बलिउड अभिनेता अक्षय कुमार ‘हाउसफुल ५’ को सुटिङका क्रममा घाइते भएका छन्। बिहीबार एक्शन सिक्वेन्सको सुटिङका क्रममा सेटमा केही वस्तु उछालिएर उनको आँखामा चोट लागेको हो।
हिन्दुस्तान टाइम्सका अनुसार आँखामा चोट लागेपछि तुरुन्तै फिल्मको सेटमा आँखा विशेषज्ञलाई बोलाइएको थियो। अक्षयको आँखा जाँच गरेपछि डाक्टरले पट्टी लगाए। उनले अक्षयलाई सुटिङ नगर्न र आराम गर्न सल्लाह दिएका छन्।
मार्च २०२३ मा, फिल्म बडे मियाँ छोटे मियाँको सुटिङको क्रममा स्कटल्याण्डमा एक एक्सन दृश्य सुट गर्ने क्रममा अक्षय घाइते भएका थिए।
चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ। अक्षयको चोटका कारण फिल्मको सुटिङ केही समयका लागि रोकिएको थियो। त्यसपछि फेरि सुटिङ सुरु भयो। तर, अक्षयको दृश्यको सुटिङ अहिलेका लागि रोकिएको छ। निको भएपछि मात्रै यी दृश्यहरू खिचिनेछन्।
यस फिल्ममा अक्षय कुमारसहित रितेश देशमुख, अभिषेक बच्चन, श्रेयस तलपदे, चंकी पाण्डे, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, फरदीन खान लगायतका कलाकारहरुको अभिनय छ।
तरुण मनसुखानीको निर्देशन रहेको यो ६ जुन सन् २०२५ मा रिलिज हुनेछ।
Shares

प्रतिक्रिया