कला


भुटनिज नेपालीको कथामा फिल्म ‘ल्हो–छाम्पा’ बन्ने

भुटनिज नेपालीको कथामा फिल्म ‘ल्हो–छाम्पा’ बन्ने

नेपालखबर
माघ ३, २०८१ बिहिबार १६:०, काठमाडौँ

सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा  फिम ‘ल्हो–छाम्पा’ बन्ने भएको छ। चलचित्रले भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई प्रस्तुत गर्नेछ।

‘ल्हो–छाम्पा’ भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो। चलचित्रलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन्। तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत् नेपाली गीत संगीत र कलाका विविध विधामा योगदान गरिरहेका छन्।

निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्य साथ चलचित्र निर्माणमा अग्रसर भएको बताएका छन्।

‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलत्रि निर्माण गरेका हौँ। तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौँ,’सुवेदीले भने।

यस फिल्मलाई नरेशकुमार केसीले निर्देशन गर्नेछन्। उनको यो तेस्रो निर्देशकीय चलचित्र हुनेछ। नरेशले यसअघि ‘डाइङ क्यान्डल’ र ‘रोमियो एन्ड मुना’ गरी दुई चलचित्र निर्देशन गरेका छन्।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुनको पोखरेलको संगीत रहनेछ। संगीतकार पोखरेलले चलचित्रमा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी गराए।

उनले चलचित्रले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्ने बताए।

‘मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पछ्याइरहन्छ। यो चलचित्रले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ। सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ’,नरेशले बताए।

चलचित्रका लागि कलाकार तथा प्राविधिकको टुंगो लाग्न बाँकी छ। निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने जानकारी गराए । उनले चलचित्रको सुटिङ वैशाखको दोस्रो हप्तादेखि गर्ने योजना रहेको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad