कला


सकियो तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’

सकियो तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’

नेपालखबर
चैत १२, २०८१ मंगलबार २१:२५, काठमाडौँ

काठमाडौँमा जारी तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (नेटफिस्ट) मंगलबार सकिएको छ। अमजद परवेजको निर्देशन र रमेश रञ्जनको लेखन रहेको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै महोत्सवको समापन भएको हो।

थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै महोत्सव आरम्भ भएको थियो।

मण्डला थिएटरमा महोत्सवमा १२ देशका १७ नाटक मञ्चन भए। जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोनी’, लिथुवानीया र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायत नाटक मञ्चन भए। नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ छनोटमा परेका थिए।

महोत्सवमा रंगमञ्चसँगै कला संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा हरेक दिन छलफल भए। महोत्सवको पहिलो अन्तक्र्रिया यही विषयकेन्द्रित थियो। ‘रैथाने ज्ञानको उज्यालो’ शीर्षकमा अध्येताद्वय भोगिराज चाम्लिङ र गुरुङ सुशान्तबीच संवाद भयो।

‘नेपाली रंगमञ्च र सिनेमा’को मितेरीपथबारे सेसनमा निश्चल बस्नेत, केकी अधिकारी, दीपक रौनियार र आशान्त शर्माले सहजकर्ता श्रीजु सरलसँग आफ्ना अनुभव साटे। ‘मिडियाको आँगनमा रंगमञ्च’ शीर्षकमा सम्पादक सन्तगाहा मगर र सम्पादक जनकराज सापकोटा वक्ता थिए। पत्रकार पुष्पा केसीले छलफल सञ्चालन गरिन्।

लेखक प्रभाकर गौतमले सत्र सञ्चालन गरेको ‘राजनीतिमा कलानीति’ शीर्षकको अर्को सत्रमा पूर्वसंस्कृति मन्त्री सदन किराँती, युवा नेता रामकुमारी झाक्री र ठाकुर गैरेले कलानीतिको खाँचो र सुधारबारे धारणा राखे।

महोत्सवको अन्तिम दिन छलफलका दुई सत्र थिए। पत्रकार समर्पणश्रीले ‘जनप्रतिनिधिहरुसँग गाउँ गाउँमा सिंहदरबार स् ठाउँठाउँमा थिएटर’ शीर्षकको सत्र चलाए। सेसनमा दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिका प्रमुख, बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख र रंगकर्मी चेतन आङ्थोपोले सो विषयमा चर्चा गरे।

महोत्सवकै आकर्षण मानिएको अन्तिम छलफलमा दुई फरक पुस्ताका प्रतिभाशाली कलाकार हरिवंश आचार्य र विजय बरालबीच संवाद भयो। सिमली छायामा बसी शीर्षकको यो छलफलमा हरिवंशसँग बिजयले आफ्नो रंगमञ्च र सिनेमाका नयाँ पुराना सन्दर्भको चर्चा गरे।

मण्डला थिएटर, थापागाउँमा नारा आयोजना भएको निटफेस्टले ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ थिम बोकेको थियो। नाटकसँगै कविता, नृत्य, संगीत, चित्रकलालगायत अन्य कलात्मक प्रस्तुतिहरु समेटिएका थिए। स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशाला आयोजनासमेत थिए।

निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सवमा भएका मञ्चन, प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिताले आफूलाई सन्तुष्ट बनाएको र महोत्सवलाई निरन्तरता दिन उर्जा थपेको बताए। ‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्नुभयो। आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘महोत्सवको तेस्रो संस्करणमा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गर्यौं।’

महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी थिए। एक हप्ता चलेको महोत्सवमा हजारौं स्रोता दर्शकले सहभागीता जनाए। महोत्सव संयोजक केदार श्रेष्ठले भने, ‘विश्वभरका कलाकार र नेपाली कलाकारले एक अर्काको कामबाट सिक्ने अभ्यास हो महोत्सव। निटफेस्टको एक हप्ता सांस्कृतिक विविधताको आदान प्रदानमा बित्यो। यही नै महोत्सवको उपलब्धी हो।’

नाटक हेर्नदेखि छलफल सुन्न र अन्य प्रस्तुति हेर्ने दर्शकहरु हरेक दिन बढेको समेत उनले बताए। महोत्सवमा संसारभरका जम्मा १ सय १५ नाटक आवेदनमा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad