कला


जंकुको पूर्वसन्ध्यामा कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

जंकुको पूर्वसन्ध्यामा कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन

नेपालखबर
चैत २९, २०८१ शुक्रबार २३:२७, काठमाडौँ

कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ७७ औँ जन्मोत्सव अर्थात् पहिलो जंकु (बूढो पास्नी) को पूर्वसन्ध्यामा अभिनन्दन गरिएको छ।

साहित्यिक पत्रकार सङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रममा त्रिविका पूर्वउपकुलपति तथा जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमाले सर्जक श्रेष्ठको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए। सोही अवसरमा उनले ३८ साहित्यिक संस्थाहरूद्वारा तयार गरिएको अभिनन्दनपत्र प्रदान गरेका थिए।

अभिनन्दनपत्र कलाकार श्रेष्ठकै कदअनुरुप ५ फिट ३ इन्चको रहेको छ।

कार्यक्रममा श्रेष्ठकी धर्मपत्नी नीरू श्रेष्ठलाई पनि अभिनन्दन गरिएको थियो।

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व माथेमा रहेका थिए भने अन्य विशिष्ट आमन्त्रित व्यक्तित्वहरू समालोचक प्रमोद प्रधान, प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईं तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीको उपस्थिति थियो।

कार्यक्रममा 'नरेन्द्रबहादुर श्रेष्ठ: आलेख र अभिलेख' नामक ग्रन्थको पनि सामूहिक लोकार्पण गरिएको थियो। ग्रन्थको लोकार्पणपछि कलाकार नरेन्द्रबहादुर श्रेष्ठद्वारा तयार गरिएका कलाकृतिहरू समाविष्ट २०८२ सालको नयाँ क्यालेन्डर पनि सार्वजनिक गरियो।

काठ र रुखका जराबाट पनि कला सिर्जना गरे ख्याति कमाइएका सर्जक श्रेष्ठ सामाजिक हितका विविध क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।

कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घको ५३ वर्षको यात्रामा अन्य विशिष्ट व्यक्तित्वहरूको अभिनन्दन गरिसकेको बताए। मन्तव्यकै क्रममा उनले कवि तथा कलाकार श्रेष्ठको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्दै अभिनन्दन तथा ग्रन्थ लोकार्पण कार्यमा सहयोग गर्ने सबैमा धन्यवादसमेत ज्ञापन गरे।

'नरेन्द्रबहादुर श्रेष्ठ:आलेख र अभिलेखका प्रधान सम्पादक तथा समालोचक प्रमोद प्रधानले अभिनन्दित श्रेष्ठको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए।नेपाली भाषा, साहित्य,संस्कृति,अध्यात्म लगायत सामाजिक अभियन्यताका रूपमा सक्रिय नरेन्द्रबहादुर श्रेष्ठ ज्यादै सरल र मिलनसार भएको बताए। फालिएका रूखका जराहरूमा आफ्नो कला देखाएर त्यसको अर्थ समेत बताउने कलाकार श्रेष्ठको निवास एउटा कला सङ्ग्रहालय जस्तै रहेको बताए।

कार्यक्रममा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले पनि कलाकार श्रेष्ठको प्रतिभाको चर्चा गरेका थिए। 

श्रेष्ठ र उनकी धर्मपत्नी नीरू श्रेष्ठ कार्यक्रमस्थलमा प्रवेश गर्दा बाजासहित करतल ध्वनिका साथ स्वागत गरिएको थियो।

कार्यक्रमको सुरुआतमा स्वस्तिवाचन, मङ्लाचरण र दीप प्रज्वलन गरिएको थियो। मध्यान्तरमा श्रेष्ठद्वारा सृजित कलाकृति तथा उनका बारेमा लेखिएका र बोलिएका कुराहरूको वृत्तचित्र प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad