कला


‘भूठान’ बनाउन विनोदले खेपेको हन्डर: हलिउड फिल्ममा ‘एक्स्ट्रा’देखि अनुपम खेरसँग सहकार्य टुट्दासम्म

‘भूठान’ बनाउन विनोदले खेपेको हन्डर: हलिउड फिल्ममा ‘एक्स्ट्रा’देखि अनुपम खेरसँग सहकार्य टुट्दासम्म

यो फिल्मबाट हरिवंश आचार्यको ‘पुनर्जन्म’ हुने निर्देशक पौडेल दाबी गर्छन्। तस्बिर : सौगात दाहाल


लक्ष्मी बलायर
चैत २३, २०८१ शनिबार ८:४९, काठमाडौँ

सन् २०१८ ताका निर्देशक विनोद पौडेल ‘बुलबुल’को कथा लेखिरहेका थिए। सोहीबेला उनको ध्यान तान्यो- अमेरिकामा शरणार्थीहरूले गरेको आत्महत्याबारे बीबीसीमा प्रकाशित एउटा स्टोरीले।

विनोद सोच्न लागे, ‘अमेरिका त सपनाको सहर हो। सपनाको देशमा गएर पनि आत्महत्या गर्नुपर्ने अवस्था आउनेसम्म के पर्दोरहेछ? मान्छे विकसित देशमा पनि त खुसी त भएनन्। आखिर देश, जरा र संस्कृति कति महत्त्वपूर्ण रहेछ।’

त्यसैबेला नै उनका साथीले एक लेखको लिंक उनलाई पठाए। त्यो लेख पनि शरणार्थीसम्बन्धी नै थियो। त्यसपछि विनोदलाई फिल्मका लागि यस विषयमा अध्ययन गर्न मन लाग्यो।

तर, त्यतिबेला उनी ‘बुलबुल’ बनाइरहेका थिए। सन् २०१९ सालमा रिलिज ‘बुलबुल’ले चर्चासहित राष्ट्रिय चलचित्र अवार्ड समेत जितेको थियो। डेब्यु फिल्म नै चर्चित भएपछि विनोद उत्साहित भए। उनीकहाँ फिल्महरूको अफर पनि आउन थाले। तर कहिले स्क्रिप्ट चित्त बुझ्दैनथ्यो त कोही सुरुमै फिल्ममा यो कलाकार हुनुपर्छ भन्थे। सर्तसहित आएका प्रस्तावलाई विनोदले स्वीकार्न सकेनन्।

अनि भुटानी शरणार्थीको कथा खोतल्न गए अमेरिका
बरु केहीअघि फुरेको आइडियामा उनलाई काम गर्न मन लाग्यो। आफूलाई भन्न मन लागेको कथा खोतल्न अमेरिका पुगे। अमेरिका पुगेपछि विनोद रिसर्चको लागि शरणार्थी बस्ने ओहायोको एक्रोन सहर गए। त्यहाँ पुगेर उनी त्यस समुदायसँग नजिक हुन थाले। युवा पुस्तादेखि पाकाहरूसँग कुराकानी गरे।

उनीहरूले थातथलो छोडेर विदेशिनुको पीडा पोखे। त्यो देखेर र सुनेर विनोदलाई पनि खुब पीडा हुन्थ्यो। सोच्थे- कतै आफ्नो फाइदाको लागि त यो समुदायलाई प्रयोग गरिनँ?

फेरि सोच्थे, ‘आजसम्म उहाँहरूको कथा राम्रोसँग आएको छैन। र, सिनेमा गहिराइमा रिसर्च गरेर बनेको छैन। त्यो नबनेको भएर नै मैले भन्नुपर्छ भन्ने जिम्मेवारी बोध भयो। जसलाई मैले मौका रूपमा लिएँ।’

त्यहाँ पुग्दा भुटानी शरणार्थीको दु:ख पीडालाई नजिकबाट महसुस गरेको विनोद सुनाउँछन्।

‘साँच्चै आफ्नो जरासँग छुटिनुपर्दाको पीडा सहन सजिलो नहुँदो रहेछ। हामी नेपालीहरू त रहरले जान्छौँ, मन लागेको बेला आउँछौँ। तर, पनि हामी दु:खी हुन्छौँ। उहाँहरूलाई त देशले भगाइदिएको हो। घर छोड्नुपरेको छ। कति परिवार त्यतै मरे, कति जेलमा छन्। त्यहाँबाट भागेर नेपाल आए। यताबाट नि अमेरिकामा जानुपर्‍यो। एउटा पुस्तालाई त ठिकै हुन्छ। जसलाई आफ्नो इतिहास थाहा छैन। तर, जो पाको पुस्ता छ, उहाँहरूलाई जन्मथलो छोड्नु परेको पीडा थाहा छ, त्यो पुस्ता खुसी छैन।’

जब बीचमै रोकियो सुटिङ
विनोदसँग लगानी गर्ने पैसा थिएन। थियो त केवल शरणार्थीको कथा भन्ने हुटहुटी। उनलाई जसरी नि यो कथा पर्दामा भन्नु थियो। त्यहाँकै कलाकार र प्राविधिक राखेर फिल्म बनाउनु थियो। स्क्रिप्ट लेखे पनि पैसा नहुँदा काम अघि बढ्न सकेन। हुन त उनले लगानीको लागि आफन्त र साथीभाइलाई नगुहारेका हैनन्। तर, कसैले लगानी गर्ने चाहना देखाएनन्।

सोहीबेला एक्रोन सहरको एक पत्रिकामा पैसा नभएर फिल्म बनाउन नसकेको विनोदबारे समाचार छापिएछ। जुन समाचार विनोदका लागि अवसर बनिदियो। किनकि त्यो समाचार पढेर धेरैले विनोदलाई फोन गर्न थाले। आफूले सक्नेजति सहयोग गर्ने वाचा पनि गरे।

डेढदुई करोड लगानी आएपछि ‘रबरसिटी’ को नाममा फिल्म बन्ने भयो। उनका साथीहरू निर्देशक जोयस पाण्डेसहित अभिनेता सुशांक मैनाली लगायत फिल्मसँग जोडिए। त्यसपछि फिल्मको छायांकन सुरु गरियो।

हिउँ परेको मौसम कैद गर्नुपर्ने। त्यो पनि कम बजेटमा। जसकारण निर्देशक पौडेल छिटो सुटिङ सक्न चाहन्थे। १० दिन फिल्म सुटिङ भइसकेको थियो। तर, लाइटम्यानहरू काम गर्न नसक्ने भनेर भागे।

‘हाम्रो १०/१२ घण्टा काम गर्ने बानी हुन्छ। उनीहरू त आठ घण्टाबाहेक बढी गर्दैनन्। गरे पनि ओभरटाइम चाहिने। त्यो तिर्न बजेट भएन। नसक्ने भन्दै उनीहरू भागे। १० दिनके सुटिङमा डेढ करोड खर्च भइसकेको थियो। सुरुवातमै प्रोजेक्ट असफल भयो,’ उनले सुनाए।

बीचमा प्रोजेक्ट रोकिएपछि विनोद निराश भए। तर, टिमकै क्याप्टेन कमजोर हुँदा अरुको हालत के होला? त्यही सोचकै कारण उनले अरु टिमलाई जम्मा गरेर अर्को वर्ष फिल्म बन्ने आश्वासन दिए। त्यसपछि त्यो प्रोजेक्ट थाती रखेर उनी नेपाल फर्किए।

केही समयपछि कोरोना महामारी फैलियो। जसकारण केहीवर्ष त्यो प्रोजेक्ट थन्कियो।

ब्याक टु अमेरिका
वर्षौं समय, करौडौँ खर्च र आफूले चाहेको कथा भन्ने हुटहुटी। जसकारण कोरोना मत्थर भएसँगै विनोद फेरि अमेरिका गए। जति फिल्म सुट भएको थियो, त्यसैलाई डमीको रूपमा पठाउँदै लगानीकर्ता खोज्न थाले। स्क्रिप्ट राम्रो रहेछ भन्दै प्रतिक्रिया आउन थाल्यो।

केही अन्तर्राष्ट्रिय मेकरहरूले फिल्ममा लगानी गर्ने चासो दिए। बलिउडदेखि हलिउड कलाकार राखेर अंग्रेजीमै फिल्म बनाउने कुरा भयो। त्यसलाई विश्वभर बेच्न सहज हुने उनीहरूको भनाइ थियो।

तर, अंग्रेजी भाषामा भन्नेबित्तिकै शरणार्थीको मनोविज्ञान आउँदैन कि भन्नेमा आशंका उनलाई भयो। तर, एकचोटि असफल भइसकेको प्रोजेक्टमा बलिउड र हलिउडसँग सहकार्य गर्ने अवसर पाउँदा उनी तयार भए।

‍रंगकर्मी विमल सुवेदीमार्फत भारतीय अभिनेता अनुपम खेरलाई अफर गरियो। अनुपमले पनि फिल्मको कथा मन पराएको भन्दै प्रस्ताव स्वीकार गरे। फिल्म बन्ने पक्का हुँदा विनोद निकै खुसी थिए। तर, खेरसँगको राजनीतिक समस्याका कारण भारतीय लगानीकर्ताले फिल्मबाट हात झिके। ठूलो लगानी रोकिएपछि फिल्मको निर्माण अघि बढ्न सकेन।

फेरि ठक्कर। यसपटक भने विनोद निकै निराश भए। एकरात उनलाई राति अबेरसम्म पनि निद्रा लागेन।

‘अरु फिल्मको अफर आइरहेको छ। तर, यता यत्रो लगानी भएको देखेर गर्ने मन छैन। रिसर्चसहित आर्थिक लगानी पनि लागिसकेको थियो। फिल्म भनेर हिँडेको छ भनेर परिवार रिसाइरहेको थियो। त्यसरात निकै छटपटी भयो,’ पुराना दिन सम्झिए।  

फेरि विनोद ब्युँतिए। फिल्मको लागि लगानीकर्ता खोज्न थाले। नजिकका साथीभाइलाई लगानी गर्न भने। तर, कसैले पत्याएनन्। त्यतिबेला कवि नवराज पराजुलीसँग कुरा भयो। पराजुलीले फिल्ममा लगानीको लागि अस्ट्रेलियामा कोसिस गरिरहेको रहेछन्। जुन कुरा नवराजले विनोदलाई सुनाए।

फिल्मप्रति चासो राख्ने एलएन अधिकारीलाई नवराजले भनेछन्: विनोद दाइको फिल्ममा पैसा नहाल्ने भए जिन्दगीमा फिल्म नबनाए हुन्छ। पछि पछुतो होला!

त्यसैबेला जोयसले हरिवंश आचार्यलाई फिल्मको मुख्य पात्रमा राख्न सुझाए। हरिवंश भए पैसा जुटाउन पनि सजिलो हुने उनको भनाइ थियो। हरिवंशलाई प्रस्तावसहित स्क्रिप्ट पठाइयो। स्क्रिप्ट मन परेपछि उनी तयार भए। सम्झौता गर्ने कुरा भयो।

तर, पैसा नहुँदा विनोद अलमलमै बसिराखेको थिए। कागजात तयार थियो। अग्रिम रकम खोज्दै उनी साथी रविन पोखरेलकहाँ गए। र, केही प्रश्न नगरी रविनले विनोदलाई पैसा दिए। हरिवंशसँग सम्झौता भएपछि विनोदले नवराजलाई सुनाए। अनि अस्ट्रेलियामा रहेका एलएनले फोन गरेर लगानी गर्ने पक्का गरे।

‘त्यसपछि त लगानी जुट्दै गयो। हलिउडबाट सहकार्य गर्ने कुरा भयो। हामीले पैसा खोज्नुपरेन। हामीलाई खोज्दै पैसा आफै आउन थाल्यो,’ मुस्कानसहित विनोदले भने।

फिल्मको नाम अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ र नेपालीमा ‘भूठान’ राखियो। हरिवंशसहित फिल्ममा दयाहाङ राई, ऋचा घिमिरे, अनुराधा मजुमदार, पूजा चन्द, विमल सुवेदी लगायतका कलाकार जोडिए। साथै हलिउडका चर्चित अभिनेता ब्रुस डर्न पनि विशेष भूमिकामा देखिने भए। बल्ल ढुक्कको श्वास फेरे। अमेरिकाको ओहायोमा फिल्म सुटिङ सुरु गरे।

हरिवंशको पुनर्जन्म हुने दाबी
वरिष्ठ कलाकार हरिवंशलाई कसरी काम लगाउने होला भनेर विनोद केही असहज मानिरहेका थिए। तर, फिल्मसँग जोडिनेबित्तिकै हरिवंशको व्यवहारले उनी चकित परे। हरिवंश कहिल्यै वर्कसपमा बसेका थिएनन्। तर, यस फिल्मको लागि उनी पहिलोपल्ट वर्कसपमा बसे। उनी केही नजानेको बच्चाजस्तै सिक्न खोज्थे।

