बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा बालिका भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई देखाइएको छ। केटी माग्न गएको दृश्यदेखि सुरु ट्रेलरमा विवाह पछि बालिकालाई पति, सासुले दिएको दुःख र पीडालाई देखाइएको छ।
बाल विवाह गरेपछि एउटा बालिकाको जीवनमा कस्तोसम्म पीडा र दुःखका दिन सुरुवात हुन्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ। छोरीलाई विवाह गरेपछि उसका बाबुआमाको छोरीप्रतिको पीरलाई पनि ट्रेलरमा समेटिएको छ।
ट्रेलरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई समेटिएको छ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ।
ट्रेलर रिलिज पछि फिल्मका निर्माता दीपकप्रसाद घिमिरेले फिल्ममा वास्तविकता भएकाले दर्शकलाई छुने बताए।
निर्देशक जीवन सेञ्चुरीले फिल्मले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहु विवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथालाई अन्त्य गराउन समाजमा चेतना फैलाउन प्रेरित गर्ने सुनाए।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ। राजबहादुर सानेको कथा फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन्।
Shares

प्रतिक्रिया