यो वर्षको सुरुवाती महिनामा चलचित्र क्षेत्रमा देखिएको उत्साह पछिल्लो महिना कमजाेर बनेको छ।
असार अन्तिम साता सिनेमा हलमा चलचित्रको व्यापार राम्रै चलिरहेको थियो। असार २८ गते प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ले बक्स अफिसमा सन्तोषजनक कलेक्सन गर्यो।
पछिल्लो समयका चर्चित जोडी दयाहाङ राई र मिरुना मगर अभिनित यो चलचित्रपछि साउनमा प्रदर्शनमा आएका चलचित्रले भने उत्साहजन व्यापार गर्न सकेनन्।
अझ भनौँ, साउनमा प्रदर्शन भएका चलचित्रले बक्सअफिसमा कमाल गर्न सकेनन्।
साउनको पहिलो हप्ता हलमा एउटै नेपाली चलचित्र प्रदर्शनमा आएनन्।
दोस्रो साता साउन १२ बाट फिल्म ‘ईश्वर’ रिलिज भयो। जुन फिल्मले दर्शकलाई तान्नै सकेन। दुई/तीन दिनमै फिल्मलाई हलबाट उत्रार्नुपर्ने अवस्था आएको थियो।
त्यसपछि साउन दोस्रो साता (१८ गते) बाट चलचित्र ‘मोदीबेनी’ रिलिज भयो।
वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको यस फिल्मबाट निकै आशा गरिएको थियो।
तर, यो फिल्मको हालत पनि त्यस्तै।
उक्त चलचित्र बक्सअफिसमा नराम्ररी पछारियो। सोहीदिन फिल्म ‘शीरफूल’ पनि रिलिज भएको थियो। तर, यो फिल्म दर्शकले हलमा लागेको र गएको समेत पत्तो पाएनन्।
साउनको २५ बाट राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ रिलिज भइसकेको छ।
निर्माताले फिल्म हेर्ने दर्शकलाई लक्की ड्रबाट सुनको हार उपहार दिने समेत घोषणा गरेको थियो।
यद्यपी, फिल्मले दर्शक रिझाउन सकेन। यस फिल्मको व्यापार पनि कमजोर नै देखिएको छ।
यसअर्थमा साउन महिना रिलिज भएका फिल्मको व्यापार दयनीय छ। निर्माताहरूले करोडौँ खर्च गरेका फिल्मले लगानी समेत उठाउन सकेनन्। जसकारण यो महिना नेपाली फिल्मका लागि खासै फलदायी हुन सकेन।
गएको चैतदेखि नेपाली फिल्मले लय समातेको थियो। वैशाख र जेठमा रिलिज भएका फिल्महरूले पनि राम्रै कमाइ गरेका थिए।
तर, असार लागेसँगै ‘घरज्वाइँ’बाहेक अरु फिल्मले खासै कमाइ गर्न सकेनन्।
साउन ३२ गतेबाट सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुँदैछ। यो फिल्म गत वर्ष वैशाख १ गते रिलिज भएको थियो।
तर, कम सो पाएको भन्दै निर्माताले तीन दिनमै हलबाट उत्रारेका थिए।
यो पटक निर्माण टीमले नयाँ गीतहरू समावेश गरेर फिल्मको प्रचारप्रसारलाई आक्रामक बनाएको छ।
तर, बक्सअफिसमा व्यापार आक्रामक हुन्छ कि हुँदैन? त्यो भने हलमा दर्शकको उपस्थितिले मात्रै बताउनेछ।
Shares

प्रतिक्रिया