गायिका एलिना चौहानलाई ‘कन्ट्रोभर्सी क्विन’ भन्दा फरक नपर्ला! किनकि, उनलाई विवादले पछ्याइरहन्छ। जसको कारण थुप्रैपटक उनले हैरानी पनि खेप्नुपरेको छ।
अहिले त्यस्तै भएको छ।
गायिका एलिनाले इन्स्टाग्राममा एक भिडिओ पोस्ट गरिन्, जसमा ‘थारा पैसा थारा दौलत’ बोलको हिन्दी गीतमा अभिनय गरेकी थिइन्।
रुँदै गरेकी एलिनाको अनुहारमा नीलडाम देख्न सकिन्छ। अनि क्याप्सनमा लेखिएको थियो, ‘एउटा वास्तविक पुरुषले तपाईंलाई त्यसबेला पनि सम्मान गर्छ, जब ऊ तपाईंप्रति बहुला भएको हुन्छ। यो सम्झिनू।’
जुन भिडिओ देखेपछि एलिनाका फ्यानले चिन्ता व्यक्त गरे। भर्खरै बिहे गरेर अस्ट्रेलिया पुगेकी एलिनालाई पारिवारिक समस्या परेको हो कि भनेर धेरैले अनुमान लगाए। कतिपय मिडियाले त समाचारै लेख्न भ्याए।
धेरै टीकाटिप्पणी भएपछि एलिनाले भिडिओलाई लिएर मुख खोलेकी छन्। उनले फेसबुकमा भिडिओ राख्दै भनेकी छिन्, ‘टिकटकमा जताततै एउटा गीत देखेपछि युट्यूबमा गएर हेर्दा राम्रो लाग्यो। राम्रो लागेपछि एउटा कन्सेप्ट सोचेर मैले पनि भिडिओ बनाएर हालें। भिडिओ देखेपछि सबैले यसलाई त बुढाले पिटेछ, मारेछ भन्ने सोच्नुभएछ। चलेको गीत भएकाले सबैलाई थाहा छ होला भन्ने लागेको थियो।’
चलेको गीतमा भिडिओ बनाउँदा मिडियाले नबुझेर समाचार लेखेको भन्दै उनले दुःखेसो व्यक्त गरेकी छन्।
‘समाचार बनाउनुअघिचाहिँ मलाई एकचोटि सोध्नुभएको भए हुन्थ्यो। सबैले भाइरल हुन हो कि किन भनेर समाचार बनाउनुभएछ,’ उनले भनिन्, ‘अब मैले कुनै गीत मनपर्यो भने भिडिओ बनाउनै नपाउनू? कि सधैं लभ परेको गीतमा मात्र बनाउनुपर्ने हो? अरूको गीतमा बनाउनै नहुने हो कि? सधैँ आफ्नै गीतमा बनाउनुपर्ने हो कि? मैले यो कुरै बुझिनँ।’
आफू सकुशल रहेको बताउँदै उनले चाँडै नेपाल आउने बताएकी छिन्।
Shares

प्रतिक्रिया