फागुन २९ गतेबाट फिल्म ‘आउटलः दफा २१९’ प्रदर्शन हुँदैछ। यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ मुख्य भूमिकामा छन्। चारवर्षपछि कमब्याक गर्न लागेका सुशीलले यो फिल्मको नाम नेपाली फिल्मक्षेत्रमा नौलो रहेको बताए।
उनले भने, ‘आउटल नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हो। जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ। त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ। यो फिल्म हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौँ। यो फिल्मबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न खोजेका छौँ। यो फिल्म रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ।’
होस्टेल रिटर्न्सबाट डेब्यु गरेका सुशीलले फिल्ममा भिन्न शैलीको एक्सन गरेको अनुभव सुनाए। तर, एक्सन गर्न सहज नभएको उनको भनाई छ। ‘एक्सन गर्न निकै नै गाह्रो रहेछ। म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ। कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो। यो फिल्मको तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन।’
के सुशील फिल्ममा नकरात्मक भूमिकामा देखिएका छन्? यस प्रश्नको खुल्दुली पनि सुशीलले मेटाए। ‘कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन। उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो। यो फिल्ममा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ। उसलाई परिस्थितीले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ। यसको कथा यही सारमा छ,’ उनले भने।
यसफिल्ममा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ। यो दृश्यको बारेमा सुशीलले भने–‘मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ। त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ। तर, नयाँ अनुभव थियो रमाइलो भयो। दर्शकहरुलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ।’
सुशील फिल्म ‘आउटलः दफा २१९’को ट्रेलरले दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित छन्। साथमा, मिडियामा हिजोआज आफ्नो विषयमा आउने हेडलाइन्स फेरिएकोमा उनी दंग छन्। उनले भने–‘पहिले पहिले मेरो फिल्म रिलिज हुने बेलामा फ्लप सुशील अब हिट होलान् त? यो फिल्ममा चल्ला त सुशीलको स्टारडमरुजस्ता हेडलाइन्स आउथेँ। तर, अहिले फेरिएको छ। म यहाँ नै सफल भइसकेको छु जस्तो लागेको छ।’
विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको यो फिल्म फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ।
Shares

प्रतिक्रिया