कला


मनीषाले व्यक्त गरिन् नेपाली चलचित्रमा काम गर्ने चाहना

मनीषाले व्यक्त गरिन् नेपाली चलचित्रमा काम गर्ने चाहना

नेपालखबर
चैत ११, २०८१ सोमबार ७:२८, काठमाडौँ

अभिनेत्री मनीषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन्। अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। 

उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन्। बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताएकी छन्।

उनले भने, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ। पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु।’

त्यसो त उनले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन्। विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ। उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन्। 

‘मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन्। म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ कीर्तिमान बनाइरहेको छ। यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो’, अभिनेत्री कोइरालाले भनिन्।

कोइरालाद्वारा अभिनीत पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्‍यो। भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो। अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेका थिए।

भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उनले बताए। उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गरिन्।

‘मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो। अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो’, उनले भनिन्।

अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन्। उनले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिइन्। महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad