नेपाली फिल्मक्षेत्रमा कलाकारलाई विभिन्न ‘ट्याग’ दिने प्रचलन छ। महानायकदेखि कलाकारलाई मेघास्टार, एक्सनस्टार लगायतका उपमा मेकरहरुले भिराइरहेका हुन्छन्।
केहीसमयअघि फिल्म ‘एक्टरः टेक वान’ को टिजर सार्वजनिक गरिएको थियो। जसमा फिल्मका मुख्य अभिनेता प्रदीप खड्कालाई ‘सुपरस्टार’ को ट्याग दिइएको थियो। त्यसपछि प्रदीपले के साँच्चै आफूलाई सुपरस्टार ठान्छन् त भन्ने प्रश्नको सामना गरिरहनु परेको छ।
तर, प्रदीपलाई भने ‘सुपरस्टार’ ट्यागप्रति खासै मतलब छैन। बिहिबार एक कार्यक्रममा बोल्दै प्रदीपले ‘सुपरस्टार’ भन्दा ‘एक्टर’ भन्दा खुसी लाग्ने सुनाए।
‘टिजरमा सुपरस्टार भनेर लेख्नुभयो। उहाँहरुले लेख्छु भनेपछि मैले रोक्न सकिनँ। त्यो बाहिर आएपछि धेरैले तपाईं आफूलाई सुपरस्टार मान्नुहुन्छ कि नाइँ भनेर प्रश्न समेत गर्नुभयो,’उनले भने, ‘तर, केहीदिनदेखि सोचिरहेको छु। भारतमा जसरी फिल्महरुकै नामबाट कलाकारलाई सुल्तान र बादशाह भनेजस्तै। मैले सोचिरहेको छु एक्टरपछि सुपरस्टार प्रदीप नभनेर एक्टर प्रदीप भन्न थालियो भने। सायद त्यो चाँहि सबैभन्दा ठूलो उपलब्धि हुन्छ होला।’

एउटा कलाकारका हिसाबले पनि एक्टर बन्नपर्ने उनको भनाइ छ। उनले भने, ‘एउटा कलाकार भएको हिसाबले आफूले आफूलाई प्रमाणित गर्दैं गर्दा कसैले मलाई स्टार बनाएपनि, सुपरस्टार बनाएपनि बन्न पर्ने त एक्टर हो। एक्टर बनिरहेको पनि छ। अझै दोहोरिएर बन्न पनि सक्छ। मलाई फिल्म एक्टरबाट एक्टर प्रदीप भनेर सम्बोधन भएदेखि म सबैभन्दा हर्षित हुन्छु होला।’
निर्देशक राजन भुषालले पनि आफू खुसीभन्दा पनि दर्शकहरुको चाहनाअनुसार ‘सुपरस्टार’ को उपमा दिएको दाबी गरे। प्रदीपसहित आना शर्मा र दिव्या रायमाझीको मुख्य भूमिका रहेको यो फिल्म माघ १६ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया