काठमाडौँको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित ‘१८ डी सिनेमा’ सञ्चालनमा आएको छ।
नयाँ वर्षको विशेष अवसर पारेर महानायक राजेश हमालले रिबन काटेर १८ डी सिनेमा उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा सहभागी हमाल आफैँले पनि १८ डी सिनेमाको अनुभव लिए।
त्यसक्रममा उनले भने, ‘१८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएको जस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन।’
सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमा एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन्। फ्लाइओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमामा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास पाउनेछन्।
सञ्चालक गुरुङका अनुसार, यहाँ दर्शकले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्म ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन्।
काठमाडौँमा मनोरञ्जनको नयाँ आयाम थप्ने विश्वासका साथ सुरु गरिएको १८ डी सिनेमा सम्पूर्ण उमेर समूहका दर्शकका लागि रोमाञ्चक गन्तव्य बन्ने अपेक्षा सञ्चालकको छ।
सबै उमेर समूहका लागि आकर्षक मानिएको यो प्रविधियुक्त सिनेमाको मज्जा लिनको लागि दर्शकले तीन सय रुपैयाँ शूल्क तिर्नुपर्नेछ।
Shares

प्रतिक्रिया