लघुचलचित्र ‘दृश्य’ (द लाइट अफ आई) को छायांकन सकिएको छ। काठमाडौंमा छायांकन गरिएको ‘दृश्य’को निर्माणकार्य सम्पन्न भएसँगै निर्माण टिमले पोस्टर सार्वजनिक गरेको छ।
पोस्टरमा एउटा आँखाभित्र दुईजना पात्रहरु देखाइएको छ। एक जना दृष्टिविहीन र अर्को सामान्य मानिसलाई आँखाभित्र अटाइएको छ। दृश्यको पोस्टर रसिकराजले तयार पारेका हुन्।
ऐना आर्ट्सको प्रस्तुति तथा आश्री इमिग्रेसनको सहकार्यमा निर्माण गरिएको ‘दृश्य’को निर्माता नितु घिमिरे हुन्।
आश्री इन्भेस्टमेन्टको सहयोगमा तयार भएको लघुचलचित्रका निर्माण प्रमुख रामेश्वर भट्टराई हुन्। आश्री इमिग्रेसन, आश्री इन्भेस्टमेन्ट, आश्री ट्राभल्सका सञ्चालक समेत रहेका भट्टराई कथावस्तु मन परेकाले लघुचलचित्र निर्माण गरिएका बताउँछन्।
‘दृश्य’मा नारायणराज चौंलागाइँ, सुवास प्रसाद गजुरेल, राकेश श्रेष्ठ, आरुष मगर, युनिसा कार्की, विदुर प्रसाद सिग्देल, सन्तोष सुवेदी, नरेन भट्टराई, रमेश बज्राचार्य, चक्र प्रसाद पोखरेल, उद्धव दंगाल, नितु घिमिरे, सुरेन्द्र क्षेत्री, सुरज आचार्य, रिजन थापालगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘दृश्य’को पात्र र चरित्रकै लागि ६ महिनादेखि तयारी गरेर आफूले सकेसम्म मिहिनेत गरेको कलाकार नारायणराज चौलागाईंले बताए।
उनले यसै लघुचलचित्रमार्फत मुख्य पात्रका रुपमा डेब्यु गरेका हुन्। नारायण काइँलोका रुपमा परिचित उनी गजलकार तथा गीतकारसमेत हुन्।
‘दृश्य’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्। बाहिरी आँखाले देखेको भौतिक दुनियाँ र हृदयको आँखाले महसुस गर्ने अन्तर्मनको दुनियाँलाई तुलनात्मक रुपमा लघुचलचित्रमा देखाउन खोजिएको अभिलाषी बताउँछन्।
‘दृश्य’लाई विभिन्न ओटीटी प्लेटफर्ममार्फत रिलिज गर्नुअघि अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराइनेछ। उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ र ‘द स्कूल वाल’ले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर अवार्ड पनि प्राप्त गरेको थियो।
Shares

प्रतिक्रिया