएर अडिसन दिइन्। मनीषाको अभिनय निर्देशक चोपडालाई पटक्कै मन परेनछ। त्यसपछि चोपडाले रिसाउँदै भने, 'मनीषा तिमी कामै नलाग्ने अभिनेत्री हौ।'
त्यो सुनेपछि मनीषा निकै दु:खी भइन्। उनले आफू त्यस्तो नभएको बताउँदै चोपडालाई एउटा अन्तिम अवसर दिन आग्रह गरिन्।
नभन्दै चोपडाले एक मौका दिए।
मनीषालाई के गर्दा अभिनय राम्रो हुन्छ भन्ने थाहा थिएन। तर, घर पुगेपछि स्क्रिप्टमै मात्रै ध्यान दिइन्।
‘घर पुगेपछि मैले न खानसँग मलतब राखेँ, न सुत्नसँग,’ मनीषाले स्मरण गरिन्, ‘खाली डाइलग मात्रै पढ्न थालेँ। मलाई देखेर मामुले बौलाइस् कि क्या हो भन्नुहुन्थ्यो। खाना खाएर सुत, यो सिनेमा नगरे केही हुँदैन भन्नुहुन्थ्यो। तर मैले रातभरि पूरा ध्यान स्क्रिप्टमा लगाएँ।’
भोलिपल्ट मनीषाले अडिसन दिइन्। उनको प्रस्तुति हेरेपछि विनोदको भावभंगी नै फेरियो र भने, ‘मनीषा हिजो तिमी जिरो थियौ। तर, आज तिमीले शत प्रतिशत उत्कृष्ट दियौ।’
त्यसबेलादेखि आफूले अभिनयलाई गम्भीररूपमा लिएको मनीषाको भनाइ छ। त्यस्तै निर्देशक चोपडालाई अभिनयको गुरु मान्न थालिन्।
उनले भनिन्, ‘मैले ‘१९४०: अ लभस्टोरी’ बाट अभिनय सिकेकी हुँ। पहिले त म बगिरहन्थेँ। त्यसअघि अभिनयको गम्भीरता बुझेकी थिइनँ। त्यस फिल्मको अडिसनपछि क्यारेक्टरको लागि कति मेहनत गर्नुपर्छ भन्ने थाहा पाएँ। र, त्यसपछि लाग्यो, अभिनय भनेको सजिलो कुरा होइन। हरेक पात्रको लागि कडा मेहनत गर्नुपर्दो रहेछ। एउटा कलाकारले शत प्रतिशत दिन सक्नुपर्छ।’
कोइरालाले हरेक काममा शत प्रतिशत दिने प्रयास गर्न सके सफल भइने बताइन्। क्यान्सरसमेत जितिसकेकी मनीषाले मेहनत र आत्मविश्वासले हरेक कुरा सम्भव रहेको बताइन्।
विनोद चोपडाको लेखन रहेको फिल्म ‘१९४२: अ लभ स्टोरी’ सन् १९९४ मा रिलिज भएको थियो। मनीषासहित अनिल कपुर मुख्य भूमिका रहेको यस फिल्मले व्यावसायिक र समीक्षात्मक हिसाबले सफल भएको थियो।
Shares

प्रतिक्रिया