कला


फिल्म प्रचारको नयाँ काइदा–‘महाभोज’ का कलाकार र निर्देशकले लेखे एउटै स्ट्याटस

फिल्म प्रचारको नयाँ काइदा–‘महाभोज’ का कलाकार र निर्देशकले लेखे एउटै स्ट्याटस

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १४:५८, काठमाडौँ

नेपाली फिल्म उद्योगसँग जोडिएका दर्शक, समर्थक र पत्रकारहरूले मंगलबार राति सामाजिक सञ्जालमा एकै प्रकारको स्ट्याटस देखे– सत्य कहिल्यै लुक्दैन। 

त्यो लेख्नेमा जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘महाभोज’ का निर्देशक र कलाकारहरू थिए। निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ लगायतले एकै समयमा उक्त स्टाट्स लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले।

के यो चलचित्रको प्रचार रणनीतिको हिस्सा हो? कि फिल्मसँग जोडिएको कुनै गहिरो सत्य मिडियामा पुग्नुअघि कलाकारहरूले जनतालाई संकेत गरेका हुन्?

‘महाभोज’ सहकारी ठगी प्रकरणमा आधारित कथा हो। यही सन्दर्भमा प्रमुख अभिनेता दयाहाङ राईले भने, ‘नेपालमा आर्थिक क्रान्तिको सपना बोकेर सहकारीहरू स्थापना भए, तर त्यसकै पहुँचमा रहेका केही व्यक्तिले सर्वसाधारणको गाढा पसिनाको पैसा लुटे। महाभोज त केवल फिल्म होइन, एक यथार्थ प्रश्न हो।’

‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा स्ट्याटसलाई कतिपयले सहकारी पीडितहरूको पक्षमा कलाकारहरूको ऐक्यबद्धताको रूपमा बुझेका छन्। फिल्ममा देखिएको कथावस्तु कतै यति संवेदनशील त होइन, जसले ठूला व्यक्तित्व वा संस्थाहरूको अनुहार देखाउने हो? किनकि कलाकारहरूको स्ट्याटसमा कुनै नाम वा आरोप खुलाइएको छैन, तर वाक्य आफैँले धेरै कुरा बोलिरहेको छ।

‘महाभोज’ को कथा, निर्देशन, कलाकारहरू र कथनहरूलाई हेर्दा यस्तो आभास हुन्छ– यो चलचित्रले पर्दामा मात्र होइन, पर्दा पछाडिको सत्यलाई पनि उजागर गर्ने प्रयास गरेको छ। त्यही सत्य, जसलाई धेरैले दबाउन खोजे, तर कलाकारहरूको एक स्वरले भनिदियो - ‘सत्य कहिल्यै लुक्दैन।’

अब त्यो सत्य के हो? के चलचित्रले कुनै यथार्थ घटना खोल्न लागेको छ? के कसैले चलचित्रमाथि दबाब दिने प्रयास गरिरहेको छ? यी सबै प्रश्नको उत्तर अब एकै छ– ‘महाभोज’ हेरेपछि थाहा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad