कला


विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड

विजय बरालको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सातामै कमायो सवा ८ करोड

नेपालखबर
कात्तिक २३, २०८१ शुक्रबार ९:७, काठमाडौँ

विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘पूर्ण बहादुरको सारंगी’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ।

यस फिल्मले एक सातामै ८ करोड २५ लाख कमाइ गरेको हो। एक साताको कमाइबारे फिल्म निर्माण टिमले जानकारी दिएको हो। यो कमाइ पहिलो हप्ताको सबैभन्दा ठूलो कलेक्सनमध्ये एक हो।

त्यसैगरी ‘पूर्ण बहादुरको सारंगी’ले सबैभन्दा बढी शो पाउने फिल्मको रेकर्ड पनि बनाएको छ। बिहिबार यो फिल्म देशभरिका ८९ हलबाट ३८० शोसहित प्रदर्शन भएको थियो। यसअघि ‘बेहुली फ्रम मेघौली’ ले ३४० शो पाएको थियो।

कात्तिक १५ गते लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनरत यस फिल्मले सुरुवाती दिनमा सुस्त व्यापार गरेको थियो। ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को दबदबा। त्यसमाथि भोलिपल्टबाटै बलिउडका ठूला फिल्म ‘सिंगम अगेन’ ‘भूलभुलैया ३’ रिलिज हुनु।

जसकारण तीन दिन फिल्मले खासै राम्रो व्यापार गर्न सकेन। तर, बलियो बर्ड अफ माउथले फिल्मले पिकअप दिन थाल्यो। दर्शकले निकै मनछुने सिनेमा भन्दै सामाजिक सञ्जालमा लेख्न थाले। टिकटकमा पनि ‘पूर्ण बहादुरको सारंगी’ हेरेर रोएका भिडिओ भाइरल हुन थाले।

त्यसपछि फिल्म हाउसफुल भएको थियो। सहायक भूमिकामा देखिँदै आएका विजय बराल यस फिल्ममा लिड रोलमा छन्। विजयको पनि यतिखेर निकै तारिफ भइरहेको छ।

रिलिजअगावै चर्चामा रहेको सारंगी बजाउने व्यक्तिमा आधारित यस फिल्ममा बाबुछोराको कथा छ। यस फिल्ममा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ।

सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुती रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad