फिल्म ‘के घर के डेरास् घर नं २’ जेठ २ गतेबाट रिलिज हुँदैछ। अभिनेता खगेन्द्र लामिछानेले यो फिल्म सहरको मौलिक कथामा बनेको बताए।
गाउँका कथा मात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको उनको भनाइ छ। सहरका कथा पनि मौलिक हुनेमा उनले जोड दिए।
‘नेपालीका कथा सबै मौलिक हुन्, चाहे त्यो गाउँको कथा होस् वा सहरको। गाउँ आएर सहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथा मात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ। यो तोडिनुपर्छ।’
सहरमा धनी मान्छे मात्रै बस्छन् भन्ने गलत बुझाइ रहेको पनि उनले बताए।
‘सहरमा गाउँको भन्दा चरम गरिबी पनि छ। सहरी गरिबी झन् डरलाग्दो छ। काठमाडौँमा बिजुलीको बिल तिर्न नसक्ने घरभेटी पनि छन्। त्यसैले सहरका कथा पनि हाम्रै हुन्।’
निर्देशक खनालले पनि सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचना मात्रै घर नभएको बताए। घर बन्न इमोसन र सम्बन्ध चाहिने उनको भनाइ छ।
‘गाउँमा सर्भाइभ गर्न सहज छ। सबैले सबैलाई चिनेको हुन्छ। सहयोग गर्छ। तर, सहरमा कसैलाई चिन्दैन। घर टाँसिएका छन्। मन टाँसिएको हुँदैन। त्यसैले मेरा अधिकांश सिनेमा सरहका कथामा हुन्छन्। मलाई सहरका कथा भन्न मन लाग्छ। यी सबै कथा मौलिक हुन्। मौलिक सिनेमा हुन्।’
अभिनेत्री केकी अभिकारीले अर्ग्यानिक कथा भन्नबित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइ भएको बताइन्।
‘अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो। नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो,’ उनले भनिन्, ‘अब गाउँ मात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ। गाउँ, सहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन्।’
यस फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। यस फिल्ममा खगेन्द्र र केकीसहित निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत लगायतको अभिनय छ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको छायांकन रहेको ‘के घर के डेरा स् घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्। निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्।
Shares

प्रतिक्रिया