कला


इलामको रमणीय पाखामा गुञ्जिँदै छ नेपथ्य

इलामको रमणीय पाखामा गुञ्जिँदै छ नेपथ्य

नेपालखबर
फागुन २७, २०८० आइतबार १०:४९, काठमाडौँ

चर्चित ब्यान्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी इलामको सूर्योदय नगरपालिकाअन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा गुञ्जिने भएको छ।

नेपथ्य यसपालि ठूला सहर वा बजारमा नभई पूर्वी नेपालको एउटा रमणीय मैदानमा प्रस्तुत हुने भएको हो। लाप्चा भाषामा ढुकुरलाई करफोक भनिन्छ। त्यही करफोक भन्ने ठाउँमा नेपाली लोकरक भाका गुञ्जिनेछ।

सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको मैदान पनि हो त्यो।

जतिबेला नेपालमा काठमाडौं उपत्यकाबाहिर विरलै बृहत् साहित्यिक कार्यक्रम हुन्थे, त्यसबेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायत भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ ।

नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्त्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो।

कुनै समय आयामेली लेखक इन्द्रबहादुर राई अनि मुलुककै मूर्धन्य कला समीक्षक (पछि गोरखापत्रका सम्पादक) नारायणबहादुर सिंह, समालोचक तारानाथ शर्मा शिक्षक रहेको यस विद्यालयको शिलान्याश २०१० सालमा तत्कालीन युवराज महेन्द्रले गरेका थिए।

यो मैदानमा बर्सेनि राष्ट्रिय स्तरकै फुटबल प्रतियोगितासमेत आयोजना हुँदै आएको छ।

‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिकै हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसपटक इलामका साथीहरूले जोग मिलाइदिनुभएकोमा असाध्यै खुशी लागेको छ।’

मेची राजमार्गसँगै जोडिएको यो विद्यालय फिक्कल भएर इलामबजारतर्फ जाँदा बाटैमा पर्छ। कुनै समय दुई वर्षसम्म जिल्लाको सदरमुकाम (खलंगा) रहेको यो स्थान विसं १८७५ मा नामसालिङ हुँदै इलाम बजारमा सरेको हो।

नेपथ्यले मुलुकका स–साना गाउँबस्ती हुँदै विश्वका ठूला सहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ।

नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर १७ वटा मुलुकका ४१ मुख्य सहरमा ८० भन्दा बढी सांगीतिक प्रस्तुति दिइसकेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .