कला


‘के घर के डेरा: घर नं २’ को काठमाडौँमा  प्रिमियर: कस्तो पायो प्रतिक्रिया?

‘के घर के डेरा: घर नं २’ को काठमाडौँमा  प्रिमियर: कस्तो पायो प्रतिक्रिया?

नेपालखबर
जेठ १, २०८२ बिहिबार १२:२९, काठमाडौँ

फिल्म ‘के घर के डेरास् घर नं २’ को काठमाडौँमा प्रिमियर गरिएको छ। प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो।

सामान्यतया प्रिमियरमा चलचित्रकर्मी र पत्रकारलाई मात्र निमन्त्रणा गरिँदै आइएको थियो। तर, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा निमन्त्रणा गरेको थियो। ती दर्शकसँगै बसेर कलाकार तथा निर्देशकले पनि सिनेमा हेरेका छन्। 

निर्माणपक्षले १८० रेन्डमली भेटिएका दर्शकलाई प्रिमियरमा निम्तो दिएको थियो। आम सर्वसाधारण अडियन्सको रिभ्यु कस्तो आउँछ भनेर बुझ्न १८० सर्वसाधारण दर्शकलाई प्रिमियरमा बोलाइएको निर्माण पक्षले जनाएको छ। 

प्रिमियरपछि सिनेमा हेर्ने दर्शकले यस फिल्मको तारिफ गरेका छन्। आम नेपाली नागरिकले हेर्नै पर्ने सिनेमा भनेका छन्। घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा सिनेमामा रहेको उनको उनीहरूले प्रतिक्रिया दिए।

अभिनेता हरिवंश आचार्यले फिल्मको प्राविधिक पक्षको खुलेर तारिफ गरे। ‘टेक्निकल्ली धेरै राम्रो छ, कलाकारहरूको अभिनय उत्कृष्ट छ। मध्यमवर्गीय जीवन र आर्थिक सङ्घर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ,’ उनले भने।

अभिनेत्री मनिषा कोइरालाले चलचित्रको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन्। ‘मर्मस्पर्शी कथा छ। कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ,’ उनले भनिन् ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताइन्। उनले भनिन्, ‘चलचित्र निकै मनछुने छ। सहज रूपमा हेर्न मिल्ने र भावनात्मक रूपमा जोडिन सकिने खालको छ।’

गायिका अन्जु पन्तले फिल्ममा देखाइएको सम्बन्धको महत्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन्। ‘कहिले हाँसाउने, कहिले भावुक बनाउने फिल्म हो । सम्बन्ध जोगाउने सन्देश विशेष मन पर्‍यो,’ उनले भनिन्।

नर्मल अडियन्सको उत्साहजनसक प्रतिक्रियासँगै निर्माण टिम उत्साहित भएको छ। निर्देशक दीपेन्द्र के खनालका अनुसार प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य सिनेमा जस्तो छ, त्यस्तै प्रतिक्रिया सुन्ने हो। 

‘हामी चाहन्छौं सिनेमा राम्रो लागे अरूलाई भन्नुहोस्, नराम्रो लागे सुधार गर्न सुझाउनुहोस्। हामीले प्रिमियरमा नयाँ थालनी गरेका छौँ। जस्तो सिनेमा छ त्यस्तै रिभ्यू आओस भनेर दर्शकलाई प्रिमियरमा सिनेमा देखाएका हौँ,’ निर्देशक खनालले भने।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्म भोलिबाट रिलिज हुँदैछ।  फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो।

यस फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मको निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad