शाहरुख खान स्टारर बलिउड फिल्म ‘बाजीगर’ को सिक्वेल बन्ने भएको छ। रिलिजको ३१ वर्षपछि सिक्वेल बनाउने तयारी चलेको निर्माता रतन जैनले बताए।
बाजीगरका निर्माता यसको पार्ट २ बनाउने योजनामा छन्। यसका लागि उनी रोमाञ्चक हुने स्क्रिप्टको खोजीमा छन्। यस फिल्मलाई अहिलेको जमनाअनुसारको नयाँ फ्लेवरमा तयार पारिने समेत उनको भनाइ छ।
निर्माता रतन जैनका अनुसार सिक्वेलको मुख्य भूमिकाको लागि शाहरुखसँग कुरा भइरहेको छ। उनले भने, ‘हामी शाहरुख खानसँग बाजीगर २ को बारेमा कुरा गरिरहेका छौँ। तर, अहिलेसम्म खास केही भएको छैन। तर यो फिल्म जरुर बनाइनेछ।’
सन् १९९३ मा प्रदर्शन भएको फिल्ममा शाहरुखसहित काजोल र शिल्पा सेट्टीको मुख्य भूमिका थियो। अब्बास मस्तान निर्देशित यो फिल्म शिल्पाको डेब्यु फिल्म हो।
बक्सअफिसमा सफल भएको यस फिल्मको ‘हार कर जीतने वालेको बाजीगर कहते हैं’ डाइलग अहिले पनि उत्तिकै चर्चित छ।
Shares

प्रतिक्रिया