प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन् सुदर्शन थापा। फिल्म ‘मेरो एउटा साथी छ’ बाट निर्देशकीय डेब्यु गरेका थापाले अधिकांश फिल्महरु प्रेमकथाको जनरामा निर्माण गरे। जुन फिल्महरु बक्स अफिसमा सफल पनि भए। साथै ‘धन्दा’, ‘प्रसाद २’ जस्ता फरक स्वादका फिल्म पनि बनाएर चर्चा बटुले।
तर, यतिखेर सुदर्शनले आफ्नो ‘कम्फड जोन’ छोडेका छन्। किन कि उनले फिल्म ‘रावायण’मा एक्सन बेस्ड प्रेमकथा प्रस्तुत गरेका छन्। पल शाह र पूजा शर्मा अभिनित यो फिल्म आगामी शुक्रबारबाट रिलिज हुँदै छ।
‘म प्रेमकथाकै फिल्ममा भुलिरहेको थिएँ। जसरी बलिउड, साउथ अथवा हलिउड फिल्ममा परिवर्तन भइरहेको छ, त्यस्तो परिवर्तन म आफ्नो कथामा देखाउन चाहन्थेँ। नेपालमा प्रेमकथा र कमेडी फिल्म चलेको पनि धेरै समय भइसक्यो। नेपाली दर्शकले फरक स्वाद पाउनुपर्छ भन्ने लागेर अहिले एक्सन बेस्ड लभस्टोरी फिल्म गरेको हुँ’, निर्देशक थापाले भने।
सुदर्शन फिल्म ‘रावायण’ बन्नुमा फरक कारण दिन्छन्।
‘हामीले रामायणमा रामको कथा मात्र पढ्यौँ, हेर्यौँ र सुन्यौँ। त्योभित्र रावणको पनि त कथा थियो होला नि। जुन कुरामा हामीले चासो दिएनौँ। यो फिल्मको धार्मिक कुरासँग सरोकार छैन। अहिलेको समयमा रावणजस्तो मान्छेको कथा र प्रेम पनि छ भन्ने एंगलबाट फिल्म बनाउन खोजेका हौँ। चलिरहेको फिल्मको सिद्धान्तभन्दा फरक सिद्धान्तबाट हामीले यसको दृश्यको क्राफ्टिङलाई नै परिवर्तन गरेका छौँ’, उनको दाबी छ।
भन्छन्, ‘रावायण’ हेरेपछि रावणप्रति दर्शकको हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ। रावणबाट यो फिल्म प्रभावित छ। रावण भनेको पुरुषार्थी, शक्तिशाली, ज्ञानी, वैज्ञानिक र सबै चिजबाटभरिपूर्ण व्यक्ति हो। तर रावणले सीतालाई हरण गर्नु नै उसको गल्ती थियो। नत्र त रावणलाई सबैले मानेकै हो। रावण आफैंमा नेगेटिभ होइन। त्यसकारण उसलाई नेगेटिभ नभनौँ।’
फिल्मको टिजर र ट्रेलर सार्वजनिक भएपछि खास गरी अभिनेता पल शाहको एक्सन पाटोमा प्रश्न नउठेको पनि होइन। यो कुरालाई बुझेका र सुनेका सुदर्शन यसको जवाफ अलिक फरक किसिमले दिन्छन्।
‘एक्सन गर्न २४ इञ्चको आर्म्स नै हुनुपर्छ भन्ने छैन। हामी सामान्य मान्छे हौँ, यदि हामीमाथि कसैले अन्याय, अत्याचार गर्यो भने हामी एक्सनमा आउँछौँ। ‘रावायण’ साधारण, लेभर मेनको कथा हो। यस्ताले पनि आफ्नो लागि कसरी लड्न सक्छ, परिस्थिति अनसार कसरी अगाडि बढ्नुपर्छ, कसरी आइलाग्नेमाथि जाइलाग्नुपर्छ भन्ने एउटा साधारण मान्छेको कथा हो’, सुदर्शनले भने।
सुदर्शन नायक पल शाहलाई नचाउनकै लागि ‘रावायण’मा नलिएको बताउँछन्।
‘तीन वर्षको अध्ययनमा पल शाहलाई नचाउने भए म पल शाहलाई लिन्नथेँ होला । मैले पललाई फिल्मको प्रस्ताव गर्दा ऊ सकारात्मक थियो । टिजर र ट्रेलरमा पलको काम देखेर राम्रो र नराम्रो दुवै प्रतिक्रिया सुनेँ’, सुदर्शन भन्छन्, ‘के मान्छे कुट्नलाई ठूलै ज्यानको मान्छे चाहिने हो ? उसो भए सानो जिउ भएको मान्छेले बच्चै जन्माउँदैन त ? त्यसका लागि इच्छा शक्ति र हिम्मत ठूलो कुरा हो। मान्छे ठूलो ज्यान भएर मात्र पनि हुँदैन, हिम्मत चाहिन्छ, त्यो हिम्मत मैले पलमा देखेँ।’
फिल्म ‘रावायण’मा सिक्वेलको सम्भावना धेरै रहेको सुदर्शनको भनाइ छ।
Shares

प्रतिक्रिया