कला


यादव भट्टराईको फिल्म ‘झिल्को’ को नयाँ प्रदर्शन मिति तय

यादव भट्टराईको फिल्म ‘झिल्को’ को नयाँ प्रदर्शन मिति तय

नेपालखबर
पुस ४, २०८१ बिहिबार १८:७, काठमाडौँ

यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ को प्रदर्शन मिति सरेको छ। निर्माणटिमले १९ गते वैशाखलाई नयाँ मिति तोकेको हो।

यसअघि यो फिल्म पुस ५ मा प्रदर्शन हुने भनिएको थियो। फिल्मको केही दृष्य छायांकन बाँकी रहेकोमा उक्त छायांकन गत आइतबार सम्पन्न भएको निर्देशक भट्टराईले जानकारी दिए।

अब पोस्ट प्रोडक्सनमा थप केही काम गर्ने तयारीका साथ मिति सारिएको उनले बताए।

‘पोस्ट प्रोडक्सनमा समय लगाएर मजैले काम गर्ने उद्देश्यका साथ प्रदर्शन मिति धकेलेका हौँ,’ उनले बताए।

‘झोला’ र ‘भोर’ पछि यो उनको तेस्रो निर्देशकीय फिचर हो। यस फिल्ममा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मुख्य भूमिका छ।

मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको निर्माण टिमले जानकारी दिएको छ ।

‘बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुर्व्यसनी डिजिटल दुर्व्यसनी हो। यही संवेदनशील विषय झिल्कोको कथा हो,’ निर्देशक भट्टराईले भने, ‘यो एक व्यवसायिक र बाल मनोविज्ञानमा आधारित पारिवारिक चलचित्र हो।’

फिल्मको ९० प्रतिशत दृष्य छायांकन गत वर्ष चैतमा सकिएको थियो। केही दृष्य फरक अन्तर राखेर हालै खिचिएको निर्देशक भट्टराईले बताए। सती प्रथाको कथामा ‘झोला’ फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म ‘भोर’ बनाएका थिए।

‘झिल्को’ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्।

फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ। निमेश श्रेष्ठले फिल्मलाई सम्पादन गरेका हुन्। मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा फिल्म बनेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad