कला


‘शिवाता ३०’ चित्रकला प्रदर्शनी सुरु

‘शिवाता ३०’ चित्रकला प्रदर्शनी सुरु

नेपालखबर
बैशाख ९, २०८२ मंगलबार २२:१६, काठमाडौँ

शिवाता लभ फाउन्डेसनको स्थापनाको ८ औं वर्ष पुगेको सन्दर्भ पारेर मङ्गलबारबाट ‘शिवाता ३०’ प्रदर्शनी सुरु भएको छ।

फाउन्डेसनकी संस्थापक अध्यक्ष रागिनी उपाध्यायले काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित समारोहमा प्रदर्शनीको उद्घाटन गरिन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी पहिलो महिला कुलपति रागिनी उपाध्यायले आफ्नी छोरी शिवाताको सन् २०१६ मा ‘मेनेन्जाइटिस बी' रोगका कारण निधन भएपश्चात् आफ्ना छोरीजस्ता थुप्रै नेपाली छोरा छोरीहरूको शिक्षामार्फत विविध सपना पूरा गराउने उद्देश्य राखेर सन् २०१७ मा शिवाता लभ फाउन्डेसनको स्थापना गरेकी हुन्।

फाउन्डेसनले विपन्न, जेहेन्दार, पिछडिएका क्षेत्रका बालबालिकालाई शिक्षाका लागि र देशका परेका विभिन्न प्राकृतिक विपत्ति तथा सामाजिक कार्यहरू समेत सहयोग गर्दै आएको छ।

थुप्रैका लागि प्रेरणाको स्रोत रहेकी ख्यातिप्राप्त कलाकार रागिनीले युवा कलाकारहरूलाई प्रोत्साहन र प्रेरित गर्न यस कार्यक्रमको आयोजना गरिएको बताइन्। उनले भनिन्, ‘शिवाता आज यस संसारमा भएको भए ३० वर्षको पुग्थिन्। उनीजस्ता थुप्रै छोरीहरू र युवाहरूलाई हौसला प्रदान गर्न वार्षिकरूपमा यस प्रदर्शनीको आयोजना गर्दै आएका हौँ। यो कार्यक्रम पनि यसैको निरन्तरता हो।’

उनले शिवाता लभ फाउन्डेसनले शिक्षा र सामाजिक क्षेत्रको लागि गरेको कार्यको विस्तृत चर्चासमेत गरिन्।

रागिनी उपाध्याय कला प्रतिष्ठानको सहकार्य रहेको प्रदर्शनीमा अमन नेपाली, अर्जुन बस्नेत, अजिज भुजेल, अमन रौनियार, अन्जली तामाङ, विदुर पौडेल, विनय रिमाल, छिरिङ डुके विस्ट, डेभिड महर्जन, दिपीका राई, जोहेब नकर्मी, करिमा जोशी, काजल कुमारी, कन्चन महत, क्रिस्टिना डङ्गोल, नीता पासवान, निदा सिद्धिकी, नेहा महर्जन, प्रलिस्ट महर्जन, प्रतिक मानन्धर, पुरुषोत्तम थारू, प्रतिभा खड्का, रन्जित कुँवर, रोनिसा श्रेष्ठ, स्मृति श्रेष्ठ, सागर रावल, शक्तिराज, सलोमी लिम्बू, शर्मिलादेवी तामाङ, सुस्मिता कुँवरलगायतको सहभागिता रहेको छ।

प्रदर्शनी वैशाख १३ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad