पछिल्ला केही दिनमा फिल्म ‘ऊनको स्वीटर’ को टिजर चर्चामा छ। टिजरकै आरम्भमै ‘म पो अलमलमा परेँ हौ’ ‘तमोर खोला, ‘फाक्ताङ्लुङ्ग,’ जस्ता शब्दहरूले दर्शकलाई तानिरहेको छ।
अटो लेख्ने जमानाका प्रेमी जोडीहरूको मिठो कथामा बनेको सुन्दर चलचित्र हुनसक्ने आकलन दर्शकले गरेको सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले प्रस्ट पार्छ। धेरैलाई टिजरले आफ्नै किशोरकालीन फ्ल्यास ब्याकमा पुर्याएको छ।
एक युट्युब प्रयोगकर्ता योदिन तामाङ लेख्छन्, ‘प्रत्येक नेपालीलाई यसमा गर्व छ। मैले नेपाली चलचित्र उद्योगमा यस्तो कहिल्यै देखेको थिइनँ। यो असाधारण कलात्मक सृजनालाई बेवास्ता नगर्नुहोस्। म आर्टमाण्डुलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।’
विशाल कुँवरले त टिजरलाई जीवनकै अध्यायजस्तै अनुभव गरेका छन्। ‘हैट, अटो भरेर भावना पोख्ने समयको कथा। अर्थात्, मेरो अनि समकालीन साथीहरूको समयको स्कुले अनि कलेज समय ताकाको कथा। टिजर हेर्दा जिन्दगीको ‘फ्ल्यास ब्याक’लाई नै धागो सरी उनेर यहाँसम्म ल्याइपुर्याउनुभएको जस्तो छ, ’ उनले लेखेका छन्।
आगामी वैशाख २६ गते प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्। उनीहरूका अतिरिक्त एलेक्स पारस, परीक्षा लिम्बु र विल्सन विक्रम राईको पनि प्रमुख अभिनय छ।
यसको टिजरमा विपिन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका तहहरू उजागर गर्ने प्रयास गरिएको छ, भने एलेक्स र परीक्षाले प्रेममा आउने संवेदनशील द्वन्द्वहरूलाई जीवन्त बनाएका छन्।
टिजरमा मिरूनाले दिएको डायरीमा विपिनले आफ्ना भावना शब्दमार्फत पोखेको दृश्य मन छुने खालको छ । मिरूनाको दृष्टिकोणले प्रेमका न्यानोपन, जटिलता र द्विविधालाई उजागर गरेको देखिन्छ।
आर्टमाण्डू प्रा।लि।को ब्यानरमा बनेको निर्देशक नवीन चौहानको निर्देशन र लेखन छ। त्यसैगरि, सुरज कटुवालको सह लेखन रहेको छ। चलचित्रका गीतम सङ्गीत सुजन चापागाईँले दिएका छन्।
सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरको पनि अभिनय छ।
Shares

प्रतिक्रिया