कला


हिजो जुन फिल्मको नक्कल गर्थिन्, आज त्यही फिल्मको हिरोइन

विनयको दाबी : म ‘अनलक्की’ होइन, ‘अन्डररेटेड’ हुँ

अनिल यादव
फागुन ९ , काठमाडौँ

तिमी र म घुम्न जाऊँ न
तिमी पिरतीको छाता ओढाऊ न...

जतिबेला फिल्म ‘रेशम फिलिली’को यो गीतले बजार तताएको थियो, त्यतिबेला सुपुष्पा भट्ट कलेज पढ्दै थिइन्। फिल्मका कलाकारहरू विनय श्रेष्ठ र मेनुका श्रेष्ठलाई स्क्रिनमा हेर्दै यो गीतमा नाच्थिन् उनी। उनकै भाषामा भन्दा ‘नक्कल’ गरिरहेकी हुन्थिन्। 

झन्डै १० वर्षपछि यो फिल्मको सिक्वेल बनेको छ– ‘फेरि रेशम फिलिली’। फागुन १४ बाट हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्ममा हिरोइन बनेकी छन्, सुपुष्पा। र, उनै विनयसँग जोडी बाँधेकी छन्। फेरि फिलिली गीतमा ‘तिमी र म घुम्न जाऊँ न’ भन्दै कम्मर मर्काएकी छिन्। 

यो फिल्म प्रचारको ‘म्याराथन’मा रहेकी सुपुष्पालाई ती दिन सम्झिँदा अहिले सपनाजस्तो लागिरहेको छ। 

‘एकैचोटि यसरी मुभीमा आउँछु भनेर कहिल्यै सोचेको थिइनँ,’ नेपालखबरको सेलेब्रिटी सो लेट्स टकको एक प्रसंगमा उनले भनेकी छन्, ‘मेरो आफन्त कोही पनि थिएन। एकैचोटि फिल्ममा काम पाइएला, सोचेको थिइनँ। विस्तारै म्युजिक भिडिओ खेल्दै आउँछु भन्ने चाहिँ थियो। कलेजमा ट्यालेन्ट हन्ट हुँदा म रेशम फिलिली गीतमै नाचेकी थिएँ। सोचेको थिइनँ, भोलि गएर यही फिल्मको सिक्वेलको हिरोइन बन्छु। चित्त शुद्ध भएर होला, आज म आफैँ यसको हिरोइन भएँ।’

त्यसै त कम फिल्म गर्न रुचाउने विनय श्रेष्ठ ६ वर्षपछि फिल्ममा देखिएका छन्। ६ वर्षअघिको उनको ‘रोमियो एन्ड मुना’ले राम्रो तारिफ पाए पनि बक्सअफिसमा फिल्मले सुखद् व्यापार गर्न सकेको थिएन। 

फिल्म बक्सअफिसमा असफल भएपछि कलाकार निराश हुनु स्वाभाविक हो। लामो ग्यापपछि विनय ‘रेशम फिलिली’को सिक्वेलबाट फिल्ममा देखिएपछि हामीले सोध्यौँ– ‘६ वर्षपछि सिक्वेल नै किन?’

‘पहिलाको रेशम फिलिली निर्माणपछि नै सिक्वेलको माग थियो तर ढिला भयो,’ जवाफमा उनले हाँस्दै भने, ‘१० वर्षपछि मलाई फेरि रेशम बन्न मन लाग्यो। ढिलो आयो, दुरुस्त आयो। ’

पछिल्लो एक दशकयता नेपाली सिनेमामा सिक्वेल निर्माणको होडबाजी नै छ। ‘कबड्डी’देखि ‘छक्कापञ्जा’सम्मका सिक्वेलले राम्रो व्यापार गरेपछि फिल्मकर्मी त्यसकै पछि लागेको आरोपसमेत लागिरहेको छ। 

‘कतै फेरि रेशम फिलिली पनि पैसा कमाउने लोभले त होइन?’

जवाफमा विनयले पैसाको लोभ पनि यथार्थ रहेको स्वीकारे। 

‘पैसा कमाउन सबैले चाहन्छ। संसारभर सिक्वेल मनी मेकिङ टुल नै हो। नाफा कमाउने चाहना पनि पक्कै हो,’ उनले भने। 

फिल्मवृत्तमा विनय ‘अनलक्की’ र ‘अन्डररेटेड’ एक्टरका रूपमा पनि चिनिन्छन्। कारण, करिअरको सुरुवाती चरणमा ‘सानो संसार’, ‘फस्ट लभ’ लगायतका फिल्मबाट राम्रो तारिफ पाए। तर, त्यसपछि बक्सअफिसमा सफलताको स्वाद चाख्न पाएका छैनन्। अभिनयमा तारिफ पाउँदापाउँदै दर्शकमाझ उति चर्चित हुन सकेका छैनन्। 

विनयलाई भने समयअनुसारको फिल्म नगरेका कारण बक्सअफिसमा आफ्ना फिल्म नचलेको भन्ने लाग्छ। 

‘मैले समयअनुसारको फिल्म गरिनँ र त्यस्तो भयो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘बढी सहरकेन्द्रित फिल्म गरेँ। दर्शकहरू त्यतिबेला त्यस्तो फिल्मको लागि तयार हुनुहुन्थेन। तर, अनलक्की चाहिँ ठान्दिनँ आफूले। बरु अन्डररेटेड एक्टर भन्दा म मान्छु।’

विनयले आफूलाई ‘अनलक्की’ नठाने पनि ०७२ वैशाख १२ को महाभूकम्पलाई सम्झँदा त्यस्तो महसुस भने हुन्छ। कारण, भूकम्प जानुअघि ठिक एक दिनअघि वैशाख ११ गते ‘रेशम फिलिली’ हलमा रिलिज भएको थियो। 

‘पारि त्यो डाँडामा’बोलको गीतले फिल्मको हाइप बढाएको थियो। रिलिजको पहिलो दिन हलहरू हाउसफुल भएका थिए। दोस्रो दिन पनि हलहरू भरिभराउ थिए। विनयलाई लागेको थियो– बल्ल मेरो दिन आयो। 

तर विडम्बना हलमा फिल्म चलिरहेकै बेला ११ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टरको महाभूकम्प गयो। भूकम्पले फिल्मको व्यापारलाई पनि ठूलो धक्का दियो। सायद विनयको मनमा चसक्क बिझ्यो। यद्यपि विनय त्यसमा पछुतो मान्दैनन्। 

‘बल्ल मेरो दिन आयो भन्ने लागेको थियो तर मलाई पछुतो छैन,’ विनय महाभूकम्प सम्झिँदै भन्छन्, ‘त्यतिबेला म मात्रै होइन, पूरा देश नै समस्यामा परेको थियो। मैले कहीँ भनेको छैन तर भूकम्प जानेबित्तिकै मैले चिनेको हलहरूमा फोन गरेर ठिक छ कि छैन भनेर सोधेका थिएँ। त्यति मानवता ममा रहेछ। फिल्म त अर्को गरौँला, एक्टिङ त फेरि पनि गरौँला तर हलमा जाने दर्शक र हलमा काम गर्नेहरूको अवस्था कस्तो छ भनेर सोधेको थिएँ। तीनचारजना चिनेका हल सञ्चालकहरूलाई फोन गरेको थिएँ।’

विनय त्यसपछि पनि फिल्म क्षेत्रमै छन्। अभिनय गरिरहेका छन्, फिल्म बनाइरहेका छन्। 

भन्छन्, ‘समय सधैँ एकनासको हुँदैन। १० वर्षअघिको कुरा लिएर काँधमा बोकेर के अघि बढिरहने? वर्तमानमा बाँच्ने हो। भूकम्पमा व्योहोरेको घाटा पनि पूर्ति गर्ने गरी अब कमाइएला कि!’

झन्डै १० वर्षपछि बनेको ‘फेरि रेशम फिलिली’ अघिल्लो शृंखलाभन्दा फरक रहेको विनय बताउँछन्। ट्रेलर हेर्दै फिल्म अमेरिका जाने युवाको सपना, त्यसको प्राप्तिका लागि गर्ने संघर्ष र संघर्षका क्रममा आउने अवरोधहरूमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ। 

‘रेशम १० वर्षपछि कहाँ पुग्यो, फिल्मले त्यही कथा भन्छ,’ विनय भन्छन्, ‘यो फिल्म उसको अमेरिकी सपनामा केन्द्रित छ। अमेरिका जाने लोभमा एउटा मान्छेको पछि लाग्दा कसरी फिलिली बनाउँछ, अमेरिका पुर्‍याउँछु भनेर कसरी उसलाई जालझेलमा फसाइन्छ, फिल्मले त्यही कथा भन्छ।’ 

हेर्नुहोस् लेट्स टकको नयाँ शृंखला :

 

फागुन ९, २०८१ शुक्रबार २१:३२

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad