महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने भएको छ।
फिल्मको पोस्टर सार्वजनिक गर्दै मङ्सिर २३, २०८१ (डिसेम्बर ८) मा हङकङमा हुने तय गरिएको छ। सो प्रिमियरमा एञ्जिला तुम्बापो सुब्बा र निर्देशक मिलन चाम्स सहभागी हुनेछन् ।
हङकङ प्रिमियरपछि नेपाल रिलिज अगावै यो चलचित्रको प्रदर्शनी युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा हुने निर्माता प्रेम कुमार श्रेष्ठले बताए। नेपालमा भने यो चलचित्रको रिलिज मिति फागुन २९ गते तोकिएको छ।
चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा देखिनेछिन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्।
चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ। निर्देशक मिलन चाम्सले यो चलचित्रले फरक प्रकारको प्रभाव छोड्ने विश्वास व्यक्त गरे । उनका अनुसार चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको छ।
सुदीप बरालले खिँचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन्।
विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।
Shares

प्रतिक्रिया