कला


भारतीय अभिनेत्री नोरा फतेही जेठ ३ गते नेपाल आउने

भारतीय अभिनेत्री नोरा फतेही जेठ ३ गते नेपाल आउने

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १९:३७, काठमाडौँ

भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही जेष्ठ ३ गते नेपाल आउने भएकी छिन्। सुकेधारामा रहेको मर्क्युर होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लागेकी आयोजक वर्ल्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए।

उनले भने, ‘मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो। उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ।’

कार्यक्रममा नेपाली कलाकारहरुमा गायक  दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुती दिनुहुने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले पत्रकार सम्मेलनमाझ जानकारी दिए।

कलाकारका तर्फबाट नृत्याङ्गना मगरले आफूले सम्पूर्ण तयारी गरिसकेको जानकारी दिइन्। उनले भनिन्, ‘अभिनेत्री फतेही अहिले विश्वभर चर्चामा हुनुहुन्छ, उहाँसँग कार्यक्रम गर्न पाउनु हाम्रो लागि राम्रो हो। नेपालमा यसरी कार्यक्रम हुँदा यसले पर्यटन प्रवर्द्धनमा पनि सघाउँछ भन्ने मलाई लागेको छ। यस्ता कार्यक्रमले हाम्रो बारेमा विश्वलाई जानकारी गराउँछ।’

उनले आगामी वर्ष विसं २०८२ को ३ जेष्ठ (मे १७,२०२५) मा बौद्धस्थित हायातको चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ शीर्षकमा कार्यक्रम आयोजना हुने बताइन्। 

यता नोरा फतेहीले आफू नेपाल आउन र नेपालीलाई भेट्न उत्साहित रहेको बताएकी छन्। उनले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताएकी छन्।

‘म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु’, अभिनेत्री फतेहीले श्रव्यदृश्यमा भनेकी छन्। इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ। कार्यक्रमका लागि भारतको मुम्बईबाट अभिनेत्री फतेहीसहित २० बढी नृत्याङ्गना प्रस्तुति दिन नेपाल आउने आयोजकले जनाइएको छ।

अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन्।

जेष्ठ ३ को इभेन्टको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकट काट्ने सकिने आयोजकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad