रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला: एमए थर्ड क्लास’ ले उत्साहजनक व्यापार गरेको छ। दयाहाङ राई र आँचल शर्मा स्टारर यस फिल्मले दुई दिनमा ३ करोड ६ लाख रुपैयाँ कमाइ गरेको निर्माण पक्षाले जनाएकाे छ।
फिल्म निर्माण टिमले दुई दिनको कलेक्सन सार्वजनिक गरेको छ। शुक्रबार ९८ लाखको ओपनिङ गरेको यस फिल्मले शनिबार २ करोड ८ लाख कलेक्सन गरेको वितरक गोबिन्द्र शाहीले जानकारी दिए।
‘दुई दिनमा डिग्री माइलाले ३ करोडबढीको व्यापार गरिसकेको छ। पहिलो दिन ९० लाख कमाइ गर्दा नयाँ वर्षमा २ करोड माथिको व्यापार गरेको थियो। हिजो पनि हलहरुमा राम्रो अकुपेन्ची थियो। तर, व्यापारिक आँकडा आउन बाँकी छ,’ शाहीले भने।
उपत्यकासहित देशैभरि राम्रो व्यापार गरिरहेको यस फिल्मको विदेशका शोहरु सोल्डआउट भइसकेको समेत उनले दाबी गरे।
यस फिल्ममा फिल्ममा दयाहाङ र आँचलका साथै माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ र प्रकाश घिमिरेको लगायतको अभिनय छ।
रामबाबुकै लेखन रहेको फिल्मको निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन्।
Shares
प्रतिक्रिया