संगीतको रोयल्टी स्रष्टाकै बैंक खातामा पठाउने गरी तयारी भइरहेको संगीत रोयल्टी स.कलन समाज नेपालले जनाएको छ।
बुधबार काठमाडौमा आयोजित रोयल्टी समाजको स्थापना दिवस तथा १९औँ वार्षिकोत्सवका अवसरमा गीतकार तथा संगीतकारलाई रोयल्टी वितरण गरिएको छ। समाजले टिकटक, यातायात क्षेत्र, रेडियो, होटल, स्वदेश र विदेशबाट संकलित रोयल्टी रकम गीतकार तथा संगीतकारलाई वितरण गरेको हो।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा संस्थामा सदस्यता लिएर आफ्ना गीत तथा सिर्जना दर्ता गरेका गीतकार, संगीतकार र स्रष्टाको अनुमति प्राप्त प्रकाशकलाई रोयल्टी वितरण गरेको छ।
समाजमा दर्ता नभएका गीत तथा स्रष्टाको अभिलेख उपलब्ध नहुने भएकाले उनीहरू रोयल्टीबाट वञ्चित हुने गरेका छन्। यस विषयमा प्रमुख कार्यकारी सागर पाण्डेको संयोजकत्वमा रोयल्टी प्राप्तिका प्रक्रिया, आवश्यक मापदण्ड तथा रोयल्टी संकलन हुने विभिन्न क्षेत्रबारे जानकारीमूलक प्रस्तुति गरिएको थियो।
यससँगै समाजको वेबसाइट पनि सार्वजनिक गरिएको छ। सस्थाको सदस्यता लिएका गीतकार र संगीतकारले वेबसाइटमा ‘लगइन’ गरी आफ्नो मोबाइल नम्बर र पासवर्ड राखेर कुन गीतको के कति रकम संकलन भएको छ भन्ने जानकारी प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ।
यसरी संकलन भएको रकम आफूले चाहेको समयमा सिधै आफ्नै बैंक खातामा जम्मा गर्न सकिने व्यवस्था गर्न लागिएको सामाजले जनाएको छ। समाजको कार्यालयमा उपस्थित हुन नसक्ने गीतकार र संगीतकारले फोनमार्फत जानकारी लिई अथवा वेबसाइटबाटै आफ्नो गीतहरू दर्ता गर्न सकिने संगीत रोयल्टी समाज नेपालका अध्यक्ष सुरेशचन्द्र अधिकारीले बताए।
Shares

प्रतिक्रिया