भारतको पटनास्थित बिहार सङ्ग्रहालयमा रागिनी उपाध्यायको तेस्रो रेट्रोस्पेक्टिभ प्रदर्शनी सुरु भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सुरु भएको प्रदर्शनी अप्रिल ७ सम्म चल्नेछ।
भारतका लागि नेपालका राजदूत शंकर शर्मा, बिहार संग्रहालयका महानिर्देशक अञ्जनी के सिंह, बिहार संग्रहालयका अतिरिक्त निर्देशक अशोक सिन्हासहित कलाकारको उपस्थितिमा प्रदर्शनीको उद्घाटन गरिएको थियो। प्रदर्शन सुरु भएसँगै रागिनीले आफ्नो सपना साकार भएको बताएकी छिन्।
उपाध्यायको यो ७१ औं एकल कला प्रदर्शनी हो भने बिहार सङ्ग्रहालयमा पहिलो एकल कला प्रदर्शनी हो। उपाध्यायले यस अघि सन् २०२३ मा क्रमशः नेपाल र बेल्जियममा रेट्रोस्पेक्टिभ प्रदर्शनी गरेकी थिइन्। उपाध्याय नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पहिलो महिला कुलपतिसमेत हुन्।
प्रदर्शनी बिहार सङ्ग्रहालयको आयोजना, बीपी कोइराला भारत नेपाल फाउन्डेसनको सहयोग र रागिनी उपाध्याय आर्ट फाउन्डेसनको संयोजनमा भएको हो। प्रदर्शनीमा कलाकार उपाध्यायले सन् १९७८ (विद्यार्थीकाल) देखि हालसम्म बनाएका सयभन्दा बढी कलाकृति राखिएका छन्।
बिहार सङ्ग्रहालयले नेपाली कलाकारहरूको सामूहिक प्रदर्शनी गरे तापनि एकल प्रदर्शनीका लागि भने पहिलोपटक कलाकार उपाध्यायलाई छनोट गरेको हो।
Shares

प्रतिक्रिया