कला


रिलिजको एक दिनअघि ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न अदालतको आदेश

रिलिजको एक दिनअघि ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न अदालतको आदेश

नेपालखबर
माघ १५, २०८१ मंगलबार १७:१५, काठमाडौँ

थमन भण्डारीले निर्माण गरेको फिल्म ‘एक्टरः टेक वन’ बुधबार प्रदर्शन नहुने भएको छ।

काठमाडौं जिल्ला अदालतले ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएपछि रिलिजको एक दिनअघि फिल्मको प्रदर्शन रोकिएको हो।

फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न शुक्रबार अदालतमा रिट दायर गरेको थियो। यस कम्पनीका सञ्चालक मनोहरि थापा हुन्। उनको फिल्म ‘एक्टर’ गत ४ माघमा प्रदर्शनरतमा आएको थियो।  

कानुनी प्रावधानसमेत छलेर फिल्म बनाएको र कथावस्तुसमेत चोरीको प्रयोग गरेर गैरकानुनी कार्य गरेको आरोप लगाउँदै ‘एक्टर’ पक्षले प्रतिलिपि अधिकार कानुनबमोजिम कारबाही गरी उचित क्षतिपूर्तिसहित उपयुक्त आदेश माग गरेको थियो।

सोही रिटउपर मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले सुनुवाइ गरी फिल्मको प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको हो। साथै, दुवै पक्षलाई माघ २२ गते छलफलका लागि अदालतले बोलाएको छ।

रिटमा चलचित्र विकास बोर्ड, निर्माता कम्पनी अदृत फिल्म्स् र मोती फिल्मसलाई विपक्षी बनाइएको छ।

अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको चलचित्र एक्टर प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको सँघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टरः टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नू नगराउनू भनी चलचित्र विकास बोर्डसमेत विपक्षीको नाममा अल्पकालीन आदेश जारी गरिदिएको छ। आदेशको जानकारी विपक्षीलाई दिनू।’

प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी स्टारर ‘एक्टरः टेक वन’को अग्रिम बुकिङसमेत खुलिसकेको थियो। अब टिकट बुक गरेका दर्शकलाई फिल्म प्रदर्शकले पैसा फिर्ता दिनुपर्ने भएको छ। सोमबार साँझ मात्र भक्तपुर क्युएफएक्स सिनेमाजमा यस फिल्मको ग्रान्ड प्रिमियर सम्पन्न भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad