कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको स्पष्टीकरण दिएका छन्।
बिहीबार बिहान संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै उनीहरूले यूएसएडको पैसा खाएर हिन्दु धर्मको विरोध गरे भनेर अनर्गल प्रचार गरिएको गुनासो गरेका हुन्।
तर आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको र कुनै धर्ममा जान नउकासेको हरिवंश आचार्यले बताएका छन्।
व्यंग्य भनेको नेता, वकिल, डाक्टर तथा पण्डित सबैलाई गर्न पाइने उनको भनाइ छ।
‘कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र अरू कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौँ। र, अर्काे धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ। यो अनर्गल प्रचार हो’, भिडिओ सन्देशमा हरिवंशले भनेका छन्, ‘हामीले ०५२ सालमा यो पञ्चायत व्यवस्थाको सराद्धे भन्ने एउटा कार्यक्रम गर्यौँ। त्यसमा एउटा पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरेका छौँ। र, पण्डित भन्दैमा भगवान् हुँदैन। म पनि पण्डितकै छोरा हुँ। र, व्यंग्य भनेको नेतालाई पनि गर्न पाइन्छ। पण्डितलाई पनि गर्न पाइन्छ।’
यस्तो छ उनीहरूको पूरा भनाइ-
मदनकृष्ण श्रेष्ठको भनाइ : हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कुरा प्रचार गर्दै हिँड्यो भन्ने अनर्गल प्रचार भइरहेको छ। जसले गर्दा हामीलाई एकदमै चित्त दुखेको छ। हामी सबैलाई आफ्नो सम्झिन्छौँ, हितैषी सम्झन्छौँ। आफ्ना हितैषीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ।
हाम्रो संसारमा राम्रा कुराहरू पनि छन्, नराम्रा कुराहरू पनि छन्। राम्रो राम्रो मात्रै छानेर हामीले काम गर्दै आइारहेका छौँ। जस्तोः कुष्ठरोगसम्बन्धी कुराहरू, क्षयरोगसम्बन्धी कुराहरू भो। अनि खोपका कुराहरू। यी कुनै अधर्म कुराहरू होइन। यहाँहरूले हाम्रा कुनै पनि टेलिफिल्महरू पूरा हेरेर जाँच्नुभए हुन्छ। कुनै पनि त्यस्ता अनर्गल कुरा छैनन्। नचाहिने कुरा बोल्या छैन हामीले।
हरिवंश आचार्यको भनाइ : र, हामी दुइटा चलचित्रको छायांकनमा छौँ। एउटा, मदन दाइले खेलिरहनुभएको छ, एउटा मैले खेलिरहेको छु। र, यो अनर्गल प्रचार आउनुभन्दा अगाडि नै हामीले भगवान्का मन्दिरहरूमा हामीले चलचित्रहरूको शुभारम्भ गरेका थियौँ, पूजाआजा गरेर।
यो यूएसएडको कुरा आउँछ, जहाँसम्म लाग्छ हामीले, मदनबहादुर, हरिबहादुर, आमा,, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरू हामीले गरेका छौँ। त्योचाहिँ हामीले युट्युबमा सप्पै किताबजस्तै छर्लंग हुने गरी राखेका छौँ। त्यो तपाईंहरूले पल्टाएर हेर्नुभए हुन्छ।
कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र अरू कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौँ। र, अर्काे धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ। यो अनर्गल प्रचार हो।
र, अर्काे हामीले ०५२ सालमा यो पञ्चायत व्यवस्थाको सराद्धे भन्ने एउटा कार्यक्रम गर्यौँ। त्यसमा एउटा पण्डितको पात्रको प्रवृत्तिको हामीले व्यंग्य गरेका छौँ। र, पण्डित भन्दैमा भगवान् हुँदैन। म पनि पण्डितकै छोरा हुँ। र, व्यंग्य भनेको नेतालाई पनि गर्न पाइन्छ। पण्डितलाई पनि गर्न पाइन्छ। पुलिसलाई पनि गर्न पाइन्छ। डक्टर, वकिल सबैलाई गर्न पाइन्छ। त्यहीअन्तर्गत हो। त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्यो भन्ने कुरा कपोलकल्पित कुरा हो। हामी यही हाम्रो काममा निरन्तर लागी नै रहन्छौँ। पछाडि यस्ता कुराहरू आएर हामी हतोत्साही हुदैनौँ। नेपाली जनताहरूलाई हामी यही अनुरोध गर्न चाहन्छौँ कि यी सप्पै भ्रामक कुराहरूको विश्वास नगरिदिन हुन हामी हार्दिक अनुरोध गर्दछौँ।
भिडिओ-
Shares

प्रतिक्रिया