जसकारण हरिवंशसँग काम निकाल्न निकै सहज भएको विनोदको अनुभव छ। भन्छन्, ‘उहाँसँग अलिकति पनि इगो छैन। एउटा सामान्य मान्छे भएर आउनुहुन्छ। केही नजानेको केटाकेटी जसरी सोध्नुहुन्छ। मलाई आउँदैन भन्नुहुन्छ। त्यसरी झुकेर र समर्पण भएर कोही पनि सिनेमामा आउँदैनन्। निर्देशकले गराएको देखिन्छ। मैले चेन्ज गराएको भन्दा पनि उहाँसँग भएको चिजलाई थाहा पाएको हुँ। उहाँ आफैमा भरिपूर्ण हुनुहुन्छ।’

यस फिल्मबाट हरिवंशको पुरानो मापदण्ड भत्किने विनोदले दाबी गरे।

‘यस फिल्मबाट हरि दाइको पुरानो मापदण्ड त भत्किन्छ। रिलिजको भोलिपल्टबाट। उहाँलाई हास्यकलाकार मात्र भनेर परिभाषित गरेका छन्, त्यो चाहिँ भत्किन्छ। त्यसमा शत प्रतिशत विश्वास छ। उहाँको पुनर्जन्म हो भनिरहेका हुन्छौँ। साँच्चै नै उहाँको यस फिल्मबाट पुनर्जन्म हुन्छ। उहाँ शुद्ध कलाकार हो,’ उनले भने।

खुसी देश भुटानमाथि व्यङ्ग्य
विनोदका अनुसार फिल्मभित्र अमेरिका बसिसकेपछिको कथा छ। एउटा भुटानको फुटबल खेलाडी। जसलाई अचानक लेखेटियो। त्यही खेलाडी अचानक अब आफ्नो देश जान खोज्छ। जसलाई मर्नु भन्दाअगाडि आफ्नो देश भुटानमै पुग्नु छ। देशले उसलाई स्वीकार गर्दैन। उसको छोरा र नातिनीको जीवनको मनौवैज्ञानिक यात्रा फिल्ममा समेटिएको छ।

अंग्रेजीमा फिल्मको टाइटल द वर्ल्डस् ह्याप्पिएस्ट म्यान राखिएको छ। यस फिल्मले खुसी देश मानिने भुटानप्रति समेत व्यङ्ग्य गर्छ।

‘के साँच्चै त्यताको मान्छे खुसी छन् भन्ने व्यङ्ग्य पनि हो। सबैभन्दा खुसीमध्येको देशका एक लाखबढी मान्छे बाहिर छन्। जुनचाहिँ आफ्नो देश पनि जान पाएको छैनन्। त्यो एक लाखजनालाई प्रतिनिधित्व गर्ने पात्र फिल्ममा छ। संघर्ष गरिरहेको एक पात्रको मनोवैज्ञानिक यात्रा यसमा छ। त्यत्रो धेरै मान्छेहरू बाहिर भएको देशले कसरी आफ्नो देशलाई खुसी मान्न सक्छ भन्ने प्रश्न पनि हो। खुसी देशको एउटा मान्छे यस्तो छ भनेर देखाइदिएको हो,’ उनले व्याख्या गरे।

अमेरिकामा जे भोगे
६ वर्षदेखि विनोद यसै प्रोजेक्टमा लागिरहेका छन्। फिल्मले ठक्कर खाएसँगै विनोदले पनि कयौँ समस्या झेले। अमेरिका पुगेका उनले सुरुवातमा काम नभेट्दा केही तनाव झेले।

त्यो भन्दा बढी नेपालमा उनकी श्रीमतीले दु:ख पाइन्। भर्खरै काठमाडौंमा घर ठडिएको थियो। महिनैपिच्छे बैंकको किस्ता। बालबच्चाको पढाइ खर्च। घरखर्च जुटाउन समेत गाह्रो हुन्थ्यो। जुन देख्दा विनोदलाई पीडाबोध हुन्थ्यो।

