कला


केही मीठो बात गर- पलेँटीमा कालीप्रसाद रिजाल र आभास आउने

केही मीठो बात गर- पलेँटीमा कालीप्रसाद रिजाल र आभास आउने

आभास र कालीप्रसाद रिजाल


नेपालखबर
चैत १४, २०८१ बिहिबार १५:१६, काठमाडौँ

हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ। कालीप्रसाद रिजालका नयाँ गीतमा आभास आफ्नो धुन र स्वरसहित चैत १५ र १६ गते पलेँटीमा प्रस्तुत हुँदै छन्।

लामो समयपछि आफू गीतकारका रूपमा विशेष श्रोताहरूबीच आउन लागेकामा आफू बच्चाझैँ रमाइरहेको रिजालले सुनाए।

‘नयाँ गीत लेखिरहेकै थिएँ तर चित्तबुझ्दो संगीतकार आभासजीलाई पाएपछि म सहकार्य गर्न उत्सुक भएको हुँ,’ गीतकार रिजाल भन्छन्, ‘पहिले पनि मेरो आत्मसंस्मरण काँडामा हाँसेको जिन्दगी लोकार्पणका बेला नेपालयसँग म जोडिएको थिएँ तर यसपटकको सहकार्य म आफैँलाई विशेष लागिरहेको छ।’

विसं १९९६ मा धनकुटामा जन्मेका रिजाल कवि–लेखकहरूलाई भेट्ने लालसामा २०१३ सालमा कलेज पढ्न काठमाडौँ आए। ‘बालकृष्ण समसहितको निर्णायक मण्डलीबाट अन्तरकलेज प्रतियोगितामा मेरो कविता प्रथम भयो,’ रिजाल सम्झिन्छन्, ‘तर पछि लेख्नै छोडेको थिएँ। एक दिन मेरो अफिसमा नारायणगोपाल आएर गीत लेख्नुहोस् भनेपछि मैले गीत लेख्न थालेँ।’

यसरी गीतकार बनेका रिजालका केही मीठो बात गर, आँखा छोपी नरोऊ भनी, झरेको पातझैँ, झर्‍यो जिन्दगी, यसैगरी बिताइदिन्छु, माया गर्नेको चोखो माया जस्ता गीत नारायणगोपालको स्वर र संगीतमा सजिए। यी सदावहार गीत पनि यसपालिको पलेँटीमा प्रस्तुत हुनेछन्।

यसैगरी अम्बर गुरुङले संगीत गरेका दुई गीत कहीँ आफ्नै भुमरीमा र अर्को एक रमाइलो गीत पनि पलेँटीमा प्रस्तुत हुनेछ।

२० वर्षदेखि पलेँटी संयोजन गर्दै आएका आभास यसपालि संगीतकार र गायकका रुपमा पलेँटीमा प्रस्तुत हुँदैछन्। रिजालका आठ नयाँ गीतमा उनले धुन भरेका छन्।

‘गीति सृजनालाई कविताका रुपमा सम्मान गर्ने रिजाल जस्ता गीतकार जो अहिले पनि लेखिरहनुभएको छ तर संगीत भइरहेका छैनन् भने त्यो एकदम ननिको कुरा हो भन्ने मलाई लाग्यो,’ आभास भन्छन्, ‘अनि मैले उहाँका नयाँ गीतमा धून भर्ने प्रयास गरेँ।’

नारायणगोपालको रोजाइका गीतकार रिजालसँग सहकार्य गर्न पाउँदा आफूलाई रमाइलो लागेको आभासले बताए। ‘काली दाइलाई संगीतको पनि ज्ञान छ, साहित्य त हुने नै भइहाल्यो,’ आभास भन्छन्, ‘साहित्य र संगीतबीच दूरी बढ्ने होइन, घट्ने हुनुपर्छ र सहकार्यबाट मात्र सार्थक संगीत सृजना हुन्छ।’

पलेँटीकै क्रममा रिजालका नयाँ र पुराना गीत र कविताको संग्रह ‘केही मीठो बात गर’ पुस्तक पनि लोकार्पण हुनेछ। पुस्तकमा रिजालमा नयाँ र पुराना २० कविता संगृहीत छन्। यसैगरी उनका नयाँ र पुराना ६८ गीत पुस्तकमा समेटिएका छन्। ‘संगीतकर्मीहरूलाई पनि सजिलो हुने गरी रिजालका १० गीतको स्टाफ नोटेसन पनि पुस्तकमा प्रस्तुत गरेका छौँ,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘दिग्गज कवि तथा गीतकारको प्रतिनिधि रचनासहितको नयाँ पुस्तक छाप्न पाउनु नेपालयको गौरव हो।’

रिजालका पुराना लोकप्रिय गीतहरू अभिज्ञा घिमिरे र बेनुप क्षत्रीले गाउनेछन्। सम्पूर्ण पलेँटीमा सुनील सिंह, सुन्दरकुमार महर्जन, मिलन घिमिरे, कृपेश लोहनी, लक्ष्मीप्रसाद डंगोलले वाद्यवादनमा साथ दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad