‘लेट्स टक।’
नेपालखबरको नयाँ सोमा पहिलो अतिथि बनेर आइपुगेकी अभिनेत्री रेखा थापालाई कुराकानीको सुरुवातमै सोधियो– ‘तपाईं कस्तो कुरा सुन्न रुचाउनुहुन्छ? कस्तो कुरा सुन्नु परिरहेको छ, जुन सुन्न मन छैन?’
हल्का मुस्कुराउँदै रेखाले जवाफ दिइन्, ‘म यथार्थपरक कुरा सुन्न रुचाउँछु। मलाई चिप्लो घसेको मन पर्दैन, चम्चागिरी मनपर्दैन।’
कहिले अभिनयका कारण, कहिले छोटो पहिरनका त कहिले सम्बन्धका कारण। प्रशंसा मात्रै होइन जीवनमा उनले आलोचना पनि खेपिन्। तर, तिनै आलोचनाहरूले आफूलाई आज रेखा थापा बनाएको उनको निष्कर्ष छ।
भन्छिन्, ‘म आफूलाई परिमार्जित गरेर यो ठाउँमा आइपुग्न सफल भएँ। त्यसकारण मलाई शृंगारिक कुरा सुन्न त्यति मन पर्दैन।’
२५ वर्षअघि छविराज ओझाको फिल्म ‘हिरो’मार्फत नेपाली फिल्ममा डेब्यु गरेकी रेखा अहिले आफ्नो फिल्म करिअरको ‘सिल्भर जुब्ली’ मनाइरहेकी छन्। सिनेमाका सिंगल थिएटरमा आफ्नो स्टारडम कायम राख्न सफल अभिनेत्री हुन् रेखा। सुरुदेखि नै नेपाली सिनेमामा महिलाको चरित्रचित्रण सधैँ कमजोर रह्यो। धेरै समयसम्म महिलाको उपस्थिति पनि खासै उल्लेखनीय हुन सकेन, हिरोको वरिपरि नाच्नबाहेक। तर, त्यही समय रेखाले भने महिलालाई पर्दामा सशक्त देखाउने प्रयत्न गरिन्। अभिनेत्रीका हकमा भने एकैजना लामो समयसम्म टिकेको इतिहास छैन, केही अपवादबाहेक। जसमा रेखा पनि पर्छिन्।
त्यसैले त फिल्मवृत्तमा रेखा थापाको जीवनको रेखा बडो अजीब लाग्छ। तर, स्वयम् रेखालाई भने कस्तो लाग्छ? कहाँको मान्छे कहाँ आइपुगेँ जस्तो लाग्छ?
‘यसो भन्दा फिल्मी डायलग बोलेजस्तो लाग्ला तर म खुला आँखाले सपना देख्ने मान्छे हुँ,’ रेखा अलिकति भावुक, अलिकति दार्शनिक सुनिइन्, ‘मोरङ १ मा पर्ने चौकी घाट भन्ने ठाउँमा जन्मिएको हुँ म। अहिले बसाइ चाहिँ मोरङ ३ मा हो, जहाँबाट मैले चुनाव लडेँ। त्यतिखेर चलचित्र क्षेत्रमा मेरो आफन्त भन्ने कोही थिएन। पर्दामा चेहराहरू देखेर म पनि एकदिन यस्तै नम्बर वन एक्टर बन्छु भन्ने सपना देखेको हुँ। अहिले भन्दा अनौठो कथाजस्तो लाग्न सक्छ। तर, मैले यसलाई न संघर्ष ठानेको छु, न चमत्कार नै।’
रेखालाई लाग्छ, बच्चैदेखि उनले जे परिकल्पना गरेको थिइन्, त्यही प्राप्त गरिन्।
‘म कहाँ छु त्यो तपाईंहरूको दृष्टिकोणले भन्ने कुरा हो,’ उनी भन्छिन्, ‘मैले यसलाई चरम सफलता पनि मानेको छैन। ९० वर्ष पुगेपछि मात्रै म आफ्नो जीवनको सफलता/असफलताको लेखाजोखा गर्छु। अहिले त म संघर्षकै चरणमा छु नि !’
फिल्ममा डेब्यु गर्नुअघि रेखा मिस नेपाल बन्ने होडमा थिइन्। सन् १९९९ मा मिस नेपाल स्पर्धामा सहभागी भएकी उनले टप टेनसम्म पुगे पनि उपाधि जित्न सकिनन्। उनी यो परिणामलाई आफ्नो जीवनकै महत्त्वपूर्ण घटना मान्छिन्।
भन्छिन्, ‘म मिस नेपाल भएको भए सायद यहाँ हुँदिनँ थिएँ होला। त्यतिखेर टप थ्रीसम्म आइपुगेको भए पनि म फिल्ममा हुन्थिनँ होला।’
त्यति मात्रै होइन, उनले एयर होस्टेस बन्नका लागि आरएनएसीमा समेत आवेदन दिएकी थिइन्। तर त्यहाँ पनि वैकल्पिकमा मात्रै नाम निस्कियो।
‘मिस नेपाल या एयर होस्टेस दुईमध्ये एक भएको भए सायद मेरो जीवनको बाटो मोडिन्थ्यो होला। तर मेरो दृढ संकल्प सुपरिचित अभिनेत्री बन्छु भन्ने थियो। त्यसैले मलाई यहाँसम्म ल्याइपुर्याउन यी दुई घटनाको महत्त्वपूर्ण योगदान छ,’ उनी भन्छिन्।
सायद राजनीतिमा प्रवेश गरेर पनि होला अचेल रेखा कूटनीतिक जवाफ दिन थालेकी छन्। सहज छैन उनको मुखबाट सिधा जवाफ फुत्काउन।
‘मान्छेको जीवनमा विभिन्न प्रकारका घटना–परिघटना हुन्छन्, सामान्य हो,’ आफ्नो जीवनका ठूला अवरोधबारे उनले भनिन्, ‘कसैको सम्बन्धविच्छेद होला, कसैको प्रेममा असफलता होला, कसैले काम गर्ने क्रममा केही त्रुटिहरू होलान्, अरुको दृष्टिकोणबाट त्यो काम सफल नभएको देखिएला। तर विश्वास गर्नुस्, म जीवनमा अहिलेको अवस्थाबाट टक्क उभिएर पछाडि हेर्दा, अवरोध ठान्दिनँ। म लाइफलाई बहुत इन्जोय गर्ने मान्छे हो।’
यी यावत् घटनाका बाबजुद उनी आफ्नो जीवन यात्रालाई कठिन मान्न तयार छैनन्।
‘त्यो त मेरो सफलता हो नि,’ उनी भन्छिन्, ‘कुनै समय चलचित्र क्षेत्रमा कुनै मानिसहरूसँग पंगा भयो होला, चरम दुस्मनी होला, योसँग फिल्म खेल्ने, योसँग नखेल्ने भयो होला, यसलाई निकाल्ने, यसलाई ननिकाल्ने भयो होला। तर, यसलाई म सफलता नै मान्छु। कहिलेकाहीँ मान्छेहरूले कपोलकल्पित कुराहरू लेखिदिँदा ‘ह्या कस्तो लाइनमा आएछु’ भन्ने पनि लाग्थ्यो। तर, अहिले फर्केर हेर्दा स्वाभाविक महसुस हुन्छ।’
रेखाको अभिनयप्रति मानिसका आआफ्ना मूल्यांकन छन्। उनी आफैँलाई चाहिँ कत्तिको उत्कृष्ट कलाकार मान्छिन्?
‘म उत्कृष्ट भएर त यहाँसम्म छु नि,’ रेखा ऐनाअघि उभिएर आफ्नै अभिनयको समीक्षा गर्छिन्, ‘मैले यसो भन्दा अहंकार देखिए पनि म आफूलाई चिन्छु नि! तर, अझै पनि मैले चाहेजस्तो खोजेजस्तो अभिनय गर्न पाएको छैन। जति गरियो किशोरावस्थामा हुलमुल र हुलदंगामा गरियो। पछिल्लो अवस्थामा जिम्मेवारीबोध गरेर गरियो होला। तर, स्वतन्त्र भएर गरेको अनुभूति अझै पनि छैन मलाई। रेखा थापालाई कहिले राजकुमारी, कहिले एक्सन गरेको देख्छु। म रेखा थापाको फ्यान हुँ। मलाई थाहा छ, म राम्रो गर्न सक्छु, अलि ध्यान दिएँ भनेँ।’
भनिन्छ, मान्छेको जीवनमा गल्ती नै सफलता चढाउने सिँढी हुन्। रेखालाई लाग्छ, उनले जीवनमा ज्यादा गल्ती गरेकै छैनन्।
‘गल्ती हरेक मान्छेले गरिरहेको छ,’ उनी भन्छिन्, ‘५० वर्षसम्म मान्छे सिकारु नै हुन्छ। गल्ती गर्दै, सिक्दै जाने मान्छे परिपक्व हुने रहेछ। मैले त जीवनमा जति गल्ती गर्नुपर्ने हो, गरेकै रहेनछु। गरेको भए मज्जा आउने रहेछ। सुध्रिने मौकै पाइएन यार!’
उनी आफ्ना गल्तीहरू कोट्याउन चाहन्नन्। न अरुले आफूलाई ‘जज’ गरेकै मन पर्छ। ‘तिमी को हौ मलाई जज गर्ने?’ उनी सोध्छिन्, ‘तिम्रो चस्माबाट मलाई हेर्ने होइन नि। हरेक मान्छे आआफ्नो संरचनाले बनेको हुन्छ। आ–आफ्नो क्वालिटीले बनेको हुन्छ।’
यतिखेर रेखा छोरी हुर्काउनमा व्यस्त छिन्। छोरीलाई जाउली पकाएर खुवाउनेदेखि डाइपर फेर्दिनेसम्मको काममा उनको समय बित्छ। त्यो काम अरुले गरेको चित्त बुझ्दैन उनलाई। आमा भएपछि उनको जीवनमा आएको परिवर्तन नै जिम्मेवारी हो।
‘आमा हुँदा र नहुँदाको रेखाको जीवनमा आकाश जमिनको फरक हृदयमा छ,’ उनले भनिन्, ‘हिजो मेरो हृदयमा एक किसिमको चन्चलता र कौतहुलता थियो भने आमा भएपछि त्यो स्थिर र एउटा दीप प्रज्ज्वलन भएको छ।’
एक दशकयता रेखा सिनेमामा कमै झुल्किएकी छिन्। आफ्नो बाहेक अरुको ब्यानरको सिनेमा नै साइन गरेकी छैनन्। तर, अब अरुको ब्यानरको फिल्म पनि खेल्ने तयारीमा रहेको उनले खुलाइन्।
‘बाहिरी ब्यानरबाट तीनटा फिल्ममा अफर छ, सायद एउटा खेल्छु होला,’ उनले भनिन्, ‘तर आमा हुनेबित्तिकै मेरो चलचित्रको भूमिकामा परिवर्तन नहोला। पर्दामा जस्तो सुहाउँछ, त्यस्तो नै गर्ने हो। ’
‘यति ठूलो चर्चा र स्टारडम कमाएको मान्छे अहिले घरमै बस्दा छटपटी हुँदैन?’
रेखा आफ्नो आमा जीवनलाई इन्जोय गरिरहेको बताउँछिन्।
‘१० वर्षदेखि कम फिल्म गर्छु, अर्काको फिल्म गर्दिनँ भनेर नै बसेको हो,’ उनले भनिन्, ‘सायद त्यो भन्दाअघि तृप्त भएर फिल्म गरेको भएर पनि हुन सक्छ। कुनैबेला बिहान ३ बजे उठेर सुटिङ गरियो। अहिले घरमा बस्दा इन्जोय गरिरहेको छु। केही छटपटी हुँदैन मलाई। म शान्त मान्छे हो।’
उनलाई लाग्छ, हरेक मान्छे बचपनदेखि वृद्धसम्म थुप्रै ‘ब्यागेज’ लिएर हिँड्छ। धेरै बादल थुप्रिएको हुन्छ। मनभित्र कैयन कुरा खेलिरहेका हुन्छन्। तर, त्यसलाई केलाउने र फाल्ने हृदय सफा हुन्छ।
‘बादल लागेर पानी पर्यो भने आकाश त निलो देखिन्छ,’ उनी भन्छिन्, ‘म निलो आकाश बोकेर हिँड्ने मान्छे हो। मैले यो अभ्यास गरेर जानेको हो। मैले ५ वर्षजति यसको कक्षा नरबहादुर कार्कीसँग अध्ययन गरेको छु।’
अरुको रिस आफ्नो हृदयमा बोकेर हिँडिरहन चाहँदिनन् उनी।
‘आफ्नो हृदयलाई बोझ किन दिने?’ उनी प्रश्न गर्दै भन्छिन्, ‘म जान अनजानमा तिमीलाई किन बोकेर हिँडिरहन्छु क्या? ६–७ वर्ष भयो मेरो त्यो बानी हटिसक्यो। हरेकलाई क्षमा दिने र कोही पनि मान्छेलाई बोकेर हिँड्ने मेरो हृदय छैन। हट्नुपर्ने कुराहरू मेरा जीवनको च्याप्टरबाट हटिसके। म सम्झिन चाहन्नँ।’
अघिल्लो वर्षको माघमा राप्रपा नेतृसमेत रहेकी रेखाको आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग नोकझोँक भयो। बेबी प्लानका लागि अमेरिका पुगेकी रेखाबारे लिङ्देनले कटाक्ष गरेपछि उनीहरूबीच आरोपप्रत्यारोप नै चलेको थियो।
त्यतिबेला लिङ्देनले भनेका थिए, ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन, एकजना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो। नानी जन्माउन अमेरिका। जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन। ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ?’
