प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टरस् टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका छन्। निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनकी कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा दर्ता गरेका छन्।
शुक्रवार जारी गरिएको प्रेस विज्ञप्तिमा, मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ। विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि, माघ १५ गते, अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ। निर्माताहरूले यो अप्रत्याशित आदेशले दर्शकहरूलाई असुविधा पुर्याएको र ‘एक्टर’का निर्माताबाट आर्थिक ब्ल्याकमेलिङको प्रयास भएको दाबी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘अग्रिम टिकट बुकिङ मार्फत नेपालमा करिब ४० लाख रुपैयाँको टिकट बिक्री भइसकेको र विदेशमा पनि टिकट बिक्री भइसकेको अवस्थामा, एक्कासि प्रदर्शन रोक्नुपर्दा हामीले ठूलो आर्थिक क्षति व्यहोर्नु पऱ्यो भने मानसिक आघात पनि सहनुपरेको छ। यस कठिन परिस्थितिमा, हामीलाई अर्को पक्षबाट आर्थिक ब्ल्याकमेलिङको सामना गर्नुपर्यो, अदालत खुल्नु अगावै सहमति दिएको जस्तो गरी चलचित्र चलाउन सकिने भनियो। हाम्रो बाध्यताका कारण हामीसँग सो प्रस्ताव स्वीकार गर्नुको विकल्प थिएन।’
निर्माताहरूका अनुसार, बाध्यतावश सहमति गरे पनि अहिले उक्त घटनालाई गलत ठहर गर्दै डायस्पोरा इन्टरटेन्मेन्ट प्रालि र सञ्चालक सम्राट थापाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो।
निर्माताहरूले विवाद समाधान नभएसम्म नेपालभित्र आइतबारदेखि ‘एक्टरस् टेक वन’ को प्रदर्शन स्थगित गर्ने निर्णय लिएको जनाएका छन्। ‘मुद्दा किनारा लागेपछि चलचित्र पुनः प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।
यस घटनाले नेपाली चलचित्र उद्योगमा कानुनी प्रक्रियाको महत्त्व पुनः सतहमा ल्याएको भन्दै, निर्माताहरूले भविष्यमा यस्ता समस्याबाट बच्न सहकार्य र समझदारीको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। साथै, कठिन परिस्थितिमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै, दर्शकहरूको माया र सहयोगले आफूहरूलाई अघि बढ्न प्रेरित गर्ने बताएका छन्।
Shares

प्रतिक्रिया