मण्डला थियटरमा नाटक ‘टिकट टु हलिउड’ लाग्दै छ। भोलि शनिबारबाट लाग्ने नाटक सागर खातीले निर्देशन गरेका हुन् भने मिलन कार्की र सुदिप खतिवडाको अभियनय रहेको छ।
निर्देशक खातीको यो छैठौ निर्देशन हो। यसअघि उनले तिम्रो आखाँमा फसेको साँझ, खोपडी भित्रको मान्छे, अबुई लगायतका नाटक निर्देशन गरिसकेका छन्। झिम्के मामा, सिरुमा रानी लगायत नाटकमा अभिनय गरेका उनले अन्तिम पटक विमोक्ष नाटकमा अभिनय गरेका थिए।
केही सयमअघि कोटेश्वरको बाल कुमारीमा कोरिया जान इपियस भाषा परीक्षा दिएका युवाहरुको आन्दोलनमा मृत्यु भएका एक युवालाई प्रत्यक्ष देखेपछि यो विषयमा नाटक बनाउने विचार आएको उनले बताए।
मानिसहरु आफ्नो देश छाड्नको लागि पनि किन आन्दोलन गरिरहेका छन्, यसको पछाडीको कारण के छ र जसरी पनि विदेश जाने लहडले मानिसलाई कुद हदसम्म पुर्याइरहेको छ भन्ने विषयमा घोत्लिँदा यो नाटकको आइडिया आएको बताए। उनका अनुसार, आफूसँग थियटर गरिरहेका साथी तथा गुरुहरु पलायन भइरहँदा यो विषयमा केही गरौँ भन्ने अवचेत मनमा थियो।
‘यो विषय के गर्ने र कसरी गर्ने भन्ने लामो समयमसम्म अवचेतन मनमा थियो, बालकुमारीको घटना देखेपछि नाटक गर्नैपर्छ भन्ने लाग्यो’ उनले भने।
महाभोज, लाटीको छोरो, सलेदो, रमाइलो लगायत डेढ दर्जन भन्दा बढी नाटकमा अभिनय गरिसकेका कलाकार कार्कीले यो नाकटमा समकालीन कलाकार र निर्देशकसँग काम गर्न पाउँदा आफ्नो चरित्रलाई थप गहिरोसँग बुझेर अभिनयमा उतार्न पाएको बताए। निर्देशकले पात्रको चरित्र निर्माणमा काम गर्न कलाकारलाई स्वतन्त्रता दिएको उनको भनाइ छ।
‘यो नाटकको थिम अनुसार पात्र निर्माणमा धेरै नै मेहनत भएको छ, दर्शकले फरक काम देख्न पाउनेछन्’ कार्कीले भने।
क्लेशा, लाटीको छोरो, मसानटार आन्दोलन, जालिनी, एण्टीगोनी लगायत एक दर्जन नाटकमा अभिनय गरिसकेका कलाकार खतिवडाले नाटकमा देखासिकी र लहडले मानिसलाई कुन हदको समस्यामा पुर्याइरहेको छ भन्ने देखाइएको बताए।
‘नाटकमा समकालिन समाजका गम्भीर विषयलाई हास्य शैलीमा देखाइएको छ’ खतिवडाले भने।
नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो चार बजे मञ्चन हुनेछ। साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार साढे सात बजेको अतिरिक्त शो पनि हुनेछ। नाटक वैशाख २३ गतेसम्म चल्नेछ।
Shares
प्रतिक्रिया