कला


फागुन २४ देखि ‘टीकापुर साहित्य महोत्सव’ हुने

फागुन २४ देखि ‘टीकापुर साहित्य महोत्सव’ हुने

नेपालखबर
फागुन ११, २०८१ आइतबार १४:५४, काठमाडौँ

फागुन २४ देखि २६ गतेसम्म ‘टीकापुर साहित्य महोत्सव’ दोस्रो संस्करण हुने भएको छ।

दोस्रो संस्करण नेपालका प्रथम नाटककार तथा सुदूरपश्चिमका राष्ट्रिय गौरव पहलमानसिंह स्वाँर विशेष हुनेछ। 

‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ नाम दिइएको महोत्सव लेखक तथा अध्येता हरि शर्माको विद्वत प्रवचनबाट थालनी हुनेछ।

टीकापुरवासीले पहिलो पटक नेपाली कला साहित्यका बहुप्रतिभाशाली विद्वान व्यक्तित्व अभि सुवेदीको विद्वतासँग साक्षात्कार गर्ने अवसर प्राप्त गर्नेछन्।

महोत्सवमा जम्मा २१ बहस सत्रहरू रहने छन् जसमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, बुद्धिसागर, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह, रन्जना निरौला, सुमन वर्षा घिमिरे,  प्रभा बराल आदिले नेपाली आख्यानका विविध विषयहरूमा बहस गर्ने छन्। 

गैरआख्यानकार विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्काले नेपाली गैरआख्यान र जीवन दर्शनबारे विचार विमर्श तथा विश्लेषण गर्नेछन्। समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, डा। ब्रतराज आचार्यका साथै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मरराज जोशी तथा धनन्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गर्नेछन्।

नेपाली काव्य विधामाथि कवि श्यामल, विप्लव प्रतीक, सीमा आभास तथा सुदूरपश्चिमका प्रतिभाशाली युवा कविहरू देवव्रत, खेम बतास, बिपी अस्तु, हेमन्त शिशिर र कल्पना जोशीले बहस गर्ने छन्।

चर्चित अभिनेत्री केकी अधिकारी तथा अभिनेता विजय बरालको उपस्थिति पनि महोत्सवको मुख्य आकर्षणका रुपमा रहनेछ।

नाटक विधातर्फ सुनिल पोखरेल, घिमिरे युवराज, पशुपति राई र सुशीला तामाङ्ले आफ्ना धारणा राख्ने छन्। निरन्तर हिट फिल्म निर्माणमा सफल निर्देशक प्रदीप भट्टराई र अभिनेता तथा फिल्म निर्माता रवीन्द्रसिंह बानियाँले नेपाली चलचित्र क्षेत्रबारे बहस गर्नेछन्।

साहित्यका साथै महोत्सवमा वैकल्पिक राजनीति, स्थानीय तहमा महिलाको नेतृत्व, समाज, थारू संस्कृति, विकास, पर्यटन, दलितका मुद्दा, जीवन दर्शनजस्ता विषयमा समेत छलफल चल्नेछ। टीकापुरका चुनौती र अवसर विषयले पनि महोत्सवमा विशेष प्राथमिकता पाउने जनाइएको छ।

दोस्रो संस्करण ‘पहलमानसिंह स्वाँर साहित्य विशेष संस्करण’ भएकोले अग्रज साहित्यकार पहलमानसिंह स्वाँरका सम्बन्धमा उनकी नातिनी ईश्वरी स्वाँर, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन। जोशी तथा स्वाँरमाथि शोध र अध्ययन गरिरहेका विज्ञहरुले स्वाँरको व्यक्तित्व, कृतित्व र योगदानबारे विशेष प्रकाश पार्ने छन्।

महोत्सवको तेस्रो दिन ‘टीकापुरको विकासः अवसर र चुनौती” शीर्षकमा टीकापुरका मेयर रामलाल डङ्गौरा थारू, पूर्व मेयर तपेन्द्र रावल तथा वीरेन्द्र विद्या मन्दिर शैक्षिक गुठीका अध्यक्ष नवराज रावलले बहस गर्ने छन्।

‘किन ओझेलमा छन् दलितका मुद्धा’ शीर्षकमा माननीय सन्तोष परियार, अभियन्ता रीता परियार तथा डा। रणबहादुर रावलबीच छलफल हुनेछ। ‘संघीय सरकारको नीतिमा सुदृरपश्चिमम’ शीर्षकमा कैलालीबाट प्रतिनिधित्व गर्ने सांसद माननीय ईश्वरी न्यौपाने, माननीय गरिमा शाह र माननीय कैलाश चौधरीले बहस गर्ने छन्।

महोत्सवको पहिलो दिन हुने काव्य सन्ध्यामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी वर्तमान समयका चर्चित र सशक्त कविहरू श्यामल, विप्लव प्रतीक, सीमा आभास, रोशन परियार, अविनाश भट्टराई, एस लामा, शान्तिप्रिया वन्दना, शान्ति शर्मा, प्रभा भट्टराई, प्रोज्ज्वल अधिकारी, रसिक राज, कल्पना जोशी, देवव्रत, खेम बतास र हेमन्त शिशिर आदिले कविता वाचन गर्ने छन्। 

महोत्सवको दोस्रो दिन हुने गजल सन्ध्यामा चर्चित तथा लोकप्रिय गजलकारहरू संगीता थापा, प्रदीप रोदन, पुष्पराज आचार्य, रूपक बनवासी, सुमन स्मारिका, अमला अधिकारी, मुना बोहराजस्ता गजलकारहरूले महफिल जमाउने छन् ।

त्यसैगरी, तेस्रो दिन संगीत सन्ध्या हुनेछ जसमा सुदूरपश्चिमका लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

टीकापुर महोत्सव संयोजक तथा लेखक महेशविक्रम शाहले भने, ‘महोत्सवका सम्पूर्ण गतिविधिका माध्यमबाट विभिन्न साहित्यिक परम्परा र आवाजहरूको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्छ।’ 

उनले प्रायः राष्ट्रिय मञ्चमा प्रतिनिधित्वका लागि संघर्ष गरिरहेका क्षेत्रीय तथा सीमान्तकृत लेखकहरूलाई यी महोत्सवहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने सुनाएँ। 

टीकापुरलाई प्राज्ञिक थलोका रूपमा विकास गर्ने उदेश्य बोकेको महोत्सवले यस भेकका पर्यटन तथा सम्पदाको प्रवर्द्धनसमेत गर्ने लक्ष्य लिएको छ।

आयोजकका अनुसार महोत्सवका अतिथिहरूलाई कर्णालीमा जलबिहार गराउनुका साथै यस भेकका अन्य पर्यटकीय स्थलहरुको पनि अवलोकन गराइनेछ।

टीकापुर साहित्य महोत्सव आयोजनाको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालय रहेको छ भने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान यस महोत्सवको प्रवर्द्धक रहेको छ । सहप्रवर्धक टीकापुर नगरपालिका  र जानकी गाउँपालिका रहनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad