यतिखेर हलमा प्रदर्शन भइरहेको वर्षा शिवोकोटी अभिनीत फिल्म ‘झिल्को’ हेर्नुभएको छ भने आमा–छोरी रोएको दृश्य पक्कै याद गर्नुभएको होला। त्यो दृश्य गर्न वर्षाले सुटिङमा २२ टेकसम्म दिनुपरेको र त्यसपछि उनलाई ज्वरो नै आएको थियो।
‘रुन त्यस्तो गाह्रो हो त वर्षालाई?’
‘फिल्ममा कहिलेकाहीँ कुनै एउटा सिन यस्तो हुन्छ कि त्यो केके कारणले अड्किरहन्छ,’ नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेकी वर्षाले भनिन्, ‘नानु र मेरो रोनाधोना सिन थियो। कहिले के नमिल्ने, कहिले के। हामीले दिनभरि नै त्यो एउटा सिन गरेका थियौँ। धेरैचोटि गर्दा त नेचुरल्ली आँसु पनि झर्दैन। आँखामा ग्लिसरिन हालेर गर्दा कहिले के हुने, कहिले। फेरि हाम्रो निर्देशकज्यूलाई चित्त नबुझ्दासम्म ओके नै नगर्ने।’
‘त्यसपछि त शरीर नै ज्वरो आको जस्तो भयो, तात्तियो,’ उनले लगत्तै थपिन्, ‘अर्को रुममा आएर एकछिन आराम गरेँ। फ्रस्टेसन निकाल्न ह्वाँह्वाँ रोएको थिएँ। यति गाह्रो मलाई अहिलेसम्म भएको थिएन, यो के भयो भनेर म रोएको थिएँ। टेक लिइन्जेल हामी पात्रकै जोनमा हुन्छौँ। फ्री भएपछि चाहिँ गाह्रो भयो। केही चिजले इमोसनल्ली हिट गरेको पनि हुनसक्छ।’
मोबाइल लत र त्यसले बाल मनोविज्ञानमा पार्ने प्रभावमा आधारित रहेर ‘झोला’ फिल्मका निर्देशक यादव भट्टराईले निर्देशन गरेको यो फिल्ममा वर्षाले निर्वाह गरेको पात्र उनको व्यक्तिगत जीवनसँग पनि केही हदसम्म नजिक रहेको उनी स्वीकार्छिन्। करिअरमै उनले पहिलोपटक आमाको भूमिका निर्वाह गरेकी छन् यो फिल्ममा।
‘सधैँ हिरोहरूसँग रोमान्टिक भएर अभिनय गर्नुपर्ने ब्राइट क्यारेक्टर हुनुपर्छ भन्ने पनि छैन,’ उनले भनिन्, ‘त्यसैले यो अनुभव पनि गरौँ न। त्यसमाथि जतिबेला यो फिल्मको अफर आयो, त्यतिबेला कामको ब्रेक पनि भएको अवस्था थियो। त्यो समय संघर्षको समयबाट निस्किएर संयमित बनाएको समय थियो। त्यतिखेर डिजिटल दुनियाँबाट अलि बाहिर थिएँ। अब अहिले सोध्नुहुन्छ भने ठ्याक्कै म फिल्मको त्यही क्यारेक्टर हो। फिल्ममा देखिएको आमा क्यारेक्टरको फोनप्रतिको लत, बाध्यता पनि होला सायद। बिहान उठेदेखि सुतेसम्म छोड्नै नसक्ने डिभाइस भइसक्यो मोबाइल।’

‘प्रमोेसनको पार्ट हाम्रो होइन, हामीले चाहेर मात्रै नहुने रहेछ,’ उनले हामीसँग भनिन्, ‘यो यस्तो एउटा चलचित्र बन्यो, जसको विषयमा म पहिलोपटक फिल्म रिलिज भएपछि मात्रै तपाईंहरूसँग यो इन्टरभ्यु दिँदैछु या चलचित्रबारे बोल्दैछु। आफैलाई पनि अचम्म लागिरा’छ। यस्तो कहिल्यै भएको थिएन।’
वर्षाको अभिनय यात्राले एक दशक नाघिसक्यो। ‘नाइँ नभन्नु ल–२’ बाट आफ्नो फिल्म करिअर सुरु गरेकी उनले यो बीच अनेक तितामिठा अनुभव भोगेकी छन्। एउटा चलचित्र थियो– ‘ए साथी सुन।’ जसको सुटिङ हुँदाहुँदै फिल्म निर्माताको निधन भयो। त्यसको केही महिनापछि फेरि त्यो फिल्म तयार भएर हलमा त लाग्यो तर वर्षालाई थाहा नै भएन।
‘फिल्म तयार गरेर रिलिज पनि गरिएछ। तर मलाई थाहा नै भएन। एक दिनको लागि रिलिज भएर भोलिपल्ट उतार्दिनुभएछ,’ यो अनुभव सुनाउँदै गर्दा वर्षाको हाँसो रोकिएन।

वर्षाले अभिनय गरेमध्ये हिट फिल्मको सूचीमा पर्ने ‘पशुपतिप्रसाद’ हेर्नेहरूले पक्कै उनले निर्वाह गरेको ‘बुनु’लाई सम्झेको हुनुपर्छ। यो वर्षालाई पनि प्रिय लाग्ने र गहिरो छाप छाडेको पात्र हो।
‘फिल्ममा मेरो पात्रले बोल्दैन,’ वर्षाले भनिन्, ‘यो पात्रले मेरो करिअरमा एकदमै धेरै प्रभाव पारेको छ। धेरैले मनपराए। कतिले ट्रोल पनि गर्नुहुन्छ, तपाईं नबोल्नुस् क्या भन्दै।’
त्यसपछि वर्षाका कतिपय फिल्म बक्सअफिसमा चलेनन्। अनि उनका प्रशंसकहरूले ट्रोल गर्दै वर्षाले सुझाए– ‘तपाईं नबोल्नुस् क्या, नबोलेकै चल्छ।’ ट्रोल देखेर वर्षालाई रमाइलो लाग्छ।
हामीले वर्षालाई सोध्यौँ– ‘तपाईंको जीवनमा सबैभन्दा ठूलो पछुतो के हो र त्यसबाट तपाईंले के सिक्नुभयो?’
केहीबेरको मौनतापछि वर्षाले केही सम्बन्धमा निर्णय गर्न आफूले हतार गरेको संकेत गरिन्।
‘केही सम्बन्ध भएर पछुतो होइन कि, ती कुरा हुनु नै थियो र भए। तर आफूले आफैलाई दोष दिन्छु म। कसैले जबर्जस्ती गरेको होइन। निर्णय आफ्नै हातमा थियो।
तर, अलिकति धैर्य राख्न नसक्दा दुर्घटना एक–दुइटा भए,’ उनले भनिन्।

हामीले प्रतिप्रश्न गर्यौँ– ‘बिहे गर्न अलि हतार भयो भन्ने लाग्छ हो?’
जवाफमा उनले स्वीकार्दै भनिन्, ‘एकदिन मात्रै कुरिदिएको भए लाइफमा धेरै कुरा फरक हुन्थ्यो होला।’
केही वर्षअघि वर्षाले बिहे गरेको दुई महिनामै सम्बन्धविच्छेद भएको थियो। त्यतिबेला उनलाई धेरैले निरुत्साहित गरे। फिल्मबाट पनि केही समय ब्रेक लिइन् उनले।
‘सोसल्ली र मोरल्ली डाउन थिएँ म,’ ती दिन सम्झिँदै वर्षाले भनिन्, ‘मेरो यस्तो मान्छेहरूसँग भेट भयो कि मलाई नै तल महसुस गराउनुभयो। डिमोटिभेट गर्नुभयो। मलाई काम गर्नुछ भन्दाखेरी सक्दैनौ तिमी, अब तिम्रो करिअर सकियो भने। मलाई एकदमै डर लागेको थियो। तर, गर्दै जाँदा राम्रै भइरहेको छ।’

ती सम्बन्धले आफूलाई धेरै कुरा सिकाएको बताउँछिन् वर्षा।
‘सिकाउन त धेरै कुरा सिकाएको छ,’ उनले भनिन्, ‘अरुमा निर्भर हुनु हुँदैन रहेछ। लाइफ एक्लै पनि आनन्दको छ भन्ने कुरा सिकायो। एक्लै बस्न र एक्लै खुसी हुन सिकायो। भोलिका दिनमा थप चिज आए भने त्यसलाई खुसीका रूपमा स्वीकारौँ। म अहिले अर्ली थर्टिजमा छु र अहिलेसम्म एकदमै खुसी र शान्त चरणमा छु।’
अहिले पनि उनलाई प्रेम प्रस्तावहरू नआउने होइन। तर, उनमा सम्बन्धप्रति विश्वास नै हराइसक्यो रे।
‘प्रस्ताव आउँछन् तर विश्वास हराइसक्यो,’ उनले भनिन्, ‘त्यसपछि ममा केही चिज खोसियो भने कोहीप्रतिको विश्वास नै हो। कसैलाई विश्वास नै गर्न सक्दिनँ। प्रपोज गर्नेहरूलाई उल्टै पाठ पढाइदिन्छु। यस्तो कुराको पछि नलाग्नुस् तपाईं भनेर उल्टै बेस्ट फ्रेन्ड बनाएर पठाइदिन्छु। धेरै अप्रोच गर्नेहरू अहिले मेरो मिल्ने साथी हुनुभएको छ।’
हेर्नुस् वर्षासँग उनको बाल्यकाल, फिल्म करिअर, प्रेम र सम्बन्ध, उतारचढाव आदि विषयमा गरिएको ‘लेट्स टक’:
फोटो/भिडिओः विशाल कार्की

प्रतिक्रिया