‘म अमेरिका हुन्थेँ। बच्चा र श्रीमती नेपाल। बेलाबेला निराशा हुन्थ्यो। घर बनाएकाले ऋणमा थिएँ। बाबुको फी तिर्नलाई पनि पैसा थिएन। म फिल्म बनाउने भनेर आँटिरहेको छु। श्रीमतीले सापट माग्दा नपत्याउने। बुढो अमेरिका गएको छ भन्दा रहेछन्। त्यसपछि उनले सुनको गहना समेत बेचेर घर चलाउनुपरेको थियो,’ उनले भने।

अमेरिकामा छँदा पेट पाल्नकै लागि कहिले एयरपोर्टमा ह्वियलचेयर राखेर वृद्धवृद्धालाई ओसार्ने काम गरे त कहिले फिल्ममा ब्याकग्राउन्ड आर्टिस्ट बने।

नेटफ्लिक्सको फिल्म ‘विट जर्म’ निर्माण हुँदै थियो। मुख्य भूमिकामा थिए: हलिउड अभिनेता एडम ड्राइभर। यस्ता फिल्ममा ब्याकग्राउन्ड आर्टिस्टको रूपमा काम गर्न मिल्छ। जसकारण उनले आवेदन दिए। र, छनोट भए।

पैसा पनि आउँछ र हलिउडको अभ्यास पनि हेर्न पाइन्छ भन्ने लोभले जोडिएको उनी सुनाउँछन्।

‘हामीले एकदुई महिना नै काम गरेका थियौँ। कहिले पुलिस बन्ने त कहिले आगो लाग्दा भाग्ने भीड। पैसा राम्रो थियो। हलिउडमा कसरी फिल्म बन्दोरहेछ भनेर हेर्नु पनि थियो। त्यो ठूलो अवसर थियो। त्यसले आत्मविश्वास पनि आयो,’ उनले सुनाए।

त्यसोभए अमेरिकाले धेरै कुरा सिकायो है?

जवाफमा विनोदले भने, ‘हो नि! धेरै कुरा सिकायो। अमेरिकाले लड्न सिकायो, झुक्न सिकायो, थोरै पैसामा बाँच्न सिकायो। काम सानो ठूलो हुँदैन भन्ने सिकायो। ती कामहरू आफ्नो प्यासनको लागि गरियो। त्यो सम्झिँदा अहिले मजा लाग्छ।’

बुलबुलदेखि भूठानसम्म
अन्तत: भूठान वैशाख १२ बाट रिलिज हुने तरखरमा छ। वर्षौँको भारी बिसाए पनि रिलिज मितिसम्म विनोदको दौडधुप बाँकी नै छ।

‘अहिले पनि त्यस्तै छ। यो स्ट्रगल र प्रोसेस आफैँले रोजेको हो। केही चिज छोड्न नसक्दा परिवारले चाहिँ दु:ख पाउँछ। तर, आफूमा एक किसिमको सन्तुष्टि हुन्छ। मेरो आफ्नै क्राफ्ट छ, त्यसैमा काम गर्न खोज्छु,’ उनले भने, ‘नेपालमा राम्रै चल्छ जस्तो लागिरहेको छ। डिजिटल राइट पनि विदेशी कम्पनीले लिएको छ। लामो योजना भएकाले पैसा उठ्नेमा ढुक्क छौँ।’

बुलबुलदेखि भूठानसम्म आइपुग्दा उनले धेरै फरक पाएका छन्। प्राविधिक क्षेत्रमा परिवर्तनसँगै नेपाली माटोका कथाहरू आउन थालेकोमा दंग छन् उनी। यद्यपि, शिल्पमा परिवर्तन नआएको उनको दाबी छ।

‘नेपालमा आफ्नै माटोबाट उठाएका कन्टेन्ट बन्न थालेका छन्। मौलिक र वरिपरिको कथा उठाउन थालिएको छ। पूर्णबहादुरको सांरगी व्यापक चल्यो। कन्टेन्ट बलियो भयो भने चल्दोरहेछ भन्ने मानक तयार भएको छ,’ उनले भने, ‘केही नकारात्मक पक्ष पनि छन्। शिल्पमा परिवर्तन भएको छैन। एउटा सिनेमा चल्छ सबैले उस्तै बनाउन खोज्छ। सबैले एउटै बनाउँदा निर्देशक नै छुटिँदैन। यो निर्देशकले बनाएको भन्ने त हुनुपर्‍यो। त्यो दु:खलाग्दो कुरा हो। कथा आए पनि स्क्रिनप्ले गहिराइमा आउन सकेको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad