आज हामी तपाईंलाई एक टीभी अभिनेत्रीको हत्याको एउटा यस्तो दर्दनाक कथा सुनाउँदै छौँ, जसले हरेक सम्बन्धलाई लज्जित बनाएको छ। हत्याको तरिका यति भयानक थियो कि सुन्नेहरू स्तब्ध भएका छन्। यो टीभी अभिनेत्री कुरुगन्ती अप्सराको कथा हो।
पतिले आत्महत्या गरेपछि पीडामा परेकी उनले बिस्तारै आफूलाई सामान्य बनाइन्। उनी आफ्नो जीवन नयाँ तरिकाले सुरु गर्न चाहन्थिन्। तर एक दिन उनी अचानक हराइन्। यो सन् २०२३ जुन ३ तारिखको कुरा हो।
त्यस दिन उनी आफ्ना साथीहरूसँग कोइम्बटुर जाने भनेर घरबाट निस्केकी थिइन्। तर न उनी न साथीहरूकहाँ पुगिन् न घर फर्किन्। केही दिनपछि उनको शव सरकारी कार्यालयनजिकैको सेप्टिक ट्यांकीमा सडेको अवस्थामा भेटियो। अनुहार नराम्ररी कुचिएको थियो।
000
कुरुगन्ती आफ्नी आमा अरुणासँग हरेक दिनजसो हैदरावादको सरुरनगरस्थित बंगारु मियासम्मा मन्दिर जान्थिन्। जहाँ अयागरी साई कृष्ण नामका व्यक्ति पुजारी थिए। त्यस क्रममा कुरुगन्ती र पुजारी कृष्णबीच कुराकानी हुन थाल्यो। उनकी आमाले पनि पुजारीलाई आफ्नो भाइ मान्थिन्। पुजारीले पनि कुरुगन्तीलाई भान्जी भन्थे।
सीसीटीभी फुटेजबाट खुल्यो हत्याको रहस्य
प्रहरी अनुसन्धानको क्रममा जब कुरुगन्तीका साथीहरूलाई सम्पर्क गरियो, तब थाहा भयो कि उनी शमशाबाद गएकी थिइनन्। यस्तो अवस्थामा प्रहरीको शंका तिनै पुजारीप्रति सोझियो। यसपछि प्रहरीले सरुरनगरदेखि शमशाबादसम्म २१ किलोमिटर सडकका सबै सीसीटीभी फुटेज जाँच्न थाल्यो। जसबाट चकित पार्ने खुलासा भयो। अर्थात् उनको हत्या तिनै पुजारीले गरेको पत्ता लाग्यो।
पुजारीले कुरुगन्तीको हत्या गर्नुको कारण जे बताए, त्यसले प्रहरी र पीडित परिवार दुवैलाई स्तब्ध बनायो।
पुजारीको बयानअनुसार सन् २०२३ को सुरुवातमा कुरुगन्ती बारम्बार मन्दिर जान्थिन्। केही अनौपचारिक कुराकानीबाट सुरु भएको यो मित्रता प्रेममा परिणत भयो। तर दुनियाँका सामु उनी कुरुगन्तीलाई भान्जी भनेर बोलाउँथे।
उनीहरू समाज र परिवारबाट लुकेर सँगै समय बिताउँथे। दुवै जनाले आफ्ना परिवारलाई ढाँट्थे र सहरबाहिर घुम्न जान्थे। केही हप्ताअघि मात्र उनीहरू गुजरातको सोमनाथ द्वारका मन्दिरमा सँगै गएका थिए।
यसै क्रममा २०२३ मे महिनामा कुरुगन्ती गर्भवती भइन्। यसपछि उनले पुजारी अयागारीलाई विवाह गर्न दबाब दिइन्। तर पुजारी यो सम्बन्ध मानिसहरूबाट लुकाउन चाहन्थे। किनकि उनी विवाहित थिए र बच्चाहरूसमेत भइसकेका थिए। उनले कुरुगन्तीलाई गर्भपतन गराउन राजी गराए। श्रीमतीलाई कुरुगन्ती मन्दिरमा बेहोस भएपछि आफूले अस्पताल पुर्याएको भनेर पुजारीले गर्भपतन गराए।
गर्भपतनपछि पनि कुरुगन्तीले आफूसँग बिहे गर्ने पुजारीलाई लगातार दबाब दिइरहिन्। तर पुजारीले आफ्ना श्रीमती र छोराछोरी छाड्न नसक्ने बताएपछि कुरुगन्तीले वास्तविकता समाजलाई बताइदिने धम्की दिइन्। अनि अपमानको डरले पुजारी अय्यागरीले कुरुगन्तीको हत्या गर्ने षड्यन्त्र रचे।
एकदिन कुरुगन्तीलाई आफ्नो कारमा लिएर कतै जाँदै थिए। यस क्रममा बाटोमा कुरुगन्तीलाई निद्रा लाग्न थाल्यो। त्यसपछि पुजारीले उनको टाउको कारको ड्यासबोर्डमा ठोकाइदिए। कुरुगन्ती चिच्याइन्। अनि पुजारीले कारमा राखिएको गह्रौँ ढुंगाले उनको अनुहारमा हानेर हत्या गरे।
हत्या गरेपछि पुजारीले कुरुगन्तीको शव कारको डिक्कीमा छोपेर राखे। घर फर्केपछि गाडी पार्किङमा पार्क गरे। कुरुगन्ती हराएका बेला उनकी आमालाई खोजीमा सघाउने नाटक गर्दा पनि शव भने कारकै डिक्कीभित्र थियो। बेलाबेला सेन्ट छर्केर उनले गन्ध आउन दिएका थिएनन्।
२०२३ जुन ५ का दिन कुरुगन्ती हराएको उजुरी दिन प्रहरी कार्यालय जाने क्रममा उनले आफ्नो घर र मन्दिरनजिकै रहेको सरकारी मण्डल राजस्व कार्यालयनजिकैको सेप्टिक ट्यांकीमा शव फ्याँकिदिए। जहाँ कोही पनि जाँदैनथे।
एकातिर पुजारी अयागरी कुरुगन्ती खोज्ने नाटक गरिरहेका थिए भने अर्कातर्फ उनी आफ्नो दैनिक जीवनमा यति व्यस्त रहे कि उनीप्रति शंका गर्ने कुनै ठाउँ देखिन्थेन। तर दुर्भाग्यवश, सीसीटीभी फुटेज बाहिर आएपछि उनी अपराध स्वीकार गर्न बाध्य भए।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार पुजारी अयागरी साई कृष्णलाई हालै २०२५ मार्चमा रंगारेड्डी अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। साथै १० लाख रुपैयाँ जरिवाना पनि गरिएको छ, जसमध्ये ९ लाख ७५ हजार रुपैयाँ कुरुगन्तीको परिवारलाई दिइनेछ।
000
बिहेको केही महिनापछि पतिले गरेका थिए आत्महत्या
कुरुगन्ती तमिलनाडुको कोइम्बटुरकी बासिन्दा थिइन्। उनको बुबाको वर्षौंअघि मृत्यु भइसकेको थियो। त्यसैले उनी आफ्नी आमासँग बस्थिन्। दाजुभाइ, दिदीबहिनी कोही थिएनन्।
आफ्नो पढाइ पूरा गरेपछि कुरुगन्तीले टीभी कार्यक्रमहरूमा ससाना भूमिका गर्न थालिन्। उनी तमिल फिल्ममा प्रयास गर्न चाहन्थिन्। यसैले उनी र उनकी आमा बारम्बार निर्माता र निर्देशक भेट्न जान्थे।
यसै क्रममा सफ्टवेयर इन्जिनियर कार्तिक राजा कुरुगन्तीको जीवनमा प्रवेश गर्छन्। दुवैले एकअर्कालाई मन पराउँछन् र विवाह गर्छन्। विवाहपछि पनि कुरुगन्तीकी आमा अरुणा उनीसँगै बसिन्।
तर यो विवाह केही महिना मात्र टिक्यो। एकदिन कुरुगन्तीले पतिलाई छाडिन्। त्यसको केही दिनपछि कुरुगन्तीका पतिले आत्महत्या गरे।
साउथ पोस्टसँगको अन्तर्वार्तामा कुरुगन्तीकी सासूले बुहारीले आफ्नो महँगो सौख पूरा गर्न पैसाका लागि दिएको दबाब सहन नसकेर छोराले आत्महत्या गरेको आरोप लगाएकी छन्।
उनको दाबीअनुसार कुरुगन्तीको खर्च धान्न पति कार्तिकले २५ लाख रुपैयाँ ऋण लिएका थिए तर पैसा सकिएपछि उनीहरू निरन्तर झगडा गर्न थाले।
जब कार्तिकसँग पैसा सकियो, कुरुगन्तीले कार्तिकविरुद्ध अदालतमा दाइजो उत्पीडनको झुटो मुद्दा दायर गरिन्। जुन मुद्दामा कार्तिक १५ दिन जेलमा बस्नुपरेको थियो। जेलबाट बाहिर आएपछि कुरुगन्तीले सम्बन्ध विच्छेद र भत्ताका लागि मुद्दा दायर गरिन्। यसबाट विक्षिप्त भएर कार्तिकले आत्महत्या गरेको आरोप सासूको छ।
कार्तिकको परिवार कुरुगन्तीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्न चाहन्थे, तर त्यसभन्दा पहिले नै उनले कोइम्बटुर सहर छाडिन्। आफ्ना सबै सम्पर्क नम्बर पनि बन्द गरिन्। उनले आफन्तहरूलाई पनि आफू आमासँग सरुनगरमा बस्छु भनेर बताइनन्।
Shares

प्रतिक्रिया