भारतीय अभिनेत्री रश्मिका मन्दाना फिल्म ‘छावा’ मा मुख्य भूमिकामा देखिँदैछिन्। यस फिल्ममा उनी छत्रपति संभाजी महाराजकी पत्नी ‘महारानी’ येसुबाई भोसलेको भूमिकामा छिन्।
मराठी रानीको भूमिका निभाउनु रश्मिकाका लागि अवसर मात्र नभएर सपना थियो। भर्खरै दैनिक भास्करसँगको कुराकानीमा रश्मिकाले आफूलाई रानीको भूमिकामा देख्ने सपना रहेको बताइन्, जुन ‘छावा’ बाट पूरा भएको छ।
यस क्यारेक्टरका लागि रश्मिकाले पाँच महिनासम्म दैनिक ३-४ घण्टा भाषा सिक्न समय दिएकी थिइन्।
‘यो फिल्मका लागि निकै मेहनत गरेको छु। तर यो म सधैं चाहन्थें। अभिनेत्री बन्ने सपना देखेदेखि नै यस्तो ऐतिहासिक फिल्ममा काम गर्ने रहर थियो। हाम्रो इतिहास, परम्परा र संस्कृतिको भव्यताले मलाई सधैँ मोहित बनाउँछ,’उनले भनिन्, ‘छावा जस्तो फिल्ममा काम गर्नु मेरो लागि सपना जस्तै हो। म सधैं आफूलाई शाही संसारको दरबारमा शानदार नृत्य र इतिहासको बीचमा रानीको रूपमा हेर्ने सपना देख्थें। यो फिल्म आएपछि म निकै उत्साहित भएँ।’
लक्ष्मण उतेकरले रानीको लागि अफर गरेको बताउँदै क्यारेक्टरमा फिट हुन निकै मेहनेत गर्नुपरेको उनले बताइन्।
‘सबैभन्दा ठूलो तयारी भाषाको थियो। हिन्दी मेरो मातृभाषा होइन। यो भाषा मेरो लागि स्वाभाविक होइन तर दर्शकका लागि यो भाषा सिक्नु मेरो कर्तव्य थियो। त्यसपछि जब रानीको चरित्र खेल्नुपर्छ, तब चालदेखि बोलीसम्मका सबै कुरामा विचार गर्नुपर्छ। संवादका लागि दिनहुँ तीन–चार घण्टा मिहिनेत गरेँ। यो क्रम पाँच महिनासम्म चल्यो। म हरेक शब्द, प्रत्येक वाक्य मेरो आफ्नै भाषा जस्तै सिक्ने गर्थे,’ उनले भनिन्।
पात्र निर्वाह मात्र नगरेर आफूले पात्रको आत्मा बुझ्ने अवसर पाएको उनको भनाइ छ। रश्मिकासहित विक्की कौसलको मुख्य भूमिका रहेको यो फिल्म १४ फ्रेबुअरी सन् २०२५ मा रिलिज हुँदैछ।
रश्मिकाले विगत तीन वर्षदेखि लगातार ‘पुष्पा १’, ‘एनिमल’ र ‘पुष्पा २’ जस्ता हिट फिल्म दिइरहेकी छिन्।
Shares

प्रतिक्रिया