यसपछि रेखा–राजेन्द्रको सम्बन्ध कस्तो छ त?
रेखालाई पत्याउने हो भने उनीहरूबीचको तिक्तता मित्रतामा परिणत भइसकेको छ। पार्टी बैठकमा बोलचाल भइरहेकै छ।
‘व्यक्तिगत र व्यावसायिक सम्बन्ध फरक हो,’ उनी भन्छिन्, ‘कुनै पनि मान्छेको व्यक्तिगत कुरालाई राजनीति गर्ने मान्छेले राजनीतिक एजेन्डा बनाउनु हुँदैन भन्ने मेरो मान्यता हो। हरेक मान्छेको व्यक्तिगत जीवन हुन्छ। कसैको चरित्रलाई उदाङ्गो पारेर राजनीति हुँदैन। कसैको संवेदनशील अवस्थामा कसैले पनि प्रोपोगान्डा, एजेन्डा या भ्युजको लोभ गर्नु अपराध हो। ’
उनलाई लाग्छ, आफ्नै देशमा जनतालाई विश्वास हुने खालको स्वास्थ्य सुविधा भएको भए कोही पनि विदेश जान्थेनन्।
‘मनिषा कोइराला किन क्यान्सरको उपचार गराउन अमेरिका जानुपर्थ्यो, आरजु देउवा किन भारत गइरहनुपर्थ्यो, विभिन्न नेताहरू किन देशकै ढुकुटी रित्याएर विदेश पठाइन्छ?’ उनी प्रश्न गर्दै भन्छिन्, ‘तर, रेखा थापा जनता या देशको ढुकुटी सिध्याएर गएर होइन। म आफ्नो बल आफ्नो क्षमतामा सुरक्षित मातृत्व गर्न जाँदा नचाहिँदा प्रोपागान्डा या अर्कै ढंगले जनतासामु प्रस्तुत गर्न मिल्छ? एउटा परिवार भएको मान्छे श्रीमानकै घरमा जान्छ होला नि?’
तर, रेखाका अनुसार लिङ्देनले उनीसँग त्यो कटाक्ष गरेकोमा गल्ती महसुस गरिसकेका छन्।
‘पार्टी महाधिवेशनमा म उहाँकै प्यानलबाट महामन्त्री उठेकी थिएँ। राजेन्द्र लिङ्देनका लागि भोट माग्दामाग्दै मैले मलाई नै भोट माग्न बिर्सेको मान्छे हुँ,’ उनले भनिन्, ‘नयाँ नेतृत्व आउनुपर्छ भनेर चाहने मान्छे हो म। त्यो नेतृत्वले कहीँ न कहीँ बाटो बिराउँदाखेरी खबरदारी गर्ने पूर्ण अधिकार मलाई छ। काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिरजस्तो बेमौसमको बाजा त बजाउनु भएन नि! त्यो समयमा त्यो विषय उठाउन जरुरी त थिएन नि। यद्यपि त्यो कुरामा उहाँले रिअलाइज गर्नुभयो। ‘तपाईंलाई भनेकै थिएन’ भन्नुभयो। अब कोट्याउन जरुरी छैन।’
‘लेट्स टक’मा रेखालाई हामीले सोध्यौँ– दर्शकलाई थाहा नभएको तपाईंको जीवनको गोप्य कुरा के हो?
केहीबेर घोत्लिएपछि उनको जवाफ थियो, ‘म मुरली बजाउँछु। अचेल मेरो छोरी वैभवी राज्यलक्ष्मीले पनि खाना खुवाउँदा मुरली बजाएको रमाइलो मान्छ।’
हेर्नुहोस् रेखा थापासँगको ‘लेट्स टक’ :
Shares

प्रतिक्